
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ लाई कानुनी मान्यता दिएपछि त्यसको विरोधमा उत्रेका यातायात व्यवसायीहरूले चौथो दिन पनि प्रदेशभर सार्वजनिक यातायात ठप्प पारेका छन् ।
प्रदेश सरकारले राइड सेयरिङ नियमन र व्यवस्थापनका लागि जारी गरेको नियमावली, ०८२ को विरोधमा पारित गरेको थियो । वैशाख अन्तिम साता नियमावली राजपत्रमा प्रकाशित गरेपछि गण्डकीमा राइड सेयरिङ वा सेल्फ ड्राइभले कानुनी मान्यता पाएको छ । त्यसयता सार्वजनिक यातायात व्यवसायी उत्रेका हुन् ।
प्रदेश सरकारले जारी गरेको राइड शेयरिङसम्बन्धी नियमावली पूर्ण रुपमा खारेजीलगायतको माग गर्दै गण्डकी प्रदेशमा शुक्रबारदेखि आन्दोलन सुरु गरेका व्यवसायीले चौथो दिन सोमबार पनि यातायात ठप्प पारेका हुन् ।
पर्यटक बसमा समेत अवरोध
आन्दोलनमा उत्रेका व्ययसायीहरूले पर्यटक सवारीसाधनलाई समेत सञ्चालनमा अवरोध गरेका छन् । आन्दोलनकारीको अवरोधमा परेका १७ पर्यटक बसलाई प्रहरीले स्कर्टिङ गरी पोखराबाट गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।
पोखरास्थित पर्यटक बसपार्कबाट छुटेर गन्तव्यतर्फ जान लागेका बसहरूलाई आन्दोलनमा उत्रेको व्यवसायीले अवरोध गरेपछि काठमाडौंका लागि छुटेका १४ र नारायणगढको लागि छुटेका तीन बसलाई स्कर्टिङ गरि पास गरेको ओलियाले जानकारी दिए । ती बसहरूमा सवार ५६४ जना अलपत्र यात्रुलाई पोखराबाट स्कर्टिङ गरि लगेको ओलियाले जानकारी दिए ।
बढी भाडा असुल्ने आठ राइडरलाई कारबाही
यातायात व्यवसायीको अन्दोलनको मौका छोपी बढी शुल्क लिन आठजना इनड्राइभ राइडरलाई कारवाही गरेको ओलियाले जानकारी दिए । राइडरहरूले बढी भाडा लिएको गुनासो प्राप्त भएपछि खटिएको प्रहरी टोलीले पोखराका विभिन्न स्थानमा चेकजाँच गर्दा उनीहरूलाई सवारी साधनसहित नियन्त्रणमा लिई यातायात व्यवस्था ऐन ०४९ अनुसार कारबाही गरी छाडिएको ओलियाले जानकारी दिए ।