१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
टेकराज थामी काठमाडाैं
२o८२ असार १६ सोमबार o६:३७:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भिजिट भिसामा ठगिने युवाका थरीथरी कथा : न्यायको गुहार माग्दै रास्वपामा दुई हजारभन्दा धेरैको निवेदन

Read Time : > 6 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार o६:३७:oo

दाङ तुलसीपुरका पुनराम न्यौपानेलाई काठमाडौंको नयाँ बानेश्वरस्थित फ्लाई टप एजुकेसन कन्सल्टेन्सीका सञ्चालक शरद पाण्डेले भिजिट भिसामा कम्बोडिया लैजाने र क्यासिनोमा सेक्युरिटीगार्डको जागिर लगाइदिने प्रलोभन देखाए । प्रतिमहिना आठ सय अमेरिकी डलर कमाइ हुने र त्यसका लागि ६ लाख रुपैयाँ तिर्नुपर्ने भनेका थिए । कमाइ राम्रै हुने भएपछि न्यौपाने तयार भए । उनी कम्बोडिया पनि उडे । तर, जब जागिर नपाएर बन्धक बनेका अन्य २३ जना होटेलमा फेला परे, त्यसपछि छाँगाबाट खसेझैँ भए । 

न्यौपाने पनि दुई महिना कम्बोडियास्थित होटेलमै बन्धक बने । उनले यसबिचमा कन्सल्टेन्सीलाई सम्पर्क गर्न खोजे, तर सफल भएनन् । त्यसपछि भागेर नेपाल फर्किन सफल भए । ‘कम्बोडियामा मजस्तै अलपत्र परेका अन्य २३ युवा रहेछन् । उनीहरू प्रतिव्यक्ति नौ लाख ३० हजारसम्म तिरेर त्यहाँ पुगेका रहेछन् । तर, कसैले पनि रोजगारी पाएका रहेनछन्,’ उनले नयाँ पत्रिकालाई पीडा सुनाए, ‘उनीहरूलाई फरक–फरक होटेलमा राखिएको थियो । दुई महिनापछि म भागेर नेपाल फर्किएँ । उनीहरू त्यहीँ थिए । पछि उनीहरूको के भयो पत्तो छैन ।’

काठमाडौंको बसुन्धरास्थित जजु म्यानपावरका सञ्चालक सन्दीप न्यौपानेले सर्लाहीका अनिलकुमार साहलाई बोलिभियामा आकर्षक रोजगार लगाइदिने प्रलोभन देखाए । सुरुमा भिजिट भिसामा दुबई जाने र त्यहाँबाट चाँडै बोलिभिया लगिने उनको भनाइ थियो । बेरोजगारीले सताइरहेका साह जान तयार भए । त्यसबापत उनले न्यौपानेलाई पटक–पटक गरी १४ लाख रुपैयाँ बुझाए । न्यौपानेले उनलाई दुबई पुर्‍याएर ४५ दिन होटेलमा राखे । तर, प्रतिबद्धताअनुसार बोलिभिया उडाउन सकेनन् । साह घर फर्किन बाध्य भए ।

नेपाल फर्किएपछि साहले प्रहरीमा उजुरी दिए । प्रहरी वृत्त कालीमाटीले न्यौपानेलाई पक्राउ गर्‍यो । तर, कारबाही प्रक्रिया अघि बढाएन । कारण थियो, प्रमाणको अभाव । अहिले साहले चेक बाउन्समा न्यौपानेविरुद्ध प्रहरी वृत्त तीनकुनेमा अर्को जाहेरी दिएका छन् । तर, त्यसमा पनि कारबाही प्रक्रिया अघि बढेको छैन । 

