१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
प्रकाश थापा
२o८२ असार ११ बुधबार o७:४o:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विद्या–ओली संवादको अन्तर्य

Read Time : > 4 मिनेट
प्रकाश थापा
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार o७:४o:oo
  • केपी ओली–विद्या भण्डारी भेट एमाले पार्टी र समग्र नेपालको राजनीतिक शक्ति संरचनाभित्र फेरि उब्जन लागेको हलचलको पूर्वसंकेत हो 

दक्षिण एसियाको समकालीन राजनीतिमा नेपाल यस्तो मोडमा उभिन आइपुगेको छ, जहाँ सत्ता, विचारधारा र नेतृत्वको बहस केवल सार्वजनिक मञ्चमा मात्र होइन, पार्टीभित्रका कक्षमा पनि उति नै सघन र निर्णायक बन्न थालेका छन् । यसै सन्दर्भमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी नेतृ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच केही समयअघि भएको भेटघाट र संवादलाई गम्भीर राजनीतिक धारणा, अन्तर्द्वन्द्व र सम्भावित भावी समीकरणका दृष्टिले बुझ्न आवश्यक छ । सतही रूपमा हेर्दा यो भेटघाट सामान्य औपचारिकताको निरन्तरता जस्तो देखिए पनि यसले गहिरो राजनीतिक संकेत र सम्भाव्य रणनीतिक पुनर्संरचनाको संकेत गरेको छ ।

नेकपा एमालेको राजनीतिमा विद्यादेवी भण्डारीको उपस्थिति जननेता मदन भण्डारीको पारिवारिक तथा वैचारिक विरासत पनि हो । जननेता मदन भण्डारीको रहस्यमय ‘हत्या’पछि नेपाली राजनीतिमा आकस्मिक रूपमा उदाएकी विद्या भण्डारीले त्यसयता आफ्नो अलग्गै छवि पार्टी र राष्ट्रिय राजनीतिमा कायम गरेकी छिन् । राष्ट्रपतिको पदबाट मुक्त भएपछि पछिल्ला दिनमा भण्डारीले पूर्ण रूपले सक्रिय राजनीतिमा फर्किने संकेत दिइरहेकी छिन् । यसले एमालेभित्र नेतृत्वको नयाँ आयामको संकेत मात्र होइन, अध्यक्ष ओलीलाई चुनौती दिने जबजको वैकल्पिक र वैचारिक धारको ‘पावर सेन्टर’ निर्माणको सम्भावना पनि खोलिदिएको छ । विचारका आधारमा हेर्दा विद्या–ओली भेटलाई कसैले पनि अनौठो मान्नुपर्ने कारण छैन ।

यतिखेर प्रधानमन्त्री केपी ओली पार्टीभित्रका उहाँका केही अन्ध समर्थकबाहेक अन्यको मन्द आलोचना र असन्तोषको घेराभित्र हुनुहुन्छ । यद्यपि, उहाँ अझै पनि पार्टीको ‘पावर सेन्टर’मै हुनुहुन्छ । तर, पछिल्लो समय उहाँको कार्यशैली, निर्णय र अभिव्यक्तिप्रतिको असन्तुष्टि क्रमशः बढ्दै गएको छ । जसले गर्दा भावी पार्टीभित्र उहाँको उत्तराधिकारी खोजी गर्नुपर्ने धारणाहरू घनीभूत हुँदै जान थालेका छन् । पार्टीभित्र अनवरत संघर्ष गर्दै आएका र जीवनमा कहिल्यै र कुनै अवसर नपाएर चेप्टिएर, खुम्चिएर बस्नुपर्ने भुइँतहका नेता, कार्यकता, जनताका भावनाको नेतृत्व एमालेभित्र अब कसले गर्ने ? यिनै मुद्दामा छलफल र बहस गर्नै नेताद्वय ओली र भण्डारीबिच घेटघाट भएको हुन सक्ने अनुमान गलत नहुन सक्छ । दुई नेताबिचको पछिल्लो संवादमा पार्टीको नेतृत्व संरचना, भावी राजनीतिक यात्रा, आगामी निर्वाचन एक्लै लड्ने या गठबन्धन गरेर जाने भन्ने सवालमा केही न केही मन्थन भएको अनुमान लगाउन कठिन छैन ।

उहाँहरूको यस भेटलाई मुख्यतः दुई सन्दर्भमा हेर्न सकिन्छ, पहिलो– शक्ति सन्तुलनका लागि गम्भीर संवाद र दोस्रो– भावी भूमिकाको विभाजन र समन्वयको सम्भावना । ७० वर्षे उमेर हदका कारण विद्या भण्डारीले आफैँ पार्टी अध्यक्ष बन्न चाहेको चर्चा पार्टीभित्र र बाहिर सबैतिर भइरहेकै हो । यसले अध्यक्ष ओलीलाई विकल्प तयार पार्न वा सहमति गर्न दबाब सिर्जना गर्न सक्छ । खासगरी अध्यक्ष ओलीको पछिल्लो कार्यकाल पार्टीको संस्थागत विकासभन्दा व्यक्तिकेन्द्रित नियन्त्रण प्रवृत्तिका आधारमा चिनिन्छ । विद्या भण्डारीजस्तो राजनीतिक रूपमा परिपक्व तर हालसम्म मुख्य कार्यकारी भूमिकाबाट टाढा रहेकी महिला नेतृले यस परिवेशमा पार्टीको नयाँ रूपान्तरणको प्रतीक बन्न सक्ने आकलन गर्नु अन्यथा होइन ।

अर्को महत्वपूर्ण पक्ष भनेको उहाँहरू दुवैले साझा शत्रु र साझा चुनौतीको सामना गरिरहनुभएको छ । माओवादी केन्द्र, कांग्रेसलगायत दलसँगको वैचारिक द्वन्द्व, वैदेशिक सम्बन्धको पुनर्सन्तुलन, विशेषतः भारतीय प्रभाव, अमेरिकी रणनीति (जस्तै एमसिसीलगायत) र चिनियाँ नीति (बिआरआई) को धारणासँगको सम्बन्ध व्यवस्थापनका सवालमा उहाँहरू दुवैको दृष्टिकोण मिल्न सक्ने सम्भावना पनि देखिन्छ ।

दुवै नेताको भेटमा युवापुस्ताको भूमिकाको पुनः मूल्यांकन र ओलीपछिको नेतृत्वका लागि नेतृ भण्डारीलाई वैकल्पिक अनुहारका रूपमा स्थापित गर्ने योजनासम्मका विषयमा छलफल भएको हुनुपर्छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली स्वयं आफू बाँचुन्जेल आफ्नो अहिलेको हैसियतमा कुनै किसिमको कटौती गर्ने पक्षमा देखिनुहुन्न । किनकि, अघिल्लो महिना कुनै एउटा कार्यक्रममा आफू अझै १५–२० वर्ष बुढो नहुने र राजनीतिबाट विश्राम नलिने सार्वजनिक घोषणा गर्नुभएको छ, उहाँले ।

उहाँको वर्तमान कार्यशैली सत्ता संरक्षणमुखी देखिँदै आएको छ । वर्गीय दुस्मनसँगको सत्ता गठबन्धनका कारण भण्डारी–ओलीबिचको राजनीतिक सम्बन्ध र सहकार्यभन्दा बढी प्रतिस्पर्धात्मक बन्ने खतरा पनि छ । हिजो कांग्रेसविरुद्ध सदनमा ५७ दिनसम्म सदन अवरुद्ध गरेको इतिहास बोकेको एमाले आज उसैको सत्तागठबन्धनको साझेदारका रूपमा उभिएको छ । अब नेकपा (एमाले) को वैचारिक र वर्गीय दुस्मन को हो ? यसको जवाफ अध्यक्ष ओली र उहाँका निकट सहयोगीले दिन सक्नुपर्छ । अब यहाँ प्रश्न उठ्छ, राष्ट्रको सम्मानित पदमा पुगिसक्नुभएको र जनताको साझा अभिभावक भइसक्नुभएको उहाँ जस्तो व्यक्ति फेरि खुला राजनीतिमा किन फर्किनुपर्‍यो ? हालसम्म उहाँले कमाएको राजनीतिक उचाइलाई किन आलोच्य बनाउने ?

एक प्रकारले यो तर्क गलत होइन । तर, हिजो उहाँलाई किन राष्ट्रपतिमा पठाइयो ? नेकपा एमालेभित्र राष्ट्रपति बन्न लायक उहाँभन्दा सिनियर अरू नेता थिएनन् र ? नेकपा एमालेको स्थायी कमिटीले राष्ट्रपतिका लागि नाम सिफारिस गर्ने वेलामा महिला नेतृ अष्टलक्ष्मी शाक्य र सिनियर नेता झलनाथ खनालमध्ये एकजनालाई राष्ट्रपति बनाएको भए आज नेकपा एमालेको अवस्था यहाँसम्म आइपुग्दो हो र ? त्यस्तो अवस्था भइदिएको भए पार्टी फुट्थ्यो होला त ? अघिल्लोपटकको निर्णय त ल एमाले एक्लैले गर्‍यो भनेर मान्न पनि सकियो । तर, दोस्रोपटक नेकपा थियो, फेरि पनि उनै भण्डारीको नाम जबर्जस्ती अघि सारियो किन ? किनकि, झलनाथ खनाल र अष्टलक्ष्मी शाक्यलाई पछि पारेर विद्यालाई ‘टप फ्लोर’मा राख्दै आफू एमालेको अध्यक्ष बनेर मुलुकको प्रधानमन्त्री बन्ने केपी ओलीको उत्कट चाहना थियो । समयले साथ दियो । मुलुकको राजनीति र राज्यसत्ताको बागडोर उहाँकै हातमा आयो र हालसम्म त्यो कायमै छ । ओलीले त्यतिवेला यो चतुर्‍याइँ नगरेको भए नेतृ विद्या भण्डारी नेकपा (एमाले) को पार्टी अध्यक्ष उतिवेलै भइसक्नुहुन्थ्यो ।

अनि फेरि तिनै साथीहरू टाउको कन्याउँदै पार्टीभित्रको सेवा–सुविधा र नेतृत्वचाहिँ एउटैलाई मात्र सुम्पिनुहुन्न पनि भन्छन् । यो तर्क झन् असाध्यै ठिक लाग्छ मलाई त । ल त साथीहरू, यो तर्कका लागि कम्मर कसेर लागौँ त, परिणाम जे आउला । होइन भने कम्बल ओढेर घिउ खाने कुरोचाहिँ नगरेकै जाती होला । सबैको मिहिनेत र बलिदानबाट स्थापित पार्टीको माया तपाईं–हामी सबैलाई छ । अवसरको वितरण समान ढंगले हुनुपर्छ । त्यसकारण पूर्वराष्ट्रपति विद्या भण्डारीको अभिभावकीय आगमनले नेकपा (एमाले) पार्टीलाई घाटा होइन, फाइदा नै हुन्छ ।  

एमालेभित्रको यो उच्चस्तरीय भेट दुईजना नेताबिचको सामञ्जस्य वा प्रतिस्पर्धाको संकेत मात्र होइन, नेपालको बहुपार्टी प्रणालीमा भावी शक्ति संरचना कुन दिशातर्फ मोडिन सक्ला भन्ने अनुमान गर्ने आधार पनि बन्न सक्छ । विद्या भण्डारीको राजनीतिक पुनरागमन पार्टीभित्र सन्तुलन ल्याउने अवसर पनि हो । त्यसैले यस भेटलाई गहिरो राजनीतिक समीकरण र वैचारिक पुनर्संरचनाको संकेतका रूपमा मनन गर्दा राम्रो होला । 

एमालेको आन्तरिक रणनीति, नेताहरूको भूमिका र भावी निर्वाचन र सत्ता समीकरणलाई अझ गहिराइमा र आयामिक ढंगले बुझ्न यो भेट एक ‘वाच टावर’ अर्थात् (निगरानी स्तम्भ)जस्तै बन्न सक्नेछ । जहाँबाट आगामी राजनीतिक (रोड म्याप) मार्गचित्रको दिशा अनुमान गर्न सकिन्छ । त्यसैले, यो भेटलाई केवल दुई नेताको औपचारिक भेट भनेर बुझ्नु राजनीतिक दृष्टिले अपूरो, अधुरो हुनेछ । यो भेट एमाले पार्टी र समग्र नेपालको राजनीतिक शक्ति संरचनाभित्र फेरि उब्जन लागेको हलचलको पूर्वसंकेत हो । हिजो राष्ट्रपति बनाउँदा मदन भण्डारीको परिवारलाई अघि सारेकै हो । आज नेकपा एमालेको अध्यक्ष बन्न वा बनाउन किन हिच्किचाउँछन् नेताहरू ? मैले बुझ्न सकेको छैन । 

(थापा एमाले सर्लाही जिल्ला कमिटीका पूर्वउपसचिव हुन्)