
जिल्लाको धुलिखेल नगरपालिका– ११ बाँझोखेतमा खैरो हिरोइन (ब्राउनसुगर)सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बिपि राजमार्गमा आवतजावत गर्ने सवारीसाधन चेकजाँच गर्ने क्रममा खैरो हिरोइनसहित युवा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार धुलिखेल नगरपालिका– ११, बाँझोखेतस्थित बिपी राजमार्ग सडकखण्डमा विशेष सुराकीको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको संयुक्त प्रहरी टोलीले सो सडकखण्डमा आवतजावत गर्ने सवारीसाधन चेकजाँच गर्ने क्रममा भकुन्डेबेँसीबाट धुलिखेलतर्फ आउँदै गरेको मे.१च ३५९७ नम्बरको स्कार्पियो गाडी चेकजाँच गर्ने क्रममा खैरो हिरोइन फेला परेको थियो ।
इलामकाे रोङ गाउँपालिका– ३ का ३२ वर्षीय सुमन राई र सोही गाडीका चालक जिल्ला इलाम माई नगरपालिका– १ आँपटारीका २७ वर्षीय तेजकुमार बराइलीलाई पक्राउ गरेको हो ।
खानतलासी गर्ने क्रममा उनीहरूमध्ये सुमन राईको साथमा रहेको निलो झोलाभित्र निलो रङको जिन्स पाइन्ट रहेको र उक्त पाइन्टको अगाडिको दाहिनेतर्फको खल्तीभित्र कागजको खोलभित्र कालो रङको प्लास्टिकभित्र लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध खैरो हिरोइन ब्राउनसुगर नाै ग्राम १७० मिलिग्राम प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उनीहरू सवार स्कार्पियो गाडी पनि नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।