
सार्वजनिक संस्थानहरूको नाफा घट्नु र नोक्सानी बढ्नुले के संकेत गर्छ ?
यहाँनिर दुइटा पक्षमा ध्यान दिनु जरुरी छ । हामीसँग रहेका सबै सार्वजनिक संस्थानले नाफा कमाउनैपर्छ भनेर हेर्न मिल्दैन । कतिपय संस्थान सेवा प्रवाहका क्रममा नोक्सानीमा जान पनि सक्छन् । नोक्सानी भयो भन्दैमा तिनको मूल्य बढाउन मिल्दैन । त्यसैले, सबैभन्दा पहिले कुन कुन संस्थानले नाफा लिने र कुन कुन संस्थानले नोक्सान भए पनि सेवामा निरन्तरता दिने भन्ने निश्चित गर्नुपर्छ । जति पनि संस्थान नोक्सानीमा गएका छन् या भइरहेको नाफा पनि घटिरहेको छ, त्यसको मुख्य कारण भनेको त्यस्ता संस्थान चलाउन नजान्नु नै हो ।
यस्ता संस्थानलाई नाफामा जानबाट रोक्ने ‘फ्याक्टर’ के–के हुन् ?
यसका पछाडि कतिपय जायज कारण पनि हुन्छन् । आर्थिक मन्दीका कारण निजी क्षेत्रका उद्योगहरू पनि क्षमताअनुसार चल्न नसकी नाफा घटिरहेको समयमा सार्वजनिक संस्थाहरूचाहिँ त्यसबाट अछुतो रहने कुरै भएन । योचाहिँ नाफा घट्नु या नोक्सानीमा जानुको एउटा जायज कारण हो । तर, अधिकांश संस्थानहरू आन्तरिक दक्षता अभावका कारण सुरुदेखि नै नोक्सानीमा गइरहेका छन् । यसमा यस्ता संस्थानमा कार्यकारी नियुक्ति कसरी गरिन्छ ? बोर्ड कसरी गठन गरिन्छ । त्यहाँ कस्ताकस्ता व्यक्तिको प्रतिनिधित्व गराइन्छ ? राजनीतिक नेतृत्वले कति र कसरी हस्तक्षेप गर्छ ? ट्रेड युनियनले कति अवरोध गर्छ ? जस्ता पक्ष नाफा बढ्न नदिने फ्याक्टर हुन सक्छन् ।
यस्ता संस्थानलाई सुधारेर नाफा आर्जन गर्न सकिन्न ?
किन नसकिनु, मजाले सकिन्छ । संसारभरका उदाहरण हेर्ने हो भने सबैभन्दा बढी नाफा गर्ने ७ कम्पनीमध्ये तीनदेखि चार कम्पनी सार्वजनिक संस्थान नै हुने गरेका छन् । फेरि निजीले नाफा कमाउन सक्ने, सार्वजनिकले नसक्ने भन्ने पनि हुँदैन । हामीकहाँ चलाउन नजानेर मात्र समस्या भएको हो । यसमा सुधार हुनासाथ नाफा कमाउन सकिन्छ ।