
बम विस्फोटमा घाइते भएकाहरूलाई इँट्टाभट्टामा जिउँदै जलाएर हत्या गरेको मुद्दामा पूर्वमन्त्री अफताब आलमसहितलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशद्वयलाई सोही विस्फोटमा परी ज्यान जोगिएका, तर अंगभंग भएका भारत सीतामढीका गौरीशंकर राम चमारले चुनौती दिएका छन् । न्यायाधीशहरूले बम विस्फोट नभएको, बरु स्टोभ पड्किएर घाइते भएको भन्ने झुटो फैसलादिएको उनको भनाइ छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले २७ चैत ०६४ को साँझ ६:३० बजे फरहदवामा विस्फोटको कुनै घटना नभएको, घाइते गौरीशंकरलाई ‘स्टोभ पड्की घाउको खत लागेको’ भनेको थियो । तर, आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गौरीशंकरले न्यायाधीशद्वयलाई चुनौती दिए, ‘बमले मेरो छाती, घाँटी र अनुहार जले, दुवै कान गुमे । बम विस्फोट भएकै छैन, स्टोभ पड्किएर घाइते भयो भनेर सरासर झुटो फैसला दिने ?’ उनले घटनालाई बम विस्फोट नभनी स्टोभ पड्किएको भन्दै प्रतिवादीलाई सफाइ दिएको फैसला खारेज गर्न पनि माग गरेका छन् ।
न्यायाधीश थारू र महर्जनको संयुक्त इजलासले १४ जेठमा पूर्वमन्त्री आलमसहित पाँच प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको थियो । तर, ४३ वर्षीय गौरीशंकरले रौतहटको राजपुर फरहदवास्थित अफताब आलमका काका शेख इद्रिशको गोठमा २७ चैत ०६४ मा भएको बम विस्फोटमा आफू गम्भीर घाइते भएको बताएका छन् ।
थारू र अर्जुन महर्जनको संयुक्त इजलासले फैसलामा भनेको छ, ‘गौरीशंकर रामको बकपत्र हेर्दा स्टोभ पड्की घाउ खत लागेको भन्ने अस्पतालको प्रेस्क्रिप्सन, बेहोसी अवस्थामा फोन गरेको भन्ने कुरा अपत्यारिलो रहेको तथा जाहेरी व्यहोराभन्दा फरक बकपत्र रहेको तथा परस्परमा विरोधाभासयुक्त बकपत्रसमेतका आधारमा निजको बकपत्र सत्यतामा आधारित नरहेकाले विश्वसनीय प्रमाणको रूपमा ग्रहणयोग्य रहेको देखिएन ।’
गौरीशंकरका अनुसार विस्फोटमा गाउँका बिकाउ राम र नरेश राम पनि घाइते भएका थिए । दुईमध्ये एकको हात र अर्कोको खुट्टामा चोट लागेको थियो । घाइते तीनैजनाको सीतामढीस्थित सदर अस्पतालमा उपचार भएको थियो । गम्भीर घाइते भएका राम साढे तीन महिना अस्पतालमा उपचारका लागि बसे । बिकाउ र नरेश भने केही दिनपछि नै घर गएका थिए ।
यसबारे पत्रकार सम्मेलनमा उनले भने, ‘विस्फोटमा घाइते भएको म मात्रै होइन । घाइते हुनेमा मेरा गाउँका बिकाउ राम र नरेश राम पनि रहेका छन् । उनीहरूसँग पनि घटनाको सम्बन्धमा सोध्दा हुन्छ । हामी तीनैजना राजा इँटा उद्योगमा काम गथ्र्यौँ । हामीलाई महताब आलमले राजा इँटाभट्टामा काम लगाएका थिए ।’
