१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
२o८२ असार ७ शनिबार o६:o४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

इजरायलबाट उद्धारको तयारी

इरानमा रहेका नेपालीका लागि भारतसँग सहयोगको अनुरोध

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार o६:o४:oo
  • अर्को मुलुकको राहदानीमा इजरायल गएका र भिसा सकिएका नेपालीको उद्धारमा कानुनी कठिनाइ
  • उद्धारका लागि इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासमा हालसम्म ६५० जनाको आवेदन, तत्काल उद्धार गर्न २५ जनाको अनुरोध
  • तत्काल उद्धार गर्नुपर्ने नेपालीको संख्या डेढ सय नाघेपछि चार्टर उडान पठाउने सरकारको तयारी

आठ दिनदेखि जारी इरान–इजरायल युद्ध झन्झन् विनाशकारी हुँदै गएपछि सरकारले त्यहाँ रहेका नेपालीको उद्धारको तयारी थालेको छ । इजरायलमा रहेका नेपालीले उद्धारका लागि सरकारसँग अनुरोध गरेका छन् । इरानमा रहेका नेपालीको उद्धारका लागि सरकारले भारत सरकारलाई सहयोगको अनुरोध गर्ने भएको छ ।

इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासमा हालसम्म ६५० जनाले उद्धारका लागि आवेदन दिएका छन् । तीमध्ये २५ जनाले तत्काल उद्धारको अनुरोध गरेका छन् । तत्काल उद्धारको आवश्यकतामा परेका नेपालीको संख्या डेढ सय नाघेपछि सरकारले चार्टर उडानमार्फत उद्धार गर्ने तयारी गरेको छ ।

शुक्रबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको प्रयासमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसमेतको उपस्थितिमा परराष्ट्र, श्रम, पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयका सचिवको बैठक बसेको थियो । बैठकले इजरायलमा रहेका नेपालीलाई उद्धार गर्नुपर्ने निष्कर्ष निकाल्दै यसका लागि परराष्ट्र मन्त्रालयमा कार्यालय रहने गरी द्रुत प्रतिकार्य टोली (र्‍यापिड रेस्पोन्स टिम) गठन गर्ने निर्णय गरेको छ । परराष्ट्रका सहसचिवले नेतृत्व गर्ने टोलीमा  परराष्ट्र, गृह, श्रम, पर्यटन मन्त्रालयका अधिकारी हुनेछन् । टोलीको सिफारिसका आधारमा नेपालीको उद्धारका लागि सरकारले निर्णय लिनेछ ।

‘नेपाली नागरिकको अवस्थाबारे समीक्षा गरिरहेका छौँ । आवश्यकताअनुसार उहाँहरूको उद्धारका लागि सरोकारवाला निकायसँगको समन्वयमा युद्धस्तरमा गृहकार्य भइरहेको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने ।

बैठकमा उद्धारका लागि जहाज पठाउने तयारी पर्यटन मन्त्रालयले गर्ने, सरकारबिच सम्झौताका आधरामा इजरायल गएकाको उद्धारका लागि सहजीकरण गर्न श्रम मन्त्रालयले इजरायललाई पत्राचार गर्ने निर्णय भएको सहभागी एक अधिकारीले बताए ।

बैठकमा पररष्ट्रमन्त्री राणाले इजरायलस्थित नेपाली दूतावासले सक्रिय रूपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिस्ट्रेसन पनि खुलेको र उहाँहरू स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको बताएकी थिइन् । ‘जिटुजी (दुई सरकारबिच) प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपाली फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो । त्यसका लागि सीमाक्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ । नेपालीहरू स्वदेश फर्कन चाहेमा उहाँहरूको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।

श्रममन्त्री भण्डारीले नेपालीसँग निरन्तर सम्पर्कमा रहेको र उनीहरू स्वदेश फर्कन चाहेमा उद्धारको तयारीमा लाग्नुपर्नेमा जोड दिएका थिए । हाल इजरायल जाने अन्तिम तयारीमा रहेकालाई श्रम स्वीकृति नदिई रोकिराखिएको पनि भण्डारीको भनाइ थियो ।

