
असारको अन्तिम सातासम्म पनि मधेशका केही जिल्लामा वर्षा नहुँदा रोपाइँ हुन नसकेकाेमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले तराईलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम सञ्चालन गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेकपा (एकीकृत समाजवादी)का कृष्णकुमार श्रेष्ठले बारा, पर्सालगायत जिल्लामा खानेपानीको चरम अभाव भएको बताए। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले वीरगन्जदेखि जनकपुरसम्म खडेरीका कारण खानेपानी र सिँचाइको अभाव भएको उल्लेख गरे।
नेपाली कांग्रेसका रामकृष्ण यादवले पनि तराईका विभिन्न जिल्लामा खडेरी परेको, त्यहाँका नागरिकले पिउने पानी नपाएका र किसानले रोपाइँ पनि गर्न नपाएका बताए। तराई क्षेत्रमा चापाकल र इनारहरू सुकिरहेकामा उनले चिन्ता व्यक्त गरे।