१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८२ असार ७ शनिबार ११:५३:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक व्यापार १८.८ प्रतिशतले बढ्यो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार ११:५३:oo
  • ११ महिनामा आयात १३.१५ प्रतिशतले बढेर १६ खर्ब ४४ अर्ब र निर्यात ७७.७७ प्रतिशतले वृद्धि भई दुई खर्ब ४७ अर्ब पुगेको छ, व्यापार घाटा १३ खर्ब ९७ अर्ब पुग्यो 

चालू आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । यो गत आव ०८०/८१ को सोही अवधिको तुलनामा १८.८ प्रतिशतले बढी हो । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा कुल विदेशी व्यापार वृद्धिसँगै व्यापार घाटा पनि बढेको छ । ०८०/८१ को पहिलो ११ महिनामा व्यापार घाटा १३ खर्ब १४ अर्ब रुपैयाँ थियो । ०८१/८२ मा यो ६.३ प्रतिशतले बढेर १३ खर्ब ९७ अर्ब पुगेको छ ।

चालू आवको जेठसम्म आयात १३.१५ प्रतिशतले बढेर १६ खर्ब ४४ अर्ब पुगेको छ भने निर्यात ७७.७७ प्रतिशतले वृद्धि भई दुई खर्ब ४७ अर्ब पुगेको छ । कुल व्यापारमा निर्यातको हिस्सा ८.७४ प्रतिशतबाट बढेर १३.०८ प्रतिशत पुगेको छ । त्यस्तै, आयातको हिस्सा ९१.२६ प्रतिशतबाट घटेर ८६.९२ प्रतिशतमा झरेको छ ।

चालू आर्थिक वर्षमा नेपालले सबैभन्दा धेरै आयात गरेको वस्तु समूह ‘खनिज इन्धन, खनिज तेल तथा बिटुमिनस पदार्थ’ छन् । भन्सार विभागका अनुसार यो समूहमा दुई खर्ब ९५ अर्ब ७९ करोडबराबरको वस्तु नेपालले आयात गरेको छ । तर, यो समूहअन्तर्गत नेपालले निर्यात भने दुई करोड दुई लाख रुपैयाँबराबरको मात्र भएको देखिन्छ । दोस्रो सबैभन्दा ठुलो आयात समूह ‘वनस्पति वा जनावरजन्य बोसो तथा तेल’ छ । यस्तो समूहअन्तर्गतका वस्तु एक खर्ब ३८ अर्ब ५५ करोड रुपैयाँबराबरको आयात भएको छ । यही समूह नेपालको सबैभन्दा ठुलो निर्यात समूह पनि बनेको छ । यसमा नेपालले एक खर्ब सात अर्ब ६८ करोड रुपैयाँबराबरको वस्तु विदेश पठाएको छ ।

फलाम तथा इस्पात समूहमा एक खर्ब २७ अर्ब ७९ करोड रुपैयाँबराबरको आयात भएको छ । यही समूहबाट निर्यात १३ अर्ब ४५ करोड रुपैयाँबराबरको छ । त्यस्तै, मेसिनरी तथा यान्त्रिक उपकरणहरूको आयात एक खर्ब १२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । तर, निर्यात केवल एक अर्ब ३४ करोड रुपैयाँबराबरको मात्र छ ।

इलेक्ट्रोनिक उपकरण तथा टेलिभिजन, ध्वनि प्रणाली आदिसहितको समूहमा एक खर्ब चार अर्ब ८१ करोड रुपैयाँबराबरको आयात गरिएको छ भने निर्यात १२ करोड ४८ लाख रुपैयाँमा सीमित छ । सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयात पनि एक खर्ब एक अर्ब ६२ करोड रुपैयाँबराबर पुगेको छ, तर निर्यात नगण्य मात्र नौ करोड ८४ लाख रुपैयाँबराबरको छ ।

बढी आयात हुनेमा डिजेल, निर्यातमा भटमासको तेल
सबैभन्दा धेरै आयात भएको वस्तु डिजेल एक खर्ब १५ अर्ब रुपैयाँको भएको देखिन्छ । त्यसपछि दोस्रो स्थानमा भटमासको काँचो तेल ९५ अर्ब ७२ करोड रुपैयाँको आयात भएको छ । करिब ५८ अर्ब ५८ करोड रुपैयाँबराबरको पेट्रोल आयात भएको छ । खाना पकाउने ग्यासको आयात पनि ठुलो परिमाणमा भएको छ । ५७ अर्ब ३६ करोड रुपैयाँको ग्यास आयात भएको हो । फलामजन्य वस्तु पनि ठुलो परिमाणमा आयात गरिएका छन् । फलामबाट उत्पादित लम्प वा पेलेटको ४५ अर्ब ७१ करोड रुपैयाँको आयात भएको छ । हट रोल्ड फलामको आयात ३० अर्ब रुपैयाँ नाघेको छ । मोबाइल फोनको आयात पनि उल्लेखनीय छ । १९ लाख ७५ हजार थान मोबाइल फोन आयात हुँदा ३२ अर्ब रुपैयाँ बिदेसिएको छ ।

