
२००७ सालदेखि आजसम्म भएका विभिन्न राजनीतिक क्रान्ति, जनयुद्ध र जनआन्दोलनले सामन्तवादी अर्थतन्त्र भत्कायो, तर अर्थतन्त्रलाई गतिशील बनाउन सकेन । पुँजीवादको विकास नहुँदै हाम्रो अर्थतन्त्रमा नवउदारवादी दलाल र वित्तीय पुँजीवाद हाबी हुन पुग्यो । यो हाम्रो राजनीति र अर्थतन्त्रको मूल समस्या हो । यहीँनेर मार्क्सवादीहरूले बुझ्न जरुरी छ, हिजोको समाजलाई हामीले बुझ्यौँ र सामन्तवादलाई गणतन्त्रमा बदल्यौँ । अबको हाम्रो कार्यभार आजको समाजलाई बुझ्ने र त्यसलाई बदल्ने हो । हिजो पार्टी, कार्यदिशा, नेतृत्व र आन्दोलनप्रति ठुलो विश्वास थियो, जसले नेता र कार्यकर्तामा दृढ इच्छाशक्ति पैदा गथ्र्यो । परिवर्तनका लागि त्याग, तपस्या र बलिदानको भाव जन्माउँथ्यो । जनताको सेवा र श्रम गर्ने, जनतासँगै बस्ने र खाने स्थितिले हामी पूर्ण जननिर्भर थियौँ । सामन्त र दलालको सम्पत्ति कब्जा, कर, आर्थिक सहयोग, सामूहिक श्रम र खेतीबाट प्राप्त आम्दानी नै तत्कालीन पार्टी र आन्दोलनको आम्दानीको मुख्य स्रोत थियो । युद्धका सामग्री, स्वास्थ्योपचार, अध्ययन सामग्री, लत्ताकपडा र दैनिक आवश्यकताका सामग्री त्यही सीमित स्रोतबाटै पूर्ति गरिन्थ्यो । परिवर्तनको अपेक्षाबाहेक ठुला महत्वाकांक्षा थिएनन् । तर, आज हामी नयाँ परिस्थितिमा छौँ । देशमा गणतन्त्र आइसकेको छ । नेता, कार्यकर्ताको कार्यभार बदलिएको छ । आजको अवस्थामा सक्रिय नेता र कार्यकर्ता कसरी आत्मनिर्भर हुने भन्ने महत्वपूर्ण प्रश्न बन्न गएको छ । ‘क्रान्तिलाई दह्रोसँग पक्र र उत्पादन बढाऊ’ भन्ने माओको भनाइलाई आत्मसात् गर्दै राजनीति र उत्पादनलाई सँगै लैजान तथा देशमा समृद्धि, सुशासन र सामाजिक न्यायका लागि आत्मनिर्भर नेता र कर्यकर्ताको ठुलो पंक्ति निर्माण गर्न आबस्यक छ । त्यसका निम्न आधार अपनाउन सकिन्छ :
१. वैचारिक आधार : मार्क्सवाद विज्ञान हो । जब त्यो श्रमिक वर्गले ग्रहण गर्छ, तब त्यो भौतिक रूपमा परिणत हुन्छ । हिजो कठिनभन्दा कठिन अवस्थामा हामी झुकेनौँ त्याग, तपस्या, शौर्य र बलिदानको अवस्था पार गरेर नयाँ–नयाँ कीर्तिमान कायम गर्याैं, तर आज थोरै प्रलोभनले मान्छे झुक्छ, बिग्रन्छ किन ? त्यसैले नागरिक, नेता र कार्यकर्तालाई चेतनाबाट उठाउनुपर्छ । उत्पादनमा जोड्नुपर्छ । नेता र कार्यकर्ताको आत्मनिर्भरताको पहिलो सर्त भनेकै वैचारिक रूपले लेस हुनु हो । निरन्तर क्रान्ति भनेको विचार र व्यवहारमा निरन्तर रूपमा परिष्कृत हुनु हो । हिजोको अभ्यासले पुग्दैन, निरन्तर ‘टेस्ट पास’ र ‘अपडेट’ हुनुपर्छ । यसका लागि निरन्तर स्वाध्ययन, स्कुलिङ र प्रशिक्षण आवश्यक छ । नेता र कार्यकर्तालाई पार्टी, कार्यदिशा, नेतृत्व र आन्दोलनप्रति विश्वास पैदा गराउन जरुरी छ । जसले नेता र कार्यकर्तामा दृढ इच्छाशक्ति पैदा गर्छ, आत्मविश्वास बढाउँछ, सकारात्मक सोचको वृद्धि गर्छ । यसरी सिद्धान्त र व्यवहारबिचको उचित तालमेलले आत्मनिर्भर बन्न प्रेरित गर्छ ।
