
कवि तथा गीतकार युवराज अधिकारीको कवितासंग्रह 'युद्ध, युद्ध नै हुन्छ' राजधानीमा एक समारोहकाबिच लोकार्पण गरिएको छ। एपेक नेपालका अध्यक्ष विश्वबिमोहन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी भएका वरिष्ठ कवि तुलसी दिवसले संग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै अधिकारीको कवितामा समकालीन चेतना र यथार्थको गहिरो अभिव्यक्ति रहेको बताए। अभिनेता तथा वरिष्ठ क्याप्टेन विजय लामाले संग्रहको शीर्ष कविता 'युद्ध, युद्ध नै हुन्छ' वाचन गरे भने, उनकै स्वरमा रेकर्ड गरिएका केही कविताहरू पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रममा मन्त्री पाण्डेले शीर्ष कविता 'युद्ध, युद्ध नै हुन्छ' ले समकालीन विश्वको पीडा उजागर गरेको बताए । उनले भने, 'युद्ध कुनै पनि कोणबाट स्वीकार्य हुँदैन, अधिकारीको कविताले यही सन्देश दिन खोजेको छ ।' अभिनेता निखिल उप्रेतीले अधिकारीको अर्को लोकप्रिय कविता 'जिन्दगी यस्तै त हो कान्छा' वाचन गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षण कवि अधिकारीको कविता 'जिन्दावाद र मुर्दावादको सहरमा कोही आउने छ' को नाट्यमञ्चन रहेको थियो, जसको निर्देशन कलाकार वीरेन्द्र हमालले गरेका थिए। निर्देशक तथा लेखक प्रकाश सायमीले अधिकारीको समग्र कविता यात्रामाथि प्रकाश पारे।
कवि युवराज अधिकारीले संक्षिप्त मन्तव्य दिँदै भने, 'कविता भनेको माटोको सुगन्ध बोकेर जनमानससम्म पुग्ने माध्यम हो।' उनले कार्यक्रममा आफ्ना केही कविता पनि वाचन गरेका थिए ।
कार्यक्रममा सांसद अमरेशकुमार सिंह, एमाले नेता महेश बस्नेतलगायत साहित्य, कला र संचार क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कविता संग्रह 'युद्ध, युद्ध नै हुन्छ' लाई इन्डिगो इन्क प्रालिले प्रकाशन तथा वितरण गरेको हो।