गौरीशंकरले आफ्नो उपचारमा झन्डै साढे तीन लाख भारतीय रुपैयाँ खर्च भएको बताए । रौतहट जिल्ला अदालतले घटनामा संलग्नहरूलाई जन्मकैदको सजाय सुनाएपछि उनलाई क्षतिपूर्ति प्राप्त हुने आशा जागेको थियो । तर, उक्त फैसलामा क्षतिपूर्तिसम्बन्धी कुनै व्यवस्था उल्लेख गरिएको थिएन । क्षतिपूर्ति नपाए पनि दोषीलाई कठोर सजाय भएकोमा उनले आंशिक रूपमा न्याय पाएको महसुस गरेका थिए । तर, उच्च अदालत वीरगन्जले घटनास्थलमा बम विस्फोट नै नभएको ठहर गर्दै पूर्वमन्त्री आलमसहित पाँचै प्रतिवादीलाई सफाइ दिएपछि उनी मर्माहत भएका छन् । फैसलाले अन्याय भएको महसुस भएपछि उनले वास्तविकता सार्वजनिक गर्न काठमाडौं आई पत्रकार सम्मेलन गरेका हुन् ।
गौरीशंकर गाउँमा चलेका इँटा बनाउने मिस्त्री हुन् । उनको सिप थाहा पाएका अफताबका भाइ महताब आलमले उनीसहित सीतामढीका नरेश र बिकाउलाई पनि ०६४ को पुसमा इँटा बनाउन राजपुर ल्याएका थिए । राजपुरमा उनको ठुलो राजा इँटाभट्टा थियो । महताबले तीनैजनालाई सोही भट्टामा काम गर्न लगाएका थिए ।
मजदुरलाई प्रत्येक साताको अन्तिम दिन ज्याला दिने चलन थियो । उनीहरूले काम गरेको २७ चैत ०६४ का दिन एक साता पूरा भएको थियो । त्यसो हुँदा उनीहरू ज्याला लिन महताबको घरतर्फ गएका थिए । साँझ ठिक ६:३० बजे उनी जब शेख इद्रिशको गोठनजिक पुगे । गोठमा अचानक बम विस्फोट भयो । विस्फोटबाट निस्केको बारुदका छर्रासहित आगोको लप्का उनको छातीमा लाग्यो । आगोले उनको छातीमा गम्भीर चोट लाग्यो । घाँटी जलायो । दुवै कान भुइँमा झरे ।
बारुदको छर्रा उनीसँगै रहेका नरेश र मुसिसलाई पनि लाग्यो । तर, उनीहरूलाई गौरीशंकरको तुलनामा कम चोट लाग्यो । त्यसो हुँदा उनीहरू घटनास्थलबाट भाग्न सफल भए । उनी भने लर्खराउँदै घटनास्थलबाट केही पर भागे । नजिकै पानीको सानो पोखरी थियो । उनी सोही पोखरीमा हाम फाले । पानीले शरीरमा लागेको आगो त निभायो, तर जलनलाई मत्थर पार्न सकेन । पीडाका कारण उनी बेहोस भएर त्यहीँ ढले । आँखा खुल्दा उनी सीतामढीस्थित सदर अस्पतालको बेडमा थिए ।
गौरीशंकरका अनुसार उनी पर्समा सधैँ सानो डायरी बोक्ने गर्थे । डायरीमा उनले परिवारका सदस्यको फोन नम्बर लेखेका थिए । बेहोस अवस्थामा रहेका उनलाई राजपुरका स्थानीयले उद्धार गरे । खाल्तीमा रहेको पर्स खोतले । डायरीमा उल्लेखित नम्बरमा फोन दबाए । त्यसलगत्तै उनलाई लिन परिवारका सदस्य राजपुर आएका थिए ।
उपचारपछि उनी ठिक भए । यता घटनामा संलग्नविरुद्ध अदालतमा मुद्दा चल्दै थियो । घटनाको उनी चस्मदिद गहवा थिए । जसको जानकारी अफताबले पाएका थिए । उनको मुख बन्द गराउन उनलाई करिब चार वर्ष लगातार ज्यान मार्ने धम्की आयो । उनलाई सीमानाका कटेर नेपाल नआउन भनियो । नेपाल आए कुनै न कुनै मुद्दा फसाइदिने धम्की दिइयो ।
उनले नयाँ पत्रिकासँग भने, ‘मलाई चार वर्षसम्म लगातार ज्यान मार्ने धम्की आयो । नेपाल आए कुनै न कुनै मुद्दामा फसाइदिने भने । विभिन्न अपरिचित नम्बरका फोन आउँथे । म डराएँ । नेपाल पनि आइनँ ।’
डराएका उनी घरमै चुपचाप बसे । जब घटनाको १२ वर्षपछि रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख तत्कालीन एसपी भूपेन्द्र खत्रीले फाइल खोले । त्यसपछि उनलाई खोज्दै प्रहरी सीतामढी पुग्यो । प्रहरीले उनीसँग सोधपुछ गर्यो । उनले घटनाको वृत्तान्त बताए ।