२. आर्थिक अनुशासन
क) आर्थिक पारदर्शिता : भ्रष्टाचार नगर्नु, आफ्नो सबै सम्पत्ति र आम्दानीको स्रोत देखाउनु, आर्थिक रूपमा देश र जनताप्रति इमानदार हुनु, आफ्नो कतै कमजोरी हुन पुगेमा कारबाहीको भागिदार हुनु र आत्मालोचित हुनु आर्थिक पारदर्शिता हो । यो आर्थिक अनुशासनमा अत्यन्तै महत्वपूर्ण पक्ष हो ।
ख) फजुल खर्चको नियन्त्रण : फजुल खर्चलाई कसरी कम गर्ने ? हाम्रो संस्कार, संस्कृति, जन्म, पास्नी, विवाह, पूजा, मृत्यु संस्कार, चाडबाडमा कमभन्दा कम खर्च गर्न विशेष नीति नै बनाउनुपर्छ । हामीले लगाउने फूल, माला, खादा र अन्य उपहारलाई कसरी कम गर्ने, यो सामान्य तर गम्भीर विषय हो । आज प्रत्येक घर र व्यक्तिले देखासिकी गरी लाखौँ फजुल खर्च गरिरहेका छन् । राजनीतिक नेता र कार्यकर्ताले फजुल खर्चलाई पूर्ण रूपले खारेज गरी त्यसबाट बचेको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने संस्कारको विकास गर्नुपर्छ । यसले राजनीतिमा सक्रिय रूपमा लाग्ने नेता र कार्यकर्तालाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउँछ ।
ग) खर्चमा मितव्ययिता र बचत : दैनिक, मासिक र वार्षिक रूपमा हुने खर्चमा न्यूनीकरण गर्दै सहकारी, बैंक, बिमामा बचत गर्ने बानी बसाल्नुपर्छ । यसले पनि नेता र कार्यकर्तालाई आत्मनिर्भर बन्ने आधार तयार गर्छ ।
३. उत्पादन र श्रम : श्रम र उत्पादन नै आत्मनिर्भरताको आधार हो । उत्पादनलाई सामाजिक न्याय र समृद्धिसँग जोड्न आवश्यक छ ।
क) कृषि र पशुपालन : कृषि र पशुपालनलाई उद्योगमा बदल्ने, टुक्रे र निर्वाहमुखी उत्पादन प्रणालीलाई जग्गाको चक्लाबन्दी गरी कृषिमा यान्त्रिकीकरण, औद्योगीकरण, व्यवसायीकरण गर्ने । कृषि, जडीबुटी, फलफूल र पशुपालनमा कृषि सरकारी फर्म, निजी कृषि फर्म, कृषि सहकारी, कृषि कम्पनी र सामूहिक कृषि फर्मलाई प्रोत्साहित गर्नुपर्छ । उच्च पहाडी र हिमाली क्षेत्रमा यार्सागुम्बा, पाँचऔँले, चिराइतो, रातो च्याउ, लोठसल्लो, निर्मसीलगायत बहुमूल्य जडीबुटी खेती, अग्र्यानिक खेती, ओखर, फुजी स्याउ, कफी, चिया, टिमुरलगायत फलफूल खेती, भेडा, च्यांग्रा, चौँरी, गाई, कुखुरा, बंगुर, ट्राउट माछा पालनलाई उद्योगका रूपमा विकास गर्नुपर्छ । रैथाने खेती तथा अग्र्यानिक खेतीलाई हाम्रो कृषिको पहिचान बनाई कृषि र पर्यटनलाई जोड्दै उद्योगमा विकास गर्न सक्नुपर्छ ।
तराई र पहाडी भूगोलमा धान, मकै, गहुँ, नगदे बाली, दुध र मासु, फलफूललगायत पकेट क्षेत्र नै निर्धारण गरेर कृषि उद्योग विकास गरी कम्तीमा कृषिमा आत्मनिर्भर हुने वातावरण तयार गर्नुपर्छ । यसले रोजगार र स्वरोजगार सिर्जना गर्छ । दलका नेता र कार्यकर्ता हिमाल, पहाड, तराई जहाँका भए पनि कृषि क्षेत्रमा सहभागी भई आफू आत्मनिर्भर बन्दै राजनीतिमा सक्रिय सहभागी हुने आधार तयार गर्नुपर्छ ।
