Skip This
एमाले–राजावादीको प्रदर्शन वरपर, बढ्यो सुरक्षा चुनौती 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Friday, 30 May, 2025
टेकराज थामी काठमाडाैं
प्रेम गौतम काठमाडाैं
२o८२ जेठ १४ बुधबार o७:५५:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले–राजावादीको प्रदर्शन वरपर, बढ्यो सुरक्षा चुनौती 

प्रधानमन्त्रीकै अभिव्यक्तिले बढायो संवेदनशीलता, ४५ सय सुरक्षाकर्मी खटाउने तयारी

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार o७:५५:oo

एमाले र राजावादीले १५ जेठमा वरपर प्रदर्शन गर्न लागेपछि सुरक्षा चुनौती पेचिलो बनेको छ । एमालेले प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयमा अनुमति लिएको छ भने राप्रपाले हालसम्म कुनै स्थान मागेको छैन । 

सत्तारूढ एमालेले १५ जेठमा भृकुटीमण्डपदेखि सहिद गेट, न्युरोड हुँदै शान्ति वाटिकासम्म सांस्कृतिक झाँकीसहितको कार्यक्रम गर्ने जनाएको छ । बिहान ११ बजे सुरु हुने कार्यक्रम दिउँसो २ बजे शान्ति वाटिकामा समाप्त हुने जनाइएको छ । त्यही दिन सोही समय र स्थानमा राप्रपाले पनि विरोध प्रदर्शन गर्ने बताएको छ । प्रधानमन्त्री केपी ओलीले ‘जेठ १५ गते ११ देखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्दै नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए ।

कार्यक्रम जुध्ने अवस्थाले काठमाडौं उपत्यकामा सुरक्षा संवेदनशीलता बढेको छ । दुवै दलले ठुलो सहभागिता हुने दाबी गरेका छन् । सबै गरी ४५ सय सुरक्षाकर्मी खटाउने तयारी रहेको प्रशासनले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता अशोककुमार भण्डारीले एमालेले रत्नपार्कआसपासका क्षेत्रमा कार्यक्रम गर्न अनुमति मागेको, तर राप्रपा हालसम्म औपचारिक सम्पर्कमा नआएको बताए । ‘एमालेले जेठ १५ मा गर्ने कार्यक्रमका लागि हामीकहाँ आजै अनुमति माग गरेको छ । रत्नपार्कआसपासका क्षेत्रमा कार्यक्रम हुने उहाँहरूको मागपत्रमा छ,’ उनले भने, ‘तर, राप्रपाको तर्फबाट भने कोही सम्पर्कमा आएका छैनन् । अनौपचारिक खबर हामीले पनि सुनेका छौँ । प्रदर्शन जुध्न नदिने वातावरण बनाउने प्रयत्न हुनेछ ।’

राप्रपाले पत्रकार सम्मेलन गरेरै प्रदर्शन रत्नपार्क क्षेत्रमा हुने भनेको छ । मंगलबार नयाँबानेश्वरस्थित एभरेस्ट होटेल भएको सम्पादकहरूसँगको छलफलमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विरोध प्रदर्शन रत्नपार्क क्षेत्रमा हुने बताए । ‘शान्तिपूर्ण विरोध प्रदर्शन  हुनेछ । प्रदर्शन रत्नपार्कआसपासका क्षेत्रमा हुनेछ,’ उनले भने । 

राप्रपाले शान्ति वाटिकामा नै कार्यक्रम गर्ने भनेर प्रचार व्यापक बनाएको छ । प्रदर्शनले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीदेखि राप्रपा नेपालका अध्यक्ष कलम थापासम्मको सहभागिता रहने भनिएको छ । सुवेदी तिनै व्यक्ति हुन्, जसको संयोजकत्वमा गत १५ चैतमा तीनकुनेमा आगजनी, तोडफोड, लुटपाट र हत्यासम्मका घटना भएका थिए । 