नवलपुर कावासोतीका रामबहादुर भण्डारीको सामाजिक सञ्जालमार्फत दुबईस्थित रितराज स्टुडियोका सञ्चालक उत्सल पाठकसँग भेट भयो । उत्सलले उनलाई भिजिट भिसामा दुबई लैजाने प्रलोभन देखाए । आकर्षक रोजगारीको अफर आएपछि भण्डरी उनलाई दुई लाख सात हजार रुपैयाँ बुझाएर दुबई उडे । दुई महिना काम पनि गरे । त्यसपछि भिसा सकियो । भण्डारीलाई कम्पनीले कामबाट निकालिदियो । र, रित्तो हात नेपाल फर्कनुपर्‍यो । उनले उत्सलसँग सम्पर्क गर्न खोजे, तर उताबाट वास्तै गरिएन । दुई लाख रुपैयाँ गुमाएका उनी अहिले नवलपुरमा भौँतारिरहेका छन् । 

लमजुङ मध्यनेपाल नगरपालिका– ५ पराजुलीबेँसीका सन्दीप पराजुलीलाई सुवास पाण्डेले भिजिट भिसामा स्लोभाकिया लैजाने आश्वासन दिए । त्यसबापत सात लाख ५० हजार रुपैयाँ लिए । तर, पछि ‘अजरबैजन लैजान्छु’ भने । सन्दीप त्यसका लागि पनि तयार भए । उनलाई सुरुमा भिजिट भिसामा दुबई पुर्‍याइयो, अजरबैजन लगिएन । रकम डुब्ने भएपछि सन्दीपले दुबईको भिजिट भिसालाई वर्किङमा बदले ।

अहिले पनि उनी दुबईस्थित मोबिल कारखानमा कार्यरत छन् । तर, न राम्रो तलब छ न काम नै राम्रो । डुबेको रकम उकास्ने उद्देश्यले उनी सकिनसकी सोही कारखानामा काम गर्न बाध्य छन् । मकवानपुरको थाहा नगरपालिका– १२ का अमरबहादुर स्याङतानलाई दलालले भिजिट भिसामा दुबई लगेर वर्किङमा बदलिदिने प्रलोभन दियो । विश्वासमा परेर स्याङतान दुबई पुगे । तर, भिसा परिवर्तन भएन । उनी बस्ने होस्टेलमा अन्य युवा पनि थिए । जो नौ महिनादेखि सोही होस्टेलमा अलपत्र थिए । उनीहरूलाई पनि दलालले त्यस्तै आश्वासन दिएको रहेछ । छाँगाबाट खसेझैँ भएका उनी अहिले दुबईमा अलपत्र परेका छन् । 

भोजपुरको अरुण गाउँपालिका– ३ का सविन्द्र सार्कीले भिजिट भिसामा दुबई जानका लागि कुमार रानामगरलाई दुई लाख ७० हजार बुझाए । दुबई पुगेर वर्किङ भिसामा परिणत गरिदिने प्रलोभन दिएका थिए मगरले । तर, रकम असुलेपछि फरार भए । सविन्द्र उजुरी लिएर प्रहरीकहाँ पुगे । झापा गौरादहस्थित प्रहरी कार्यालयमा उजुुरी दिए । तर, प्रमाण अभाव भएको भन्दै प्रहरीले जाहेरी लिएन । रकम डुबाएका उनी अहिले पनि समस्यामा छन् । 

काठमाडौंका नबिल श्रेष्ठ पनि भिजिट भिसाका नाममा ठगिए । नवीन लिम्बूले उनलाई दुबई लगेर आकर्षक तलबसहितको रोजगारीमा लगाइदिने प्रलोभन दिए । चार लाख ५० हजार तिरेर श्रेष्ठ दुबई त पुगे, तर जागिर पाउन सकेनन् । बरु, रित्तो हात नेपाल फर्किन बाध्य भए । उनले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । तर, घटनामा संलग्न लिम्बू अझै पक्राउ पर्न सकेका छैनन् ।

