
मधेश प्रदेशले यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत छात्र क्रिकेटको उपाधि बिहीबार जितेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको फाइनलमा मधेशले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्यो । लुम्बिनीले दिएको ५१ रनको लक्ष्य मधेशले ९.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । मधेशका लागि ताहिर अन्सारीले १३ रन र राहुल पासवानले १२ रन जोडे । बलिङमा लुम्बिनीका लागि सुरज यादव र कप्तान सन्दीप थापाले समान दुई विकेट लिए ।
पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १८.५ ओभरमा अलआउट हुँदै ५१ रन बनाएको थियो । लुम्बिनीका लागि आरोनजंग गिरीले अविजित २९ रन र जोन ओलीले ११ रन जोडे । मधेशका लागि कृष्ण महतोले सर्वाधिक तीन विकेट लिए । खिलराज सर्राफ र कप्तान कमलेश दासले समान दुई विकेट हात पारे । यू–१४ राष्ट्रिय खेलकुदअन्तर्गत छात्र क्रिकेट अन्तिम प्रतियोगिता हो ।