ख) उत्पादनमूलक सहकारी : छरिएर रहेका थोरैथोरै पुँजी केन्द्रित गरी उत्पादनमूलक सहकारी गठन गरी कृषि र पशुपालन गरेर यससम्बन्धी साना र मझौला उद्योग सञ्चालन गर्नसके नेता र कार्यकर्तालाई आत्मनिर्भर बनाउन सहयोग पुग्छ ।
ग) साना उद्योगको विस्तार : परम्परागत सीपलाई प्रविधि र बजारसँग जोडेर साना उद्योगको विस्तार गर्ने, कृषि र पशुपालनसँग सम्बन्धित साना उद्योगमा सामूहिक र व्यक्तिगत लगानी गरी आम्दानी बढाउन सकिन्छ । यसले पनि नेता र कार्यकर्तालाई आत्मनिर्भर बनाउने आधार तयार गर्छ ।
घ) सामूहिक उत्पादन : प्रत्येक जिल्ला र प्रत्येक पालिकाले कम्तीमा एक वा एकभन्दा बढी सामूहिक उत्पादन केन्द्र निर्माण गरी त्यसको नेतृत्व गर्नुपर्छ । जनयुद्धकालीन कम्युन पुनः सञ्चालन गरेर नयाँ ढंगबाट त्यसलाई सफल बनाउन सके त्यसले पनि आत्मनिर्भरता बढाउन सक्छ । विभिन्न उत्पादनमूलक कम्पनीमा व्यक्तिगत र सामूहिक लगानी गर्नुका साथै ठेक्कापट्टा, पसल व्यवसाय, राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार आदिमा सामूहिक र व्यक्तिगत लगानीको वातावरण तयार गर्नुपर्छ ।
४. प्राकृतिक स्रोतको सदुपयोग : हामीसँग भएको प्राकृतिक स्रोत ढुंगा, गिटी, बालुवा, जल, जंगल, जडीबुटी, जमिन, खानी, हिउँ, विभिन्न प्रकारका वातावरणको सही पहिचान गरी सही सदुपयोग गर्नुपर्छ ।
क) ढुंगा, गिटी, बालुवा : देशैभरि रहेका नदीनालामा बर्सेनि थुप्रने जमिन सतहभन्दा माथिको ढुंगा, गिटी, बालुवालाई प्राकृतिक रूपमा असर नपर्ने गरी कानुनी रूपले व्यवस्थापन गर्ने । ढुंगा, गिटी, बालुवाको स्थानीय जनतासमेतको सहभागितामा उद्योग सञ्चालन गर्ने । यसको उचित व्यवस्थापन नहुँदा चोरी निकासी हुँदै आएको छ ।
ख) जल : हाम्रो देशमा जलविद्युत् आयोजना निर्माणको सम्भावना निकै राम्रो छ । प्रत्येक जलविद्युत् आयोजनाबाट १० प्रतिशत सेयर स्थानीय जनतालाई दिने सुनिश्चितता भएको छ । साथै, हिमाली शुद्ध खानेपानीको माग विश्वभर रहेको छ । त्यसको मूल हाम्रा हिमाली जिल्लामा प्रशस्त रूपमा पाइन्छ । त्यसैले पानीका ठुल्ठुला उद्योग सञ्चालन गर्न सकिन्छ ।
ग) वन, जडीबुटी : नेपालको हिमाल, पहाड र तराईको जंगलमा प्रशस्त मात्रामा जडीबुटी पाइन्छन् । उच्च पहाडी र हिमाली भूगोलमा जडीबुटी खेती गर्दै संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्नुपर्छ । साथै, वनमा रहेको काठको सही सदुपयोग गरी विदेशबाट भित्रिने अर्बौंको काठ रोक्नुपर्छ । वनको संरक्षण गर्नुका साथै नियमित वृक्षरोपण गर्नुपर्छ । यसरी हामीसँग भएको प्राकृतिक स्रोत–साधनले रोजगार र स्वरोजगारको सिर्जना गर्छ । जसले आत्मनिर्भर हुन महत्वपूर्ण सहयोग पुर्याउँछ ।
