
गत १५ चैतमा राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनामा काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा पठाउने आदेश गरेको छ ।
बिहीबार मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित सातजनालाई पुर्पक्षमा पठाउने र ३२ जनालाई जमानतमा छाड्ने आदेश गरेको हो । घटनामा ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा पुर्पक्ष पठाउने आदेश गरेको हो । राजावादी आन्दोलनका नेता तथा अधिवक्ता स्वागत नेपालले क्यान्सर अस्पतालमा उपचार गराउने गरी प्रसाईंलाई पुर्पक्षमा पठाउने आदेश गरेको बताए ।
उनीसहित सरोज गौतम, गोकर्ण शाही, सुशील बराल, केशव बस्नेत, कुमार तामाङ र दण्डपाणि रेग्मीलाई थुनामा राख्ने आदेश भएको छ । अन्य ३२ जना धरौटीमा छुटेका छन् ।
जिल्लाको आदेश बदर गराउन उच्च अदालत जाने अधिवक्ता नेपालले बताए । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको हकमा भने उनीहरू अदालतमा उपस्थित भएपछि मात्र आदेश हुने भएको छ । हाजिरी जमानीमा छुटेका उनीहरू अहिले फरार छन् ।