कञ्चनपुरका नरेन्द्र ठगुन्नालाई उमेश भट्टले भिजिट भिसामा दुबई लैजाने मात्रै भनेनन्, आकर्षक रोजगारीसमेत मिलाइदिने आश्वासन दिए । उनले ऋण गरेर भट्टलाई दुई लाख रकम उपलब्ध गराए । त्यसपछि ठगुन्नालाई दुबई पनि लगियो । दुई महिना काम पनि गरे । तर, त्यसपछि भिसा अवधि सकिएको भन्दै कम्पनीले उनलाई कामबाट निकालिदियो । दुई लाख रुपैयाँ गुमाएका उनी रित्तो हात नेपाल फर्कनुपर्‍यो । उनले पनि प्रहरीमा उजुरी दिएका छन् । तर, कारबाही प्रक्रिया अघि बढेको छैन ।

दैलेख गुराँस गाउँपालिकाका ललितकुुमार थापा गत ११ चैतमा वैदेशिक रोजगारका लागि दुबई उडे । सिनामंगलस्थित समृद्धि ओभरसिजबाट दुई महिनाको वर्किङ भिसामा गएका उनलाई साताको ६ दिन र दिनमा आठ घण्टा मात्रै काम हुने भनिएको थियो । तर, जब उनी कम्पनीमा पुगे, काम दिनको १२ घण्टाभन्दा धेरै गर्नुपर्ने भयो । साताको एक दिन हुने बिदा पनि कटौती भयो । 

त्यही वेला थापा बिरामी परे । काममा खटिन सकेनन् । कम्पनीले कामबाट निकालिदियो । पासपोर्ट पनि कब्जा ग¥यो । त्यसपछि जरिवाना तिर्नुपर्ने भन्दै उल्टै फरार भएको मुद्दा हाल्यो । अहिले उनको भिसाको म्याद सकिएको छ । दुबईको बरदुबई भन्ने ठाउँमा अलपत्र रहेका उनले युएईस्थित दूतावासमा उद्धारका लागि याचना गरे । नेपाली समाज युएईमा पनि खबर गरे । तर, उनलाई कसैले उद्धार गर्न सकेका छैनन् । 

उद्धारको याचना गरिरहेका थापाले दुबईबाटै नयाँ पत्रिकासँग भने, ‘म वर्किङ भिसामा चार महिनाअघि दुबई आएको हुँँ । मलाई कम्पनीले कामबाट निकाल्यो । पासपोर्ट कब्जा ग¥यो । उल्टै फरार भएको भन्दै मुद्दा हाल्यो । कम्पनीले जरिवाना पनि लगाएको छ । म नेपाल फर्कन चाहन्छु । दूतावासले वास्ता गरेन, न नेपाली समाजले नै मेरो पीडा सुन्यो ।’

नेपाल डिपोर्टका लागि थापाले दुबई प्रहरीमा आत्मसमर्पण पनि गरे । तर, प्रहरीले डिपोर्ट गरेन । बरु उल्टै कम्पनीको जिम्मा लगाएर पठाइदियो । उनका अनुसार कम्पनीले अलपत्र पारेका अन्य तीन युवा छन् । उनीहरूको पासपोर्ट पनि कम्पनीले कब्जा गरेको छ । जसमध्ये एकलाई कम्पनीले गैरकानुनी ढंगले जबर्जस्ती श्रममा लगाएको छ । उनीहरू सबै सिनामंगलस्थित समृद्धि ओभरसिजबाटै दुबई पुगेका हुन् । जसका लागि उनीहरूसँग म्यानपावरले प्रतिव्यक्ति दुई लाखदेखि दुई लाख ३० हजार रुपैयाँसम्म असुलेको छ । तर, उद्धारका लागि म्यानपावरले कुनै पहल नगरेको थापाको गुनासो छ । 

‘कम्पनीले मलाईजस्तै अन्य तीन युवालाई पनि अलपत्र पारेको छ । उनीहरूको पासपोर्ट लिएको छ । दुईजनालाई कामबाट निकालेको छ भने एकजनालाई गैरकानुनी ढंगले काममा लगाइरहेको छ । हामी नेपाल फर्कन चाहन्छौँ । तर, कम्पनीले पासपोर्ट लिएको हुँदा सफल हुन सकिरहेका छैनौँ,’ थापाले भने । 

