१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format १६:३९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बर्खा नहुँदा धान रोपाइँ प्रभावित, एक चौथाइ खेतमा पनि भएन रोपाइँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३९:oo

असारको तेस्रो साता लाग्दै गर्दा करिब आधा रोपाइँ भइसक्नु पर्ने बेला बर्खा नहुँदा सिरहामा एक चौथाई खेतमा पनि रोपाइँ हुन सकेको छैन । 

ब्याडमा बीउ तयार भइसक्दा समेत बर्खा नहुँदा किसानहरू चिन्तित हुन थालेका छन् । खेत जोतेर तयार भएपनि बर्खा नहुँदा रोप्न तयार भएका बीउ छिप्पिन थालेका छन् भने भूमिगत सिंचाइबाट थोरबहुत रोपेको धान समेत सुक्न थालेको किसानहरुको गुनासो छ । सिरहाको पश्चिमी र दक्षिण पश्चिमी क्षेत्रमा कमला पूर्वी नहर प्रणालीबाट सिंचाई उपलब्ध भएपनि त्यसबाहेकका जिल्लाका अन्य ठाउँमा भएका साना सिंचाइ आयोजनाहरु पूर्ण क्षमतामा चल्न नसक्दा किसानहरु मर्कामा परेका छन् । 

सिरहाको लहान १८ का किसान रामविलास महतो भन्छन् ‘असार बित्न लागिसक्यो, रोपाइँ हुनेगरी पानी नपर्दा बीउ छिप्पिनुका साथै सुक्न थालिसक्यो ।’ ‘असारको अन्तिम सातासम्म पनि रोपाइँ हुनेगरी पानी नपरे त्यसपछि रोपाइँ गरेपनि राम्रो उत्पादन हुँदैन’ सिरहाको धनगढीमाई ७ का शिवनाथ यादवले भने । बोरिङ्बाट सिंचाई गरेर रोपेको धान पनि आकाशे पानी नपरे राम्ररी नफस्टाउने उनको गुनासो छ ।    

करिब २० प्रतिशत मात्र रोपाइँ

जिल्लाको कुल खेतीयोग्य ७३ हजार नौ सय साढे १३ हेक्टर जमिनमध्ये ५४ हजार हेक्टर जमिनमा बर्खे धान खेती हुने कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ । केन्द्रका अनुसार असारको तेस्रो साता लाग्दासम्म करिब २० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । त्यो रोपाइँ पनि किसानले भूमिगत बोरिङ्मार्फत् गरिएको केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार जिल्लाका १७ स्थाननीय तहमा २१ हजार पाँच सय साढे ३३ हेक्टर जग्गामा बाहै्र महिना र १८ हजार तीन सय ३८ हेक्टर अर्ध सिंचित जग्गाबाहेक ३४ हजार ४२ हेक्टर क्षेत्रमा आकाशे पानीको भरमा नै खेती हुँदै आएको छ ।

जिल्लामा कमला सिंचाइ बाहेक साना सिंचाइ आयोजना अन्तर्गत बानो सिंचाइ, मैनाबत्ती प्रथम र दोस्रो, निर्दना, बता खोला, लघु सिंचाइ, सरस्वती सिंचाइ, कमला उत्तरपैनी, जरुवा कुलो, सरस्वती दुमहान, भूमिगत नलकुप  सिंचाइ आयोजनाबाट १८ हजार तीन सय ३८ हेक्टर क्षेत्रफलमा सिचाइ हुँदै आएको केन्द्रले जनाएको छ ।