१८ अर्ब ४५ करोड रुपैयाँबराबर ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका सात हजार तीन सय ५८ वटा विद्युतीय गाडी आयात भएका छन् । १३ लाख ८९ हजार ग्रामबराबर १७ अर्ब रुपैयाँभन्दा बढीको सुन आयात भएको छ । चामल, मकै, उखु तथा युरिया मलजस्ता कृषि वस्तुको आयात पनि उच्च छ ।

सबैभन्दा धेरै निर्यात भएको वस्तु प्रशोधित भटमासको तेल हो । यसको ९३ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको निर्यात भएको छ । सूर्यमुखी तेलको निर्यातबाट करिब ११ अर्ब ३३ करोड रुपैयाँबराबरको आम्दानी भएको छ । हातले गाँसिएका ऊन वा पशुजन्य रेशा प्रयोग गरिएका कार्पेटहरू तेस्रो सबैभन्दा ठुलो निर्यात वस्तु बनेका छन् । कार्पेट निर्यात गरी करिब नौ अर्ब ७८ करोड रुपैयाँ आम्दानी भएको छ ।

ठुलो इलायची (अलैँची)को निर्यातबाट सात अर्ब १९ लाख रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन भएको छ । फलाम–इस्पातको रोल गरिएको उत्पादन विशेष गरी एल्युमिनियम–जिंकको लेप गरिएका वस्तुको निर्यातबाट पाँच अर्ब १३ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । जुट तथा यस्तै प्रकृतिका फाइबरबाट बनेका कपडाको निर्यातबाट पाँच अर्ब १० करोड रुपैयाँ आम्दानी भएको छ । पाल्तु जनावरको खाना निर्यातबाट तीन अर्ब ९९ करोड रुपैयाँको आम्दानी भएको छ । चियाको निर्यातबाट करिब तीन अर्ब ८७ करोड रुपैयाँको विदेशी मुद्रा आर्जन भएको छ ।

जहाँबाट हुन्छ १० अर्बभन्दा बढीको आयात
नेपालले ११ मुलुकबाट १० अर्ब रुपैयाँभन्दा बढी आयात गरेको देखिएको छ । नेपालको सबैभन्दा ठुलो व्यापार साझेदार भारत छ । यो देशबाट नौ खर्ब ७७ अर्ब रुपैयाँबराबरको वस्तु आयात गरिएको छ । भारतमा नेपालले दुई खर्ब रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । व्यापार घाटा अत्यधिक सात खर्ब ७६ अर्ब रुपैयाँबराबरको छ । चीनसँगको व्यापार घाटा पनि चर्को देखिएको छ । तीन खर्ब १४ अर्ब रुपैयाँबराबरको आयात भएको छ भने निर्यात मात्र २४ लाख रुपैयाँमा सीमित छ । चीनसँगको व्यापार घाटा तीन खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, ब्राजिललगायत मुलुकसँग पनि नेपालको व्यापार घाटा व्यापक छ । अर्जेन्टिनाबाट ८६ अर्ब रुपैयाँभन्दा बढीको आयात हुँदा निर्यात मात्र ३३ लाख ५५ हजार रुपैयाँबराबरको भएको छ । यस्तै, युक्रेनबाट २४ अर्ब रुपैयाँको वस्तु आयात गरिएको छ, तर निर्यात ६६ लाख २९ हजार रुपैयाँबराबरको मात्र छ ।

संयुक्त अरब इमिरेट्ससँग पनि व्यापार घाटा २२ अर्ब रुपैयाँभन्दा बढीको छ । नेपालले युएईबाट २४ अर्ब रुपैयाँबराबरको वस्तु आयात गर्दा निर्यात दुई अर्ब ६२ करोड रुपैयाँबराबरको मात्र भएको छ । अमेरिकाबाट २३ अर्ब ९३ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ भने निर्यात १६ अर्ब ३१ करोड रुपैयाँबराबरको छ । अमेरिकासँग नेपालको व्यापार घाटा सात अर्ब ६२ करोड रुपैयाँ छ । अस्ट्रेलियासँगको व्यापारमा १८ अर्ब रुपैयाँको आयात भएकोमा एक अर्ब ६१ करोड रुपैयाँको निर्यात भएको छ । त्यसैगरी थाइल्यान्ड, इन्डोनेसिया र मलेसियाबाट नेपालले १० अर्बभन्दा बढीको आयात गरेको छ ।