
सभापति रवि लामिछानेविरुद्ध सरकारले प्रतिशोध राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसविरुद्ध थालेको जनताको हस्ताक्षर अभियानमा कलाकारहरूले साथ दिएका छन् । अभिनेताहरू विपिन कार्की र रमेश उप्रेतीले आइतबार रवि लामिछानको पक्षमा हस्ताक्षर गरेका छन् ।
पार्टी कार्यालयमा पुगेर उनीहरुले लामिछानेलाई न्यायका लागि हस्ताक्षर गरेका हुन् । पार्टी स्थापना दिवसको अवसरमा शनिबार कारागारबाटै अपिल जारी गर्दै लामिछानेले आफुमाथि भएको प्रतिशोधमा हस्ताक्षर गरेर साथ दिन आग्रह गरेका थिए । सोहीअनुसार पार्टीले अभियान थालेको छ ।
कुनै पनि सहकारीमा प्रत्यक्ष रुपमा संलग्न नभएको र गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएकै आधारमा आफुविरुद्ध प्रतिशोधका आधारमा संगठित अपराधदेखि सम्पत्ति शुद्धीकरणसम्मका मुद्दा चलाइएको रवि लामिछानेको आरोप छ । संसदीय छानविन समितिले समेत सहकारीबाट गोर्खा मिडियामा पैसा लैजाने क्रममा उनको संलग्नता नरहेको भनेर उल्लेख गरेको थियो । तर, तथ्यहरू नहेरी अदालतले समेत थुनामा राख्ने आदेश दिएको गुनासो रास्वपाका नेताहरूको छ ।