१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Wednesday, 11 June, 2025
२o८२ जेठ २७ मंगलबार १४:४९:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकासँग नयाँ वार्ताको योजना बनाएको इरानको भनाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १४:४९:oo

इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आइतबार नयाँ चरणको आणविक वार्ता गर्ने योजना बनाएको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार वार्ता हुने अपेक्षा गरेको बताएपछि इरानको यो भनाइ आएको हो।

‘इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतबार मस्कटमा हुने छ,’ विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मंगलबार विज्ञप्तिमा भने। उनका अनुसार विदेशमन्त्री अब्बास अराघचीले यस हप्ता नर्वेको ओस्लो फोरममा भाग लिनेछन्। ओस्लो फोरम द्वन्द्व मध्यस्थकर्ताहरूको भेला हो।

इरान र अमेरिकाले अप्रिलदेखि पाँच चरणको वार्ता गरेका छन्। यी वार्ताले सन् २०१५ को सम्झौताको ठाउँमा नयाँ आणविक सम्झौता गर्न खोजेका छन्। सन् २०१५ को सम्झौता ट्रम्पले सन् २०१८ मा त्यागेका थिए। मे ३१ मा पाँचौँ चरणको वार्तापछि इरानले अमेरिकी प्रस्तावका ‘तत्वहरू’ प्राप्त गरेको बताएको थियो। अराघचीले पछि उक्त पाठमा ‘अस्पष्टताहरू’ रहेको भने।

इरानले सोमबार अमेरिकी प्रस्तावमा अघिल्लो वार्तालाई प्रतिबिम्बित गर्ने ‘तत्वहरूको अभाव’ रहेको र ओमानमार्फत अमेरिकालाई ‘उचित, तार्किक र सन्तुलित’ प्रति–प्रस्ताव दिने बताएको छ। ट्रम्पले सैन्य कारबाहीबाट बच्न आणविक सम्झौता सम्भव छ कि छैन भन्ने कुरा यो हप्ताको वार्ताले स्पष्ट गर्न सक्ने बताएका छन्।

उनका अनुसार इरानसँगको पछिल्लो बैठक बिहीबार हुने अपेक्षा थियो। तर, तयारीसँग परिचित स्रोतले यो शुक्रबार वा शनिबार हुन सक्ने बताएको छ। इरान र अमेरिका हालै इरानको युरेनियम संवर्धनलाई लिएर कूटनीतिक गतिरोधमा छन्। तेहरानले यसलाई ‘गैर–सम्झौता योग्य’ अधिकार मानेको छ भने वासिङ्टनले यसलाई ‘लक्ष्मण रेखा’ भनेको छ।

इरानले हाल ६० प्रतिशत युरेनियम संवर्धन गरिरहेको छ। यो सन् २०१५ को सम्झौताको ३.६७ प्रतिशत सीमाभन्दा धेरै हो, तर आणविक हतियारका लागि चाहिने ९० प्रतिशतभन्दा कम छ।

अमेरिकासहित पश्चिमी देशहरूले इरानलाई आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन्। तर, तेहरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण भएको दाबी गरेको छ।