
भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने मानव तस्करी र ठगीको अनुसन्धान अब काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि गर्ने भएको छ । विमानस्थलका कर्मचारीले अख्तियारको दुरुपयोगसँगै गिरोहसँग मिलेर संगठित तवरले मानव तस्करी नै गर्ने गरेको विवरण फेला पारेपछि घटनाको अनुसन्धान गर्न अख्तियारले नेपाल प्रहरीको प्रधान कार्यालयलाई पत्र पठाएको थियो । प्रधान कार्यालयले उक्त पत्र अपराध अनुसन्धान कार्यालयलाई पठाएको हो ।
गत ७ जेठमा अख्तियारले विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित कविता पौडेल, बालकृष्ण खड्का र भरत सुवेदीलाई पक्राउ गरेको थियो । पक्राउपछि उनीहरूलाई तारेखमा छाडेका थिए । उनीहरूविरुद्ध अख्तियारले अहिले थप अनुसन्धान गरिरहेको छ । भिजिट भिसामा विदेश पठाइदिने आश्वासनमा ठगिएका तीन पीडितहरूले पनि मंगलबार अख्तियारमा उजुरी दिएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले विमानस्थलको भिजिट भिसासम्बन्धी अनुसन्धान गर्न भन्दै अख्तियारले पठाएको पत्र आइपुगेको संकेत गरे । ‘भिजिट भिसासम्बन्धी अनुसन्धान गर्न भन्दै अख्तियारले पठाएको पत्र हामीकहाँ आएको हुन पनि सक्छ । सबै कुरा मलाई थाहा हुँदैन । कहिलेकाहीँ हाम्रो सम्बन्धित पिलरमा छाडिएको पनि हुन सक्छ । यदि हामीकहाँ पत्र आएकै हो भने प्रक्रिया अघि बढाइहाल्छौँ ।’
अख्तियारको टोलीले पक्राउ गरेपछि भट्टराईसहित चारैजनाको मोबाइल फोन बरामद गरेको थियो । त्यसलगत्तै परीक्षणका लागि फरेन्सिक ल्याब पठाएको थियो । ल्याबबाट प्राप्त विवरण विश्लेषणपछि घटना संगठित तबरले खुलेको थियो । त्यसकारण घटनाको अनुसन्धान प्रहरीले पनि गर्नुपर्ने निष्कर्षमा पुगेको अख्तियारले नेपाल प्रहरीलाई पत्राचार गरेको थियो ।
‘विमानस्थलमा संगठित तवरले भिजिट भिसाका नाममा मानव तस्करी हुने गरेको उहाँहरूकै मोबाइल फोन विश्लेषणपछि देखियो । अख्तियारले अधिकारको दुरुपयोग भएको घटनामा मात्रै अनुसन्धान गर्ने हो । घटनामा प्रहरीको तर्फबाट पनि अनुसन्धान आवश्यक रहेको महसुस भएपछि पत्राचार भएको छ । त्यसो हुँदा अब प्रहरीले घटनाको मिहिन ढंगले अनुसन्धान गर्नेछ,’ प्रहरी स्रोतले भन्यो ।
भिजिट भिसामा हुने गरेको मानव तस्करीको जालो यसअघि पनि अपराध अनुसन्धान कार्यालयकै टोलीले तोडेको थियो । १८ मंसिर ०८० मा विमानस्थलस्थित अध्यागमनका अधिकृत नरवीर खड्कालाई प्रहरीले घुस लिँदालिँदै पक्राउ गरेको थियो । त्यतिवेला दुबईमा मात्रै दैनिक २५० जनाको भिजिट भिसाको आवरणमा तस्करी हुने गरेको अनुसन्धानबाट खुलिसकेको छ । त्यसबापत विमानस्थलका कर्मचारीले दैनिक कम्तीमा ३५ लाख रुपैयाँ बुझ्थे । त्यसलगत्तै, रोकिएको मानव तस्करी पछिल्लो वर्ष पुनः मौलाएको थियो । पछिल्ला दिन भने दैनिक ३०० जना भिजिट भिसाका नाममा तस्करी हुने गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । उनीहरूबाट विमानस्थलका कर्मचारीले दैनिक ५० लाख बुझ्ने गरेको अनुसन्धानमा खुलेको छ ।
मानव तस्करी रोक्न प्रहरीले विमानस्थलमा दुईपटक मातहतको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोली खटाएको थियो । तर, अध्यागनका कर्मचारीको चर्को विरोधपछि ब्युरोको टोली फिर्ता भएको थियो ।
प्रहरीका अनुसार दुबईमा मात्रै महिला र पुरुष गरी दैनिक कम्तीमा २५० जनाको तस्करी हुँदै आएको छ । बाँकी १०० देखि १५० सम्मको मानव तस्करी भने अन्य मुलुकका लागि हुँदै आएको छ । यसबापत विमानस्थलका कर्मचारीले प्रतिव्यक्ति १५ हजार असुल्छन् । यस आधारमा प्रत्येक दिन विमानस्थलका कर्मचारीले मानव तस्करीमा सेटिङ मिलाएबापत कम्तीमा ४५ लाखदेखि ५० लाखसम्म असुल्छन् ।