
केही दिनदेखि बढेको अत्यधिक गर्मीले गर्दा विराटनगर महानगरपालिकाले मातहतका सामुदायिक विद्यालयहरू तीन दिनका लागि बन्द गराएको छ । अत्यधिक गर्मीले गर्दा विद्यार्थीको दैनिक पठनपाठन प्रभावित भएको र स्वास्थ्यमा समेत असर पुग्ने जोखिम बढेको भन्दै विराटनगर महानगरपालिकाले बुधबारदेखि शुक्रारसम्मका लागि मातहतका सबै सामुदायिक विद्यालय बन्द गराएको हो ।
पानी परेर पठनपाठनका लागि अनुकूल अवस्था सिर्जना भए मात्र विद्यालयहरू पहिलेझैँ दैनिक रूपमा सञ्चालन हुने विराटनगर महानगर शिक्षा शाखाका प्रमुख रामप्रसाद ढुंगेलले बताए। केही दिनदेखि बढेको अत्यधिक गर्मीले गर्दा झापा, सुनसरी र मोरङका पालिकाहरूले पनि धमाधम विद्यालय बन्द गराउन थालेका छन् । सुनससीको इटहरी, इनरुवासहित झापा, मोरङ र सुनसरीको दक्षिण क्षेत्रका पालिकाहरूले गर्मीका कारण पठनपाठन असहज भएको भन्दै विद्यालय बन्द गराउन थालेका थालेका छन् ।
केही दिनेदेखि कोशी प्रदेशको राजधानी विराटनगरसहित तराईका जिल्लाहरू मोरङ, झापा र सुनसरीको दक्षिण क्षेत्रमा ह्वात्तै बढेको गर्मीले गर्दा मानिसहरूको दैनिक जनजीवन असहज बन्दै गएको छ । आजभाेलि यी जिल्लामा अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । समयअगावै कोशी प्रदेशमा मनसुन भित्रिए पनि सक्रिय नहुँदा दिउँसो टन्टलापुर घाम लाग्ने र राति पनि गर्मी हुने गरेको छ। गर्मीले गर्दा दिउँसो मानिसहरू बजारमा हिँडडुल गर्न छाडेका छन् ।