
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ। आइतबार महानगरको नगरसभाको १७औँ अधिवेशनमा उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी हुन्।
आगामी आर्थिक वर्षका लागि सञ्चित कोषमा २५ अर्ब ११ करोड ४१ लाख ४१ हजार जम्मा हुने अनुमान छ। जसमा महानगरको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ।
त्यस्तै, प्रदेश सरकारबाट ससर्त, समानीकरण राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ। क्षेत्रगत रूपमा हेर्दा आर्थिक विकासमा कुल बजेटको तीन प्रतिशत (७५ करोड ३४ लाख ३० हजार), सामाजिक विकासमा २० प्रतिशत (५ अर्ब दुई करोड २८ लाख ६८ हजार), पूर्वाधार विकासतर्फ ५१ प्रतिशत (१२ अर्ब ८० करोड ८३ लाख १४ हजार) विनियोजन गरिएको छ।
यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत (३ अर्ब १ करोड ३७ लाख २१ हजार) र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत (तीन अर्ब ५१ करोड ६० लाख ८ हजार) रुपैयाँ बजेट विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षमा महानगरपालिकाभित्र पूर्वाधार विकासलाई प्राथमिकता राखिएको उपप्रमुख डंगोलले बताइन्। त्यस्तै, फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य, एक वडा एक उद्यमशीललगायत कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।