घाइते गौरीशंकरको शरीरमा लागेको चोटको फरेन्सिक परीक्षणका लागि उनलाई काठमाडौंको महाराजगन्जस्थित प्रहरीको विधिविज्ञान प्रयोगशालामा ल्याइएको थियो । त्यहाँ उनका घाउका खतहरूको परीक्षण गरिएको थियो । परीक्षणपछि तयार प्रतिवेदनमा भनिएको छ, ‘जाँच गरिएको शरीरको मेडिकल परीक्षण तथा अस्पतालको रेकर्डको विश्लेषणका आधारमा शल्यक्रिया र छाला प्रत्यारोपण गरिएका चोटपटकको सम्भावित कारण विस्फोट हो ।’
सीतामढीबाट आएका रौतहट बम विस्फोटका घाइते गौरीशंकरले पीडा सुनाए–आलमका मान्छेले सीतामाढीमै आएर ज्यान मार्ने धम्की दिएका थिए, अब त मार्छ जस्तो लागेको छ
म रौतहटको राजा इँटाभट्टामा काम गर्दै थिएँ । त्यो अफताबको भाइ महताबको इँटाभट्टा थियो । हप्ताको दिन थियो । पैसा लिन बोलाएर उसको घर गएका थियौँ । हामी तीनजना थियौँ । तीनैजना त्यहाँ उभिएका थियौँ । त्यहाँ घर थियो, रुख थियो । मलाई भन्यो– भाइ यता आएर पैसा लिएर जाऊ । जब घरको ढोकाको अगाडि गयौँ । एकदम ‘ब्डम से’ उड्यो । मलाई थाहै भएन के भयो भन्ने । आगो मेरो शरीरमा लाग्यो, म त्यहाँबाट भागेँ । घरको पछाडि पानी थियो । म त्यहाँ गिरेँ (झरेँ) । आगो निभ्यो । उठेर फेरि भागेँ । त्यसपछि चाहिँ म कतिवेला बेहोस भएछु । आँखा खुल्दा सीतामढीमा रहेछु । ठेलामा लडेको रहेछु । नजिक आमा थिइन् । उनलाई सोधेँ– म कहाँ छु ? आमाले भन्नुभयो– यो सीतामढी हो, तिमीलाई अस्पताल लैजाँदै छु । केही चिन्ता नगर, ठिक हुन्छ ।
इलेक्सनको अघि घटना भएको हो । कति बजे घटना भयो मैले घडी हेरिनँ । बम विस्फोट भयो । मैले अफताबलाई त देखिनँ । तर, त्यहाँ धेरै मान्छे थिए । मैले पनि पछि सुनेँ– त्यहाँ धेरै मान्छे जलेका थिए । गाउँको मान्छेले मलाई उठाएर कसरी भारतसम्म पुर्याए, मलाई थाहा भएन । दुईजना मेरो गाउँको मान्छे पनि जलेका छन्, एउटाको हातमा र अर्कोको अलिकति खुट्टामा लागेको छ । कति मान्छे घाइते भए, त्यो त मलाई थाहा भएन ।
अस्पतालमा तीन महिनाजति मेरो इलाज भयो । साढे तीन लाख भारतीय रुपैयाँ खर्च भयो । सरकारले घर बनाउन इँटा दिएको थियो । त्योसमेत बेचेँ । तर, अफताबले एकचोटि पनि सोधेन– मान्छे कस्तो छ, के छ ? एक रुपैयाँ पनि दिएन । आज म सरकारसँग निवेदन गर्छु– त्यस्तो मान्छेलाई छोड्नुभएन । कडाभन्दा कडा सजाय दिनुपर्यो ।
बम विस्फोट भएको छ, मलाई लागेको छ । मलाई त्यही बमले लागेको हो । सुरुसुरुमा एसपी कार्यालयमा मैले बयान दिएँ । आलमका मान्छे मेरो घरमा गएर आमालाई भनेका थिए– अब तिम्रो छोरा गयो । दुई–चार सालपछि ऊ बाँच्दैन । मलाई धम्की दिएको छ ।
अफताब छुटेकोमा मलाई दु:ख लाग्यो । मलाई धम्की पनि आएको छ । ऊ जेलबाहिर आयो । अब उसले मलाई मार्छ जस्तो लागेको छ । मलाई धेरै डर भयो । मेरो शारीरिक अवस्था असाध्यै नाजुक छ । काम पनि भेटिँदैन । काम पाइए पनि गर्न सक्दिनँ । म मर्ने कि बाँच्ने ? जीवन तहसनहस भयो । मैले अगाडि केही पनि देखेको छैन ।