
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक स्थानीय तहले असार १० भित्र नीति तथा कार्यक्रम र असार १५ भित्र बजेट प्रस्तुत गरिसक्नुपर्छ । तर, काठमाडौं महानगरपालिकामा मेयर र अन्य जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतबिचको तनावका कारण आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारी सुरु हुन सकेको छैन ।
मेयर बालेन्द्र शाह (बालेन) र वडाध्यक्षहरूबिच बढ्दो द्वन्द्वले नीति तथा कार्यक्रम र बजेट प्रक्रियामा समेत गम्भीर असर पार्ने संकेत देखिएको छ । अहिले उपप्रमुखसहित सबैजसो वडाध्यक्ष मेयर बालेन्द्र शाहविरुद्ध एकजुट छन् । उनीहरूबिचको मनमुटावको असर महानगरमा देखा परेको छ ।
नीति तथा कार्यक्रम र बजेट तयारीका लागि महानगरपालिकामा बोर्ड बैठक बसेको छैन । यसो त पाँच महिनादेखि बोर्ड बैठक नबस्दा महानगरको योजनामा समेत असर परेको छ । बैठक नबस्दा मेयर शाहसँग उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरू रुष्ट छन् ।
नीति तथा कार्यक्रम र बजेटबारे छलफल भैनसकेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । ‘आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको छैन । बोर्ड बैठक बस्न सकेको छैन । मेयरसाप आफैँले बनाउनुभएको भए थाहा भएन, तर विषयगत समिति र अन्य विभागहरूमा समन्वय भएको छैन,’ उनले भने, ‘नीति तथा कार्यक्रम र बजेट मेयरसापको भूमिकाविना सम्भव हुँदैन वा उहाँले अनुमति दिनुपर्यो ।’
मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले भने नगरसभा र बोर्ड बैठक बस्नेबारे पूर्वतयारी भइरहेको बताए । ‘अब छिट्टै नगरसभा बस्ने अवस्था छ । नीति तथा कार्यक्रमको तयारी पनि भइरहेको छ,’ उनले भने, ‘संस्थागत हितको विषयमा सबै एकजुट हुनुपर्ने हो । तर, केही व्यक्तिले गर्दा समस्या निम्तिएको छ । उहाँहरू क्षेत्राधिकारभन्दा बाहिर गएकाले समस्या भएको हो ।’
बोर्ड बैठक राख्न अनुरोध गरे पनि मेयर शाहले बैठकमा आफू एक्लिने भयका कारण आनाकानी गरेको कतिपय वडाध्यक्षहरूको दाबी छ । अर्कोतर्फ काठमाडौं भ्युटावर निर्माणमा विवाद भएपछि मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबिच पनि सम्बन्ध असहज छ । बोर्ड बैठक, नीति तथा कार्यक्रम र बजेट बैठकमा मेयर र प्रमुख प्रशासकीय अधिकृतसँगै बस्नुपर्ने हुन्छ ।
यसअघि निलम्बनमा परेका गुरागाईंलाई मेयरबाहेक अन्य जनप्रतिनिधि र कर्मचारीले कार्यालयमा जबर्जस्ती भित्र्याएका थिए । सोही विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई समेत कारबाही गरेका छन् । यसले मेयर शाह प्रमुख प्रशासकीय अधिकृत, उपमेयर र जनप्रतिनिधिसँग रुष्ट छन् । मेयर शाहले अनियमिततामा जोडिएका व्यक्तिसँग आफूले काम गर्न नसक्ने बताउँदै आइरहेका छन् ।