
एसिसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिंगापुरले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल बनायो । सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए ।
त्यसैगरी, ओपनर आहान भुधानभामले ३८ रन जोडे भने अर्का ओपनर रोशन अरुन ११ रन बनाउँदै आउट भए । सिंगापुरलाई १३८ रनमा समेट्ने क्रममा नेपालका कप्तान विपिन शर्माले चार विकेट लिए । त्यसैगरी, सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक–एक विकेट लिए ।
एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा सिंगापुर, इन्डाेनेसिया, भुटान र जापान छन् ।
त्यस्तै, समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका छन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।