लमजुङ सुन्दरबजार– ९ का दिवस भट्टराईलाई नवलपरासीको सुनवल नगरपालिका– १२ का लोहिर जाहिर र मोरङ उर्लाबारी नगरपालिका– २ की दीक्षा डाँगीले इटालीमा आकर्षक रोजगार लगाइदिने प्रलोभनमा नौ लाख ७५ हजार १४० रुपैयाँ असुले । तर, उनलाई कबुल गरेझैँ न युरोप लगे, न रकम नै फिर्ता दिए । रकम असुलेलगत्तै फरार दुवैलाई भट्टराईले खोजी गरे । कतै फेला नपरेपछि उनले १९ चैत ०८० मा वैदेशिक रोजगार विभागमा जाहेरी दिएका थिए । विभागले दुवैविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ । तर, उनीहरू हालसम्म पक्राउ परेका छैनन् । 

अहिले अध्ययनका सिलसिलामा दुबईमा रहेका भट्टराईले भने, ‘युरोपमा आकर्षक रोजगार दिने भनेर मलाई प्रलोभन दिए । मैले पटक–पटक गरी झन्डै १० लाख रुपैयाँ दिएँ । तर, उनीहरूले वाचा पूरा गरेनन् । बरु, उल्टै फरार भए । मैले दुई वर्षअघि नै वैदेशिक रोजगार विभागमा उजुरी हालेको थिएँ । तर, उनीहरू हालसम्म पक्राउ परेका छैनन् । म ठगिएको ठगियै भएँ ।’

वैदेशिक रोजगारीका लागि विदेश जाने क्रममै ठगिएका काभ्रे तेमाल गाउँपालिका– २ का सन्चमान लामा, भीम तामाङ र सागर तामाङ पनि हुन् । उनीहरूसँग मोरङ बेलबारी नगरपालिका– ९ का धु्रव गिरीले बुल्गेरिया लैजान्छु भनेर सात लाख ५० हजार रुपैयाँ लिए । तर, उनले न बुल्गेरिया लगे, न रकम नै फिर्ता दिए । एकाएक फरार बनेका उनीविरुद्ध तीनैजनाले वैदेशिक रोजगार विभागमा गत १४ भदौमा जाहेरी दिएका थिए, तर उनी अझैसम्म पक्राउ परेका छैनन् । 

भीमले भने, ‘हामीलाई मोरङका ध्रुव गिरीले बुल्गेरिया लैजान्छु भने । साढे सात लाख रुपैयाँ बुझायौँ । तर, उनले न बुल्गेरिया लगे, न रकम नै फिर्ता दिए । अहिले फरार छन् । हामीले विभागमा उजुरी त वर्ष दिनअघि नै दिएका थियौँ । तर, हालसम्म पक्राउ परेका छैनन् ।’

वैदेशिक रोजगारका क्रममा ठगिनेहरू बैतडीका रूपेशबहादुर धानुक, सर्लाहीका अनिलकुमार साह, दाङका विनोद भुसाल, टीकाराम बाँस्तोला, धुव्र पौडेललगायतको कहानी पनि पीडादायक छ । विमानस्थल अध्यागमन कार्यालयकै सेटिङमा भिजिट भिसाको आवरणमा मानव तस्करी भइरहेको सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले करिब एक महिनाअघि ठगिनेहरूलाई सूचना दिन आह्वान गरेका थिए । यो एक महिनाको अवधिमा करिब दुई हजारभन्दा धेरैले सूचना र आफूसँग भएको प्रमाणसमेत पठाएको रास्वपा प्रवक्ता मनीष झाले बताए ।

