
१९९० को भूकम्पमा भत्किएको पाटन मंगलबजारस्थित भाइदेग मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भारत बनारसस्थित काशी विश्वनाथ मन्दिरसँग समेत इतिहास जोडिएको यो मन्दिर पुनर्निर्माण सुरु भएको झन्डै ११ वर्षपछि पुरानै अवस्थामा फर्कन लागेको हो । भूकम्पमा ढलेको समयको हिसाबले यो मन्दिर ९२ वर्षको अन्तरालपछि पुरानै अवस्थामा पुग्दै छ ।
ललितपुर महानगरपालिकाका अनुसार काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी)को प्राविधिक सहयोगमा सम्पदा संरक्षण समूहले मन्दिर पुनर्निर्माण गरेको हो । मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिका, नर्वेजियन सरकार, पुरातत्व विभागलगायतले रकम छुट्याएका थिए । नेपाल इन्भेस्टमेन्ट बैंकले पनि केही रकम मन्दिर पुनर्निर्माणका लागि दिएको थियो ।
महानगरका प्रवक्ता राजु महर्जनले लामो समयपछि भाइदेगले पुरानै रूप पाउन लागेको बताए । ‘यो मन्दिर पुनर्निर्माणका लागि निकै रकम खर्च भयो, समय पनि लाग्यो, प्राविधिक कारणले धेरै ढिलो पनि भयो,’ उनले भने, ‘पाटन दरबार क्षेत्रमा रहेको यो मन्दिर पुनर्निर्माण अत्यन्तै जरुरी थियो ।’ उनका अनुसार आगामी असोजसम्म मन्दिर पुनर्निर्माण कार्य सकिँदै छ । हाल झिँगटीले छानो छाउने काम जारी छ ।
तीनतले भाइदेग मन्दिर पाटन दरबार क्षेत्रको दक्षिणमा अवस्थित फरक शैलीको मन्दिर हो । यो मन्दिर पुनर्निर्माणका लागि ०७२ अघि नै काम थालिएको थियो । त्यतिवेला तीन करोड लागतमा मन्दिर पुनर्निर्माणको काम सुरु भए पनि हालसम्म झन्डै नौ करोड रुपैयाँ खर्च भइसकेको छ । काम गर्दा ढिलो भएको र ०७२ को भूकम्पले थप क्षति गरेपछि लागत बढेको काठमाडौं उपत्यका सम्पदा कोष (केभिपिटी)ले जनाएको छ । केभिपिटीका अनुसार काठ र ज्याला महँगो भएपछि लागत स्टिमेट पनि बढेको हो ।
यसअघि अन्य रकम जुटे पनि मन्दिरको छाना र टुँडालको काममा आर्थिक अभाव भएको थियो । पछिल्लो समय महानगरपालिकाले सहयोग गरेपछि थप सहज भएको थियो । केभिपिटीका अनुसार भाइदेग मन्दिर काष्ठकला, स्टा र माटोलगायत सामग्रीको प्रयोगबाट निर्माण गरिएको छ । सम्पदामा अन्य कंक्रिट वस्तु भने मिसाइएको छैन । यो मन्दिर पाटनका तत्कालीन राजा श्रीनिवास मल्लका पालामा निर्माण भएको मानिन्छ ।
हरिराम जोशी, संस्कृतिविद्
यो निकै महत्वपूर्ण मन्दिर हो, भारतमा मुगल शासकले बनारसस्थित काशी विश्वनाथ मन्दिर ध्वस्त पारेपछि चौतारिया भैयाले त्यहाँका देवतालाई पाटनमा ल्याएर मन्दिर स्थापना गरेका थिए, बल्ल पुनर्निर्माण सकिँदै रहेछ । ०७२ को भूकम्पले क्षति पारेका सम्पदा पुनर्निर्माण भए पनि त्योभन्दा अघिको भूकम्पले क्षति पारेको मन्दिर निर्माणमा ढिलोचाहिँ भएको हो ।