इजरायल र इरानबिच १३ जुनमा युद्ध सुरु भएकै दिन परराष्ट्रले विज्ञप्तिमार्फत नेपालीलाई सम्बन्धित नेपाली राजदूतावाससँग सम्पर्कमा रहन अनुरोध गरेको थियो । दुई दिनपछि परराष्ट्रले सम्पर्क विवरणसहितको ट्राभल एड्भाइजरी जारी गरी सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन नेपालीलाई अनुरोध गरेको थियो । 

इजरायल र इरानमा हाल नियमित हवाईमार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई अनलाइन भिसा उपलब्ध गराउनेलगायत काममा सहजीकरण गरिदिन खाडीस्थित सबै नेपाली नियोगलाई परराष्ट्र मन्त्रालयले गत बुधबार नै निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयले गत बुधबार दोस्रोपटक ट्राभल एड्भाइजरी जारी गरेर हाल इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन र नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण नगर्न अनुरोध गरेको छ ।

‘इजरायलस्थित नेपाली राजदूतावास र इरान हेर्ने कतारस्थित नेपाली राजदूतावासलाई सम्बन्धित सरकारी अधिकारी, यस क्षेत्रमा काम गर्ने संघसंस्था र नेपाली समुदायसँग निकटको सम्पर्क स्थापित गर्न र सोका सम्बन्धमा मन्त्रालयलाई ‘रियल टाइम रिपोर्टिङ’ गर्न निर्देशन दिइएको छ,’ परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले भने ।

इजरायलमा दुई हजार नेपाली कानुनी समस्यामा
इजरायलमा ५५ सयदेखि सात हजार नेपाली नागरिक रहेको विषयमा शुक्रबार परराष्ट्रद्वारा आयोजित बैठकमा छलफल भएको थियो । ‘५५ सय नेपालीबारे समस्या छैन । तर, दुई हजार नेपाली अन्य मुलुकको राहदानी प्रयोग गरेर इजरायल पुगेको जानकारी आएको छ,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘उनीहरूको उद्धारबारे विभिन्न विकल्पमा छलफल भएको छ ।’

इरानमा रहेकालाई उद्धार गर्न भारतलाई अनुरोध
परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार पाठकका अनुसार इरानमा १८ जना नेपाली छन् । यीमध्ये पाँचजना जेलमा र अन्य १३ जना विभिन्न निकायमा कार्यरत छन् । ‘भारतीय राजदूतावास, राष्ट्रसंघीय नियोगलगायतमा कार्यरत १३ जनालाई उद्धार गर्न भारत सरकारलाई अनुरोध गरिने भएको छ,’ पाठकले भने । भारत सरकारले अनौपचारिक रूपमा सहमति जनाइसकेको छ । इरानी जेलमा रहेका पाँचजना नेपालीबारे भने अन्योल छ ।

उद्धार योजना बनाउन बैठक
शुक्रबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको प्रयासमा श्रममन्त्री शरत्सिंह भण्डारीसमेतको उपस्थितिमा परराष्ट्र, श्रम, पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयका सचिवको बैठक बसेको थियो । बैठकले इजरायलमा रहेका नेपालीलाई उद्धार गर्नुपर्ने निष्कर्ष निकाल्दै यसका लागि परराष्ट्र मन्त्रालयमा कार्यालय रहने गरी द्रुत प्रतिकार्य टोली (र्‍यापिड रेस्पोन्स टिम) गठन गर्ने निर्णय गरेको छ । परराष्ट्रका सहसचिवले नेतृत्व गर्ने टोलीमा परराष्ट्र, गृह, श्रम, पर्यटन मन्त्रालयका अधिकारी हुनेछन् । टोलीको सिफारिसका आधारमा नेपालीको उद्धारका लागि सरकारले निर्णय लिनेछ ।