
पश्चिम भारतको गुजरातमा चालक दलका सदस्यसहित २४२ जना सवार एयर इन्डियाको विमान दुर्घटना भएको छ । अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहीबार दिउँसो १:३८ बजे बेलायतको लन्डन ग्याटविकका लागि उडान भरेको बोइङ–७८७–८ ड्रिमलाइनर विमान दुई मिनेटमै मेघनीनगर आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
विमानको भग्नावशेषबाट रातिसम्म २०४ जनाको शव निकालिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमानबाट उछिट्टिएका एक यात्रुको भने जीवितै उद्धार भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतीय मूलका बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेश दुर्घटनामा बाँचेको समाचार फोटोसहित प्रकाशित गरेको छ ।
दुर्घटनामा विमान टुक्रा–टुक्रा भएको र तत्कालै ठुलो आगोको लप्का देखिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । उड्नेबित्तिकै उचाइ लिन नसक्दा विमान उडेको दुई मिनेटमै आकाशबाट जमिनतर्फ खस्न थालेको र नजिकैको आवासीय चिकित्सकहरूको एउटा अवासीय भवनमा बजारिएको थियो । जहाज बजारिएको थाहा पाएपछि भवनमा रहेका एक चिकित्सकले दोस्रो तलाबाटै हामफालेर ज्यान जोगाएका थिए ।
विमान बजारिँदा भवनमा ठूलो विस्फोटको आवाज सुनिएको थियो । विस्फोटमा होस्टेलका पाँच मेडिलक विद्यार्थीको समेत मृत्यु भएको र केही घाइते भएका भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ ।
विमानमा चालक दलका सदस्यसहित २४२ यात्रु रहेको र तीमध्ये १६९ भारतीय, ५३ ब्रिटिस नागरिक, सात पोर्चुगलका, एक क्यानडेली नागरिक थिए । विमानमा चालक दलका सदस्य १२ जना थिए । मृत्यु हुनेमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानीसमेत छन् । दुर्घटनाग्रस्त क्षेत्र विमानस्थलबाट करिब १.७ किलोमिटरको दूरीमा पर्छ ।
भारतीय नागरिक उड्डयन कार्यालयको मौसम पूर्वानुमान शाखाका अनुसार दुर्घटनाको समयमा मौसम एकदम सफा थियो । हावाहुरीको कुनै सम्भावना नभएको र भिजिबिलिटी ६ किलोमिटरसम्म रहेको समाचार आएका छन् । यसका बाबजुद बोइङ ७८७–८ उडेको दुई मिनेटमै कसरी खस्यो भन्नेबारे धेरैको चासो बढेको छ । विमानमा प्राविधिक समस्या देखिएको हुन सक्ने अनुमान गरिएको छ ।
जहाजले उड्नेबित्तिकै एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर मे डे कल (आपत्कालीन सूचना ) दिएको थियो । लगत्तै कन्ट्रोल रुमसँग जहाजको सम्पर्क विच्छेद भयो । एयर ट्राफिक कन्ट्रोलले विमानमा देखिएको समस्याबारे सोध्दा चालकले कुनै जवाफ नफर्काएको समाचारहरूमा उल्लेख छ । पाइलटहरू क्याप्टेन सुमित सभरवाल र प्रथम अधिकृत क्लाइभ कुन्दरले उडान भरेका थिए । सभरवालसँग आठ हजार दुई सय घण्टा र कुन्दरसँग एक हजार एक सय घण्टा उडान अनुभव थियो ।
विश्वासकुमार जो उछिट्टिएर बाँचे
यति ठूलो दुर्घटनामा एक यात्रु भने बाँचेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सिट नम्बर ११–ए का यात्रु भारतीय मूलका बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेशको जीवितै उद्धार भएको हिन्दुस्तान टाइम्सले पुष्टि गरेको छ । अहमदाबाद सिभल अस्पतालमा उपचारार्थ उनको अवस्था पनि खतरामुक्त रहेको समाचारमा उल्लेख छ।
हिन्दुस्तान टाइम्सका अनुसार विश्वास परिवार भेट्न केही दिनका लागि भारत आएका थिए । ‘टेकअफ भएको ३० सेकेन्डमै ठुलो आवाज आयो । अनि जहाज दुर्घटना भयो । एकैछिनमा सब तहसनहस भयो,’ उनले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा भनेका छन्, ‘जब म उठेँ, मेरो वरिपरि शवहरू छरिएका थिए । म डराएँ । उठेर दौडिएँ । कसैले मलाई समातेर एम्बुलेन्समा राखेर अस्पताल पुर्यायो ।’
बोइङलाई झट्का
एयर इन्डियाको बोइङ–७८७–८ ड्रिमलाइनर विमान दुर्घटनापछि अमेरिकी जहाज निर्माण कम्पनी बोइङ फेरि आलोचित बनेको छ । बोइङ जहाजको सुरक्षामाथि निरन्तर प्रश्न तेर्सिरहेका वेला ड्रिमलाइनर जहाज यति ठूलो दुर्घटनामा परेको हो । सन् २०२१ देखि २०२३ को बिचमा बोइङको विमानको कार्यक्रमले ‘डेलिभरी सस्पेन्सन’लगायत थुप्रै असफलता भोगेको थियो ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले बोइङलाई एक महिनामा सातवटा विमान बनाउनका लागि आफ्नो उत्पादन गति बढाउन अनुमति दिएको थियो । बिक्रीको मामिलामा बोइङले व्यापक कठिनाइको सामना गरिरहेको बताइन्छ ।
यसैबिच, एयर इन्डियाले दुर्घटनापछि सामाजिक सञ्जालमा आफ्नो प्रोफाइल ब्ल्याकआउट गरेको छ । अमेरिकी उड्डयन सुरक्षा सल्लाहकार तथा वासिङटन डिसीस्थित सेफ्टी अपरेटिङ सिस्टमका सिइओ जोन एम कोक्सले एयर इन्डियाको विमान उडानका लागि राम्ररी व्यवस्थित गरिएको थियो कि थिएन भन्नेबारे अनुसन्धान हुनुपर्ने बताए ।