
विगतका वर्षमा घरमै थन्किएर बस्ने रैथाने अन्नबाली बिक्री हुन थालेपछि जुम्लाका किसान आत्मनिर्भर हुन थालेका छन् । वस्तु रुपैयाँमा विनिमय हुन थालेपछि आम्दानीसमेत बढेको छ । विगतमा रुपैयाँ नभई सहकारीमा नियमित बचत हुँदैनथ्यो । ऋण गरेर बचत गर्नुपर्ने, किस्ता तिर्नुपर्ने अवस्था थियो । तर, चन्दननाथ सहकारीले रैथाने उत्पादनलाई रुपैयाँमा विनिमय गर्न थालेपछि सहज भएको छ । सहकारी संस्थाले ०७४ फागुन महिनादेखि मिनी मार्केटमार्फत रैथाने वस्तुको लेबलिङ र प्याकेजिङ गरेर बिक्री गर्न थालेको हो ।
०६४ मै अर्गानिक जिल्ला घोषणापछि जुम्लाको उत्पादनलाई रुचाउन थालिएको छ । मिनी मार्केट सञ्चालन भएयता १० करोडभन्दा बढीको अर्गानिक खाद्यवस्तु बिक्री भएको चन्दननाथ सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेले बताए । उनले भने, ‘सहकारीमा २० हजारभन्दा बढी सदस्य छन् । मिनी मार्केटमा सहकारी सदस्यको उत्पादन खरिद गर्छौँ । उनीहरूले चाहेमा हातमै पैसा लिन्छन् । आवश्यक नपरे खरिद गरेको वस्तुको रुपैयाँ सदस्यको खातामा बचत हुन्छ । यसरी उत्पादनले बजार र मूल्य पाएपछि सहकारीका सदस्यहरू कृषिमा हौसिएका छन् । अहिले अन्य किसान पनि आफैँ वस्तु बिक्री गर्न मिनि मार्केटमा आउँछन् । तर, मागअनुसार अझै पुर्याउन सकिएको छैन ।’
मिनी मार्केटबाट प्राप्त विवरणअनुसार ०७६ यताका सात वर्षमा १० करोडबराबरको अर्गानिक वस्तुको बिक्री तथा निर्यात भएको छ । जसमा सबैभन्दा बढी एक करोड ७५ लाख ५० हजार रुपैयाँको आठ हजार मेट्रिकटन सिमी, एक करोड २६ लाखबराबरको दाँते ओखर र ८१ लाखको मार्सी चामल बिक्री भएको छ ।
त्यस्तै, ७२ लाखको स्याउको चाना, ५७ लाख ६० हजारको जिम्बो, २१ लाख ६० हजारको टिमुर, ६० लाख १० हजारको चिनुको चामल, ५७ लाख ५० हजारको कागुनो, ५४ लाखको फापरको पिठो बिक्री भएको छ । साथै, १३ लाख ५० हजारको कोदोको पिठो, १६ लाख २० हजारको अर्गानिक जडीबुटी चिया, १३ लाख ५० हजारको जौको पिठो, १८ लाख ९० हजारको सेतो भट्ट, २४ लाख ५० हजारको गहत, १७ लाख ५० हजारको गुराँस, एक लाख १२ हजारको कला बिक्री भएको मिनी मार्केटले जनाएको छ ।
कृषि विकास कार्यालयका अनुसार ०८१/८२ मा मात्रै ३६ लाख ४८ हजारको ६ सय आठ मेट्रिकटन जुम्ली भेडाबाट बनेको राडीपाखी बिक्री भएको छ । त्यस्तै, तीन सय ८० मेट्रिकटन हिमाली भेडाको ऊनको कोटेपाखो बिक्रीबाट ६८ लाख ४० हजार रुपैयाँ जुम्लामा भित्रिएको छ । भने १२ लाख ३६ हजारको खरायोको टोपी, १३ लाख २० हजारको खसीको मासुसमेत बिक्री भएको छ ।
यसरी जुम्लाबाट बर्सेनि करोडौँको अर्गानिक वस्तु बिक्री भए पनि सरकारले रैथाने बालीको उत्पादन बढाउन ठोस नीति र कार्यक्रम ल्याउन सकेको छैन । प्राकृतिक प्रकोपबाट पीडित किसानले राहत नपाउने, स्याउको सिजनमा बजार मूल्य नपाउने, रोग–किरा लागेमा समयमै उपचार नपाउनेजस्ता समस्या किसानले भोगिरहेको सहकारीका व्यवस्थापक पाण्डे बताउँछन् । हाल सहकारीमार्फत कालीकोट, नाग्म बजार, प्रदेश राजधानी सुर्खेत, संघीय राजधानी काठमाडौंलगायतका स्थानमा समेत अर्गानिक मिनी मार्केट सञ्चालन भएको छ ।