‘भिजिट भिसाका नाममा ठगिएकाहरूलाई सूचनासहितको निवेदन दिन हामीले सार्वजनिक रूपमा आह्वान गरेका थियौँ । एक महिनाको अवधिमा हामीकहाँ दुई हजारभन्दा धेरै निवेदन आएका छन्,’ उनले भने, ‘अहिले तिनको अध्ययन गर्ने काम भइरहेको छ । कतिपय फेक पनि हुन सक्लान् । कतिपय तुरुन्तै एक्सनमा जानुपर्ने खालका पनि होलान् । सबैलाई अध्ययन गरी आवश्यक कारबाही प्रक्रियाका लागि पहल गर्छौँ ।’

भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीमा गृहमन्त्री रमेश लेखकसहित गृहका उच्च राजनीतिक र प्रशासनिक नेतृत्वको समेत संलग्नता रहेको भन्दै रास्वपा र राप्रपाले अहिले पनि छानबिनका लागि संसदीय समिति वा न्यायिक छानबिन समितिको माग गरिरहेका छन् । उनीहरूले त्यसको माग गर्दै अहिले पनि सदनमा विरोध प्रदर्शन गरिरहेका छन् । तर, सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेर झारा टार्ने काम गरेको उनीहरूको आरोप छ । 

भिजिट भिसाका नाममा गरिएको ठगीमा पर्नेहरूको उजुरी वैदेशिक रोजगार विभागले हेर्दैन । ठगी मुद्दाअन्तर्गत सिधै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हेर्न गर्छ । त्यो पनि जाहेरी नभई ठाडो उजुरीका आधारमा । यस्ता उजुरी गएको पछिल्लो १० महिनामा मात्रै पाँच सयभन्दा धेरै परेको प्रहरीको तथ्यांक छ । त्यसमध्ये ३० देखि ३५ प्रतिशतको मात्रै समस्या समाधान हुने अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

‘भिजिट भिसाका क्रममा ठगिनेहरूको ठाडो निवेदन हामीले हेर्ने गरेका छौँ । गएको १० महिनामा हामीकहाँ परेका उजुरीमध्ये ३० देखि ३५ प्रतिशत न्याय पाएर फर्किएका छन् । बाँकीको मुद्दा अदालत जान्छ । यस्ता अधिकांश ठगीमा प्रमाण हुँदैन । ऋण, सापटीजस्ता शीर्षकमा रकम लेनदेन हुने गर्छ । त्यस्तो मुद्दा हामीले हेर्न मिल्दैन । पीडितलाई अदातलमा जान सुझाउँछौँ,’ एसपी आचार्यले भने । 

सबै उजुरी अध्ययन गर्ने काम भइरहेको छ
 मनीष झा, प्रवक्ता, रास्वपा

भिजिट भिसाका नाममा ठगिएकाहरूलाई सूचनासहितको निवेदन दिन हामीले सार्वजनिक रूपमा आह्वान गरेका थियौँ । एक महिनाको अवधिमा हामीकहाँ दुई हजारभन्दा धेरै निवेदन आएका छन् । अहिले तिनको अध्ययन गर्ने काम भइरहेको छ । कतिपय फेक पनि हुन सक्लान् । कतिपय तुरुन्तै एक्सनमा जानुपर्ने खालका पनि होलान् । सबैलाई अध्ययन गरी आवश्यक कारबाही प्रक्रियाका लागि पहल गर्छौँ ।

गएको १० महिनामा पाँच सयको हाराहारीमा उजुरी परेका छन्
काजीकुमार आचार्य, प्रवक्ता

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भिजिट भिसाका क्रममा ठगिनेहरूको ठाडो निवेदन हामीले हेर्ने गरेका छौँ । गएको १० महिनामा हामीकहाँ पाँच सयको हाराहारीमा उजुरी परेका छन् । तीमध्ये ३० देखि ३५ प्रतिशत उजुरी फस्र्योट भएका छन् । बाँकीको मुद्दा अदालत जान्छ । यस्ता अधिकांश ठगीमा प्रमाण हुँदैन । ऋण, सापटीजस्ता शीर्षकमा रकम लेनदेन हुने गर्छ । त्यस्तो मुद्दा हामीले हेर्न मिल्दैन । पीडितलाई अदातलमा जान सुझाउँछौँ ।