
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार लस एन्जलसमा ड्युटीमा रहेका नौसेना र थप दुई हजार नेसनल गार्ड परिचालनको आदेश दिएका छन् । उनले आप्रवासी गिरफ्तारीको विरोधमा उत्रिएकाहरूले पहिलेभन्दा बढी ‘कडा चोट’ पाउने धम्कीसमेत दिएका छन् । ट्रम्पको सात सय सैन्य स्टाफ र हजारौँ नेसनल गार्डको असाधारण परिचालन दर्जनौँ आप्रवासी पक्राउपछि सुरु भएको सडक विरोधको चौथो दिनमा आएको हो ।
अवैध आप्रवासी काम गर्ने स्थानमा संघीय एजेन्टले छापा मारेपछि आइतबारदेखि लस एन्जलसको मुख्य सहरमा प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा केही स्थानमा सवारीसाधनमाथि तोडफोड र पसलमाथि लुटपाट भएको थियो । कानुन प्रवर्तनकारी निकायले प्रदर्शनकारीविरुद्ध अश्रुग्यास र रबर बुलेटले प्रयोग गरेका थिए । लस एन्जलसबाट करिब ५० किलोमिटर दक्षिण–पश्चिममा रहेको सहर सान्ता अनामा कानुन प्रवर्तनकारी निकायविरुद्ध प्रदर्शन उठेको छ । त्यहाँ पनि ‘आप्रवासन र भन्सार प्रवर्तन (आइसिई)’ एजेन्सीको विरुद्धमा नारा लगाउने प्रदर्शनकारीमाथि अश्रु ग्यास र स्टन ग्रेनेडहरू प्रहार गरिएको थियो । उता वासिंटनमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले प्रदर्शनकारीलाई व्यावसायिक आन्दोलनकारी र विद्रोही भएको आरोेप लगाए । सामाजिक सञ्जालमा उनले प्रदर्शनकारीले सैनिकहरूलाई थुकेको भन्दै यदि तिनीहरूले यसो गरिरहे भने म तपाईंलाई वाचा गर्छु कि तिनीहरूलाई पहिलेभन्दा कडा प्रहार गरिनेछ ।
ट्रम्पको सेना परिचालनको लस एन्जलसको स्थानीय सरकार र प्रदेश सरकारले विरोध जनाएको छ । लस एन्जलस सहरकी मेयर करेन रुस बासले ‘सहरको केही क्षेत्रमा भएको विरोधलाई सहरव्यापी अशान्तिको रूपमा देखाउने प्रयासको विरोध गरिन् । छिटपुट हिंसाका बाबजुद अधिकांश प्रदर्शन शान्तिपूर्ण रहेको उनले बताइन् ।
ट्रम्पविरुद्ध राज्य सरकारको मुद्दा
क्यालिफोर्निया राज्य सरकारले संघीय सरकारले आफूसँग परामर्श नगरी आफ्नो राज्यभित्र राज्यको नेसनल गार्ड तैनाथ गरेको भन्दै सोमबार मुद्दा दायर गरेको छ । सान फ्रान्सिस्कोको संघीय अदालतमा सोमबार दिउँसो दायर गरिएको २२ पृष्ठको मुद्दा लस एन्जलसमा प्रदर्शनकारीविरुद्ध ट्रम्प प्रशासनले एकतर्फी नेसनल गार्ड परिचालन गरेपछि आएको हो । यस कदमलाई क्यालिफोर्नियाको सरकारले ‘राज्यको अधिकार क्षेत्रमाथि असंवैधानिक हस्तक्षेप’ भनेको छ ।
‘विद्रोह’को समयमा मात्र राष्ट्रपतिले नेसनल गार्डलाई संघीय सेवामा बोलाउन सक्ने कानुनी व्यवस्था छ । तर, क्यालिफोर्निया सरकारले दायर गरेको मुद्दाले हाल लस एन्जलसको अवस्था विद्रोह नभएको जोड दिएको छ । ‘विगत तीन दिनको कुनै पनि बिन्दुमा विद्रोह वा राज्य विप्लव भएको छैन । यसअघि लस एन्जलस र अन्य प्रमुख सहरमा योभन्दा ठुला विरोध प्रदर्शन वा दंगा भएका थिए,’ मुद्दामा लेखिएको छ । आप्रवासन र भन्सार प्रवर्तनसम्बन्धी विषयमा भएको विरोध प्रदर्शनलाई विद्रोह भन्न नहुने मुद्दाले दाबी गरेको छ ।
त्यस्तै नेसनल गार्ड परिचालन गर्न उद्धृत गरेको कानुन ‘धारा १२४०६’ले स्पष्ट रूपमा राज्यको गभर्नरमार्फत त्यसको कार्यान्वयन हुनुपर्ने उल्लेख गरेको मुद्दामा उल्लेख छ । तर, राष्ट्रपति ट्रम्पले गभर्नर गेभिन न्युसमलाई ‘गैरकानुनी रूपमा बाइपास’ गरेको मुद्दामा भनिएको छ । मुद्दामा ट्रम्पको चार हजारभन्दा बढी राष्ट्रिय गार्ड सेनाको तैनाथीले राज्यको महŒवपूर्ण आपत्कालीन स्रोतमाथि क्षति पु¥याएको पनि आरोप लगाइएको छ । क्यालिफोर्नियाका डेमोक्रेटिक पार्टीबाट गभर्नर जितेका गेभिन न्युसम र ट्रम्पको सम्बन्ध पहिलेदेखि तिक्त देखिन्छ ।