१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २१ शनिबार
  • Saturday, 05 July, 2025
२o८२ असार २१ शनिबार २१:o६:oo
Read Time : > 1 मिनेट
समाचार

दोभान बजारलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २१ शनिबार २१:o६:oo

ताप्लेजुङको दोस्रो ठुलो बजार दोभानलाई पर्यटकीय क्षेत्रको रूपमा रूपान्तरण गरिने भएको छ। जिल्लाका नौ स्थानीय तहहरूमध्ये मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न जनप्रतिनिधि तथा स्थानीयवासीले प्रतिबद्धता जाहेर गरेका हुन्। 

मैवाखोला, मिक्वाखोला तथा तमोर नदीको संगमस्थलमा रहेको सुन्दर दोभान बजारलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने स्थानीय सरकार तथा स्थानीयवासीहरू जागरुक बनेका छन्। शनिबार भएको जनतासँग जनप्रतिनिधि कार्यक्रममा दोभानबजारलाई कसरी पर्यटकीय गन्तव्य बनाएर भरपुर पर्यटक भित्र्याउन सकिने निष्कर्षसहित प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। 

तीन वर्षअगाडि माैवाखोलामा आएको बाढीका कारण दोभान बजार नै जोखिममा परेको थियो। त्यसयता निरन्तर बजार जोगाउन तटबन्ध निर्माण भइरहेको छ। ‘आगामी आर्थिक वर्षमा त्यसको पूर्ण समाधन हुनेछ,’ मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युक हां वीर हाँगाम्ले भने, ‘यो बजारको दिगो पर्यटकीय विकासको लागि सबै लागेर काम गर्ने गरी प्रतिबद्धता जाहेर भएको र विकासका लागि योजना बनाएर अगाडि बढ्ने निर्णय भएको छ।’

तटबन्ध निर्माणका लागि गत आर्थिक वर्षमा २५ लाख खर्च भएको छ। यस्तै, चालू आर्थिक वर्षमा ५० लाख खर्च गरिएको तथा आगामी आर्थिक वर्ष ०८२-८३ मा दुई करोड २५ लाख रुपैयाँ विनियोजन भएको छ । 

दोभान बजारलाई सफा, सुन्दर र शान्त बनाई पर्यटकीय क्षेत्रको आकर्षक गन्तव्यको रूपमा विकास गर्न स्थानीयवासीले आफ्नो घरका साथै नजिकको क्षेत्रमा भएको फोहोरसमेत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्। यसैगरी, जलचर संरक्षण अभियानलाई व्यापक बनाइने, विद्युतीय करेन्टबाट माछासहितको जलचर मर्ने कार्यलाई पूर्ण रूपमा निषेध गरिने, बजारमा सञ्चालित होटेललाई व्यावसायिक मापदण्डको दायरामा ल्याउनेसमेत निर्णय भएको छ। 

र्‍याफ्टिङ सञ्चालनका लागि आवश्यक पहल गरिने, होमस्टे सञ्चालनमा ल्याउने र धार्मिक विविधतालाई ध्यानमा राखी सांस्कृतिक पहिचान झल्कने तस्बिर साथै चित्रको व्यवस्था गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ। 

मेरिङ्देन गाउँपालिकाले दोभान बजारमा होटेल व्यवसायीलाई होटेल व्यवस्थापन तालिमसहितका विषयमा दक्षता अभिवृद्धि गर्ने जनाएको छ। बजार क्षेत्रआसपास पदमार्ग निर्माण तथा व्यवस्थापनमा समेत ध्यान दिने पालिकाले प्रतिबद्धता व्यक्त गरेको छ।