
प्रधानमन्त्री केपी ओली आएको वेलामा झापाकोे दमकमा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित प्रधानमन्त्री ओलीको निवासनजिकै क्याम्पस मोडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो ।
रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई प्रतिशोध साधेको भन्दै केही समयदेखि हस्ताक्षर संकलन गरिरहेको छ । आइतबार प्रधानमन्त्री ओली दमक आएको समयमा उनी सवार हुने सडकनजिकै हस्ताक्षर संकलन गर्दा प्रहरीले हस्तक्षेप गरेको रास्वपा झापा क्षेत्र नम्बर ५ का सभापति भेषराज भट्टराईले जानकारी दिए । माइकमा बोलेर हस्ताक्षर संकलन गर्दै गर्दा प्रहरी आएर माइक खोस्दै भाँचिदिएको उनले बताए । ‘हामीमाथि हस्तक्षेप भयो । के शान्तिपूर्ण रूपमा हस्ताक्षर संकलन गर्न पनि नपाइने हो ?’ उनले भने, ‘प्रहरीले हामीमाथि दुर्व्यवहार गर्यो ।’
जिल्ला प्रहरी कार्यालय झापाले भने हस्तक्षेप नभई सामान्य सम्झाइबुझाई गरेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले प्रधामन्त्री हिँड्ने सडकमै माइकिङ गरेकोे हुँदा सम्झाइबुझाई गरेको बताए । ‘हस्तक्षेप भएको हाेइन । त्यो सामान्य हो । प्रधानमन्त्री भ्रमण गर्ने बाटोमा माइकिङ गरेकाले सम्झाइबुझाई मात्र गरेका हौँ ।’