
माझघरे माइला बा
तिमीलाई अनौठो लाग्दै होला
यो गणतन्त्रको रमिता देखेर
अनौठो नमान माइला बा
यो अलि बेग्लै खाले गणतन्त्र हो ।
यो गणतन्त्र वेला
चोरहरूको सभाले साधुहरूलाई,
समाज बहिस्कार गरेको वेला हो ।
यो गणतन्त्र वेला
भ्रष्टहरूको कानुनले स्वच्छहरूलाई
प्रवेश निषेध घोषणा गरेको वेला हो ।
यो गणतन्त्र वेला
हत्याराहरूले
सुरक्षाको ठेक्का लिएको वेला हो ।
यो गणतन्त्र वेला
दलालहरूले देश चलाएको वेला
र देशभक्तहरूले हारेको वेला हो ।
माझघरे माइला बा ।
भोलि बिहान देश राजनीतिको फोहोरले
गणतन्त्रको ट्रकमा चढ्न अस्वीकार गर्न सक्छ
र भन्न सक्छ–
देशलाई नै लैजाऊ उठाएर
डम्पिङ साइटमा मिल्काइदेऊ,
तर फोहोर डेग चल्नेछैन ।
पर्सि बिहान माइला बा
काले अनुहारको मान्छे आएर
भन्न सक्छ हामीलाई –
देश अब हामीले लिजमा लिएका छौँ
तिमीहरूलाई देश छोड्ने आदेश छ
यो गणतन्त्रको वेला हो
माझघरे माइला बा
रुखो रुखमा मुन्तला फलेन भनेर नरिसाऊ
माइला बा
हामीले रोपेको रुख मुन्तलाको थियो,
तर रुखो रहेछ
माझघरे माइला बा
यो गणतन्त्रको वेला हो ।