५. पर्यटन : यो ठुलो सम्भावना भएको क्षेत्र हो । हामीसँग भएको प्राकृतिक स्रोत– ढुंगा, बालुवा, जल, जंगल, जडीबुटी, जमिन, खानी, हिउँ, विभिन्न प्रकारका वातावरण, दर्जनौँ आरक्षण तथा निकुञ्ज, गैंडा, कस्तुरी, रेडपाण्डाजस्ता हजारौँ जीवजन्तु, धार्मिक मठ, मन्दिर, विभिन्न जात, जातिको सांस्कृतिक एवं सम्पदा, जनशक्ति र देशको भौगोलिक अवस्थितिको सही पहिचान, त्यसको सही उपयोग र परिचालन गरी पर्यटन उद्योगको विकास गर्नुपर्छ । सबै जिल्लामा रहेको पर्यटकीय क्षेत्र पहिचान, विकास र विस्तारसम्बन्धी गुरुयोजना बनाएर पर्यटनमा सामुदायिक र व्यक्तिगत होमस्टेका माध्यमबाट बढीभन्दा बढी जनसहभागिता गराउने, सुविधा सम्पन्न होटेल निर्माण गर्ने, पर्यटकलाई पूर्ण सुरक्षाको प्रत्याभूति गराउने, पर्याप्त र सबै किसिमका मनोरञ्जन दिने व्यवस्था मिलाउन सक्ने हो भने पर्यटन देशकै विकासको आधार बन्न सक्छ । यसले रोजगार र स्वरोजगारको सिर्जना गर्छ । त्यसैले पर्यटन आत्मनिर्भर बन्ने एउटा महत्वपूर्ण आधार हो ।
६. प्रविधि र नवप्रवर्तन : एकाइसौँ शताब्दीको सुरुदेखि हालसम्म साइबरनेटिक, डिजिटल, नानो टेक्नोलोजी, जेनोम र कृत्रिम बौद्धिकता (एआई) लगायत ‘एकीकृत सूचना प्रविधि’को युगलाई चौथो औद्योगिक क्रान्तिको युग भनिन्छ । यसको अधिकतम सदुपयोग गर्नु आत्मनिर्भरताको महत्वपूर्ण पक्ष हो ।
क) सामाजिक सञ्जाल : फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्सएपलगायत सामाजिक सञ्जालको प्रयोग गरी हाम्रो उत्पादन र व्यवसायलाई सहजीकरण र सुदृढ गर्न सकिन्छ । अनलाइन पसल, डिजिटल मार्केटिङ पनि आजको व्यवसायको प्रमुख पक्ष बन्दै गएको छ ।
७. आयआर्जनका अन्य विकल्प : विशेष क्षेत्रमा मात्र सीमित नभई अन्य सम्भावनाको पनि खोजी गर्नुपर्छ । सेयर कारोबारलाई र जग्गा जमिनको व्यवसायलाई उत्पादनको आधार बनाउन सकिन्छ ।
८. समयको व्यवस्थापन : राजनीतिमा व्यस्त हुँदाहुँदै पनि बाँकी समयमा उत्पादनमा भाग लिएर आत्मनिर्भर हुन निरन्तर प्रयास गर्नुपर्छ ।
९. शिक्षा, ज्ञान र तालिम : निरन्तर जनताबाट सिक्ने र अग्रज नेता–कार्यकर्ताले अपनाएका विधिको अनुसरण गर्ने र त्यसलाई थप परिष्कृत बनाउने । परम्परागत उत्पादनको ज्ञान र सीपलाई नयाँ प्रविधिसँग जोड्ने तालिमको व्यवस्थापन गर्ने । आइटीलगायत नयाँ प्रविधिको तालिम लिई नयाँ ज्ञान हासिल गर्ने । नेतृत्व क्षमता, व्यवस्थापन र उत्पादन सीपको विकास गर्न प्रशिक्षण र तालिमको व्यवस्था गर्ने । जसले नेता र कार्यकर्तालाई स्वरोजगार बनाउँदै आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
अन्त्यमा, नेपालको समृद्धिको बाधक भनेको राजनीतिक अस्थिरता नै हो । त्यसको अन्त्य गर्न राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री, प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, विज्ञहरूको सानो मन्त्रिमण्डल र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने व्यवस्था कायम गरिनुपर्छ । जसले आत्मनिर्भर देश, आत्मनिर्भर जनता र आत्मनिर्भर नेता र कार्यकर्ता निर्माण गरी सुशासन, समृद्धि र सामाजिक न्यायको आधार तयार गर्छ ।
(गोतामे बागमती प्रदेश सभाका सदस्य हुन्)