दुवै पक्षको प्रदर्शन जुध्न नदिन गृह मन्त्रालयले मंगलबार बेलुकासम्म विभिन्न चरणमा छलफल गरे पनि निष्कर्षमा पुगेको छैन । गृहले मातहतको नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवस्थाअनुसारको सुरक्षा रणनीति अपनाउन निर्देशन दिइसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता भण्डारीले १५ जेठको कार्यक्रमका लागि आवश्यक आन्तरिक तयारी गर्न निर्देशन भएको बताए । ‘प्रदर्शनमा सहभागी हुने एउटा पक्षले कुन ठाउँमा कार्यक्रम गर्ने भन्ने तय भएको छैन । त्यस्तो हुन सकेको भए सोहीअनुसारको सुरक्षा व्यवस्था कार्यान्वयन हुन्थ्यो,’ उनले भने, ‘त्यस्तो कार्यक्रम लक्षित सुरक्षा प्रबन्धका लागि हामी छलफलमा नै छौँ । यद्यपि, सुरक्षा संयन्त्रलाई भने आन्तरिक तयारी गर्न निर्देशन भइसकेको छ ।’ जिल्ला प्रशासन काठमाडौंका अनुसार सदाझैँ यसपटक पनि सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीकै टोली खटाइनेछ । सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि प्रदर्शनस्थलमा परिचालन हुनेछन् । 

सुरक्षा तयारी के छ ? 
एमाले र राप्रपाको प्रदर्शन लक्षित गरेर प्रहरीको काठमाडौं परिसरले मातहतका तीन हजार जनशक्ति परिचालन गर्ने आन्तरिक तयारी गरेको छ । त्यस्तै, सशस्त्र प्रहरीबाट पनि एक हजार पाँच सय जनशक्ति परिचालन गर्ने योजना छ । यसबाहेक नेपाल प्रहरीले थप एक हजार चार सयलाई अलर्टमा राख्ने भएको छ । प्रहरीका अनुसार सिभिलमा पनि सुरक्षाकर्मी परिचालन हुनेछन् । उनीहरूले सूचना संकलन गर्नेछन् । त्यसबाहेक राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि खटिनेछन् । दुवै पक्षको प्रदर्शनको निगरानी सिसिटिभी क्यामेरा र ड्रोनबाट हुनेछ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बुधबारसम्म सुरक्षा रणनीति तयार हुने बताए । 

भद्र अवज्ञा आन्दोलन गर्छौँ, तर राज्य दमनमा उत्रिने खतरा छ : राजावादी

राजावादी दल र समूहले १५ जेठदेखि भद्र अवज्ञा आन्दोलन सुरु गर्दै छन् । ४५ वटा राजावादी–हिन्दुवादी दल र समूह एकीकृत भएर आन्दोलनको तयारी गरेका हुन् । भद्र अवज्ञा आन्दोलनमा दुई हजारभन्दा बढी स्वयंसेवक परिचालन गर्ने तयारी रहेको उनीहरूले जानकारी दिएका छन् । नेताहरूका अनुसार आन्दोलनका क्रममा मञ्च खडा गरेर सभा हुनेछैन । 

रत्नपार्कलाई केन्द्र बनाएर आन्दोलन निरन्तर अघि बढ्ने राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जनाएको छ । समितिका अनुसार आन्दोलनमा सहभागीहरू छातासहित उपस्थित हुनेछन् । जेठमा चर्को घाम र पानी पर्ने सम्भावना भएकाले छातासहित उपस्थित हुन आग्रह गरिएको नेताहरूले बताएका छन् । आन्दोलनको अग्रपंक्तिमा शीर्ष नेताहरू रहनेछन् । भद्र अवज्ञा आन्दोलनको जगतमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना तथा प्रदेश संरचना खारेज हुने विश्वास राजावादी–हिन्दुवादी नेताहरूको छ । 

समितिले राजधानीमा मंगलबार आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले आन्दोलन शान्तिपूर्ण हुने दाबी गरे । राज्य पक्षबाट सिर्जना गरिएको त्रासदीपूर्ण अवस्था र राजावादीको आन्दोलनको प्रभावकारी अनुगमन गरी सत्यतथ्य समाचार सम्प्रेषण गर्न उनीहरूले आग्रह गरेका छन् । समिति संयोजक सुवेदीले आफूहरू निर्णायक आन्दोलनमा रहेको दाबी गरे । उनले आन्दोलन अहिंसात्मक हुने जिकिर पनि गरे । ‘हामीहरू निर्णायक आन्दोलनमा छौँ । हाम्रो आन्दोलन अहिंसात्मक हुन्छ,’ उनले भने । 

राप्रपा अध्यक्ष लिङ्देनले आन्दोलