१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १० मंगलबार १o:oo:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार १o:oo:oo

प्रहरीको अहिलेको आवश्यकता हतियार हो कि अन्य प्राविधिक सक्षमता ?
प्रहरी संगठनका मुख्य दुइटा प्राथमिकताका विषय हुन्छन् । पहिलो हो, संगठनको भौतिक पूर्वाधारमा सुधार । प्रहरी संगठनको भौतिक पूर्वाधार अझै पनि निकै दयनीय छ । गाउँगाउँका चौकीहरू अझै पनि भैँसीको गोठ भन्न सुहाउने खालका छाप्राहरूमा चलिरहेका छन् । त्यसैले, ‘भैँसी गोठ टु ब्यारेक’ अभियान चलाउनुपर्ने अवस्था छ । प्रहरी कर्मचारीको भान्छादेखि पोसाकसम्म समस्या छ । त्यसमा व्यापक सुधारको खाँचो छ । दोस्रो आवश्यकता भनेको प्राविधिक सुधार हो । अपराध अनुसन्धान गर्नुपर्ने प्रहरीलाई अत्याधुनिक प्रविधिबाट सुसज्जित गराउनु जरुरी छ । यसका लागि अत्याधुनिक ल्याबदेखि अत्याधुनिक उपकरणसम्म प्रहरीलाई उपलब्ध गराउनैपर्छ । त्यसैले, अहिले किन्न आँटिएका हतियार अत्यावश्यक हुन् कि होइनन्, संगठनको नेतृत्वले सोच्नुपर्छ । भिड नियन्त्रणकै लागि यी हतियार लिन लागिएका हुन् भने पनि यो गलत छ । यस्ता हतियारको प्रयोग भिड नियन्त्रणमा गर्नु मानव अधिकारका दृष्टिले पनि गलत मानिन्छ । 

प्रहरीको हतियार खरिद प्रकरण जहिल्यै किन विवादमा परिरहन्छ ?
यहाँमात्र होइन, संसारभरमै सबैभन्दा बढी चलखेल हुने हतियार खरिदमै हो । यसमा ठुलाठुला गिरोह र बिचौलिया सक्रिय हुन्छन् । हतियारमा कमिसन पनि बढी आउने र नाफा पनि बढी हुने भएकाले यसमा बढी चलखेल हुन्छ र विवादमा पनि परिरहन्छ ।  

यसले विगतमा जस्तै प्रहरी संगठन र नेतृत्वलाई नै विवादमा तान्ने सम्भावना कति छ ?
यस विषयमा नेतृत्वले नै ध्यान पुर्‍याउनु जरुरी छ । प्रहरीका लागि यतिखेर हतियार आवश्यक हो कि भौतिक पूर्वाधार सुधार महत्वपूर्ण हो, यसमा नेतृत्व प्रस्ट हुनुपर्छ । प्रहरी कर्मचारीहरू सामान्य सुविधाबाट समेत वञ्चित भइरहेको समयमा नेतृत्वको ध्यान हतियार खरिदतिर केन्द्रित भयो भने यसले प्रहरीको मनोबल कमजोर हुन सक्छ ।