
नवलपुरमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै नवलपुरका तराई क्षेत्रका ५ वटा पालिकाले विद्यालय तथा शैक्षिक संस्थाहरुमा गर्मी विदा दिएको छ । नवलपुरमा अहिले न्यूनतम तापक्रम २९ डिग्री र अधिकतम् तापक्रम ३९ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ ।
गर्मी बढेसँगै बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै पालिकाहरुले गर्मीमा विद्यालय तथा शैक्षिक संस्थामा विदा दिएका हुन् । नवलपुरको गैडाकोट नगरपालिकाले बुधबारदेखि तीन दिन गर्मी विदा दिएको छ भने कावासोती नगरपालिकाले बुधबार सूचना जारी गरी बिहीबार र शुक्रबार विद्यालयमा गर्मी विदा दिएको छ ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाले पनि भोलि र पर्सी विद्यालयमा गर्मी विदा दिएको छ। विनयी त्रिवेणी गाउँपालिकाले बुधबार सूचना जारी गरी विद्यालयमा गर्मी विदा दिएको हो । त्यसैगरी मध्यविन्दु र देवचुली नगरपालिकाले पनि बुधबारै सूचना जारी गरी विद्यालयहरुको अनुकुलतामा विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।