
माओवादीको विरोध हुँदासम्म रक्षात्मक देखिएका गृहमन्त्री रमेश लेखक शुक्रबार संसदमा नयाँ ऊर्जासाथ प्रस्तुत भएका छन् । भिजिट भिसाको नाममा भइरहेको संस्थागत मानव तस्करीको गम्भीर आरोप भए पनि माओवादीको समर्थनपछि आत्मविश्वासी देखिएका लेखकले उजुरीदातामाथि कारबाहीको चेतावनीसमेत दिए । शालीन र सकेसम्म सानो स्वर बोल्ने गृहमन्त्री लेखक शुक्रबार ‘अलग्गै रूप र शैली’मा प्रस्तुत भए ।
निकटहरूका अनुसार संसदमा माओवादीसहित विपक्षी दलहरू एकजुट भएर अवरोध र कठोर विरोध गरेपछि हतोत्साहित भएका लेखक राजीनामा दिने मनस्थितिमा पुगेका थिए । आफ्नै सचिवालय मुछिएपछि मन्त्री लेखकलाई नैतिक रूपमा समेत अप्ठ्यारो परेको थियो । अवरोधको प्रारम्भदेखि नै संसदमा बोल्न खोजेका लेखकले १४ जेठमा संसद् भवनकै ल्होत्से हलमा पत्रकार सम्मेलन गरेर प्रस्टीकरण दिएका थिए ।
त्यतिवेला उनको हाउभाउ र प्रस्तुति असाध्यै निराशाजनक थियो । तर, शुक्रबार लेखकमा यो तहको आत्मविश्वास थियो कि रास्वपा र राप्रपा कुनै शक्ति नभएको हिसाबले प्रस्तुत भए । प्रश्नहरूको दबाबबाट मुक्त भएको झल्को उनको अनुहारमा देखिन्थ्यो । माओवादी लचक हुँदै सँगै आइदिएपछि उनको चिन्ता हट्यो, पूर्ण आत्मविश्वासका साथ उनी सक्रिय देखिएका छन् ।