१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ११ बुधबार १o:३६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बंगलादेशसँग नेपालको मैत्रीपूर्ण खेलको प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार १o:३६:oo
  • आगामी सेप्टेम्बरमा एसियन कप छनोटअन्तर्गत भियतनामसँग प्रतिस्पर्धा गर्नुअघि नेपालले बंगलादेशसँग फिफा डेमा एक मैत्रीपूर्ण खेलको प्रस्ताव राखेको छ

नेपालले बंगलादेशसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि प्रस्ताव राखेको छ । बंगलादेश फुटबल महासंघ (बिएफएफ)का उपाध्यक्ष फहाद करिमले अन्तर्राष्ट्रिय मिडियालाई नेपालले सेप्टेम्बर फिफा विन्डोमा मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको जानकारी दिएका छन् । ‘आगामी सेप्टेम्बरमा नेपालले एक मैत्रीपूर्ण खेलको प्रस्ताव आएको छ,’ करिमले भने । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कपअन्तर्गत तेस्रो चरणको खेलअगाडि बंगलादेशसमक्ष मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको छ । नेपालले एसियन छनोटमा दुवै खेल गुमाएको छ । नेपाल पहिलो खेलमा मलेसियासँग २–० र दोस्रो खेलमा लाओससँग एक गोलको अन्तरले पराजित भएको थियो । 

इतिहासमै पहिलोपटक नेपाल लाओससँग २–१ ले पराजित भएको थियो । यसअघिका सात खेलमा नेपालले लाओससँग अपराजित प्रदर्शन गरेको थियो । नेपालले आउँदो अक्टोबरमा हुने भियतनामविरुद्धको एएफसी एसियन कप छनोट खेल्नेछ । तर, बंगलादेशले नेपालभन्दा माथिल्लोस्तरका टोलीसँग खेल्ने तयारी गरिरहेको छ । प्रिमियर लिग खेल्ने हम्जा चौधरी भित्र्याएसँगै बंगलादेशी फुटबल टोली चर्चामा आएको छ । 

बंगलादेशको योजना युरोपियन राष्ट्रसँग खेल्ने 
बंगलादेशले भने मैत्रीपूर्ण खेलका लागि सात युरोपेली राष्ट्रसँग प्रस्ताव राखेको थियो । तर, युरोपियन खेल तालिकाको कारण बंगलादेशको योजना सफल भएन । युरोपियन राष्ट्रमा लुथिनियाले मात्र बंगलदेशको मैत्रीपूर्ण खेलको प्रस्ताव स्विकारेको थियो । त्यसपछि बंगलादेशले नेपालको प्रस्तावमाथि छलफल थालेको हो । बंगलादेशले अफगानिस्तान, यमन र चाइनिज ताइपेईसँग पनि मैत्रीपूर्ण खेलका लागि प्रस्ताव राखेको छ । श्रीलंकाले आयोजना गर्न लागेको चारदेशीय फुटबल प्रतियोगिता खेल्ने योजनामा पनि बंगलादेश रहेको छ । एसियन कपको छनोटमा लगातार दुई खेल गुमाउँदा नेपाल लगभग प्रतियोगिताबाट बाहिरिसकेको छ । 

हङकङसँगको मैत्रीपूर्ण खेल
फिफा वरीयता सुधार गर्न र भियतनामविरुद्धको खेलमा जित निकाल्नका लागि मैत्रीपूर्ण फुटबल प्रस्ताव राखेको हो । एन्फा र मुख्य प्रशिक्षक रोस म्याटले खेलाडीलाई अन्तर्राष्ट्रिय खेलको एक्सपोज दिलाउन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ध्यान दिएका छन् ।

यसअघि लाओससँगको खेलअगाडि नेपालले सन् १९८७ पछि हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले हङकङलाई गोलरहित बराबरी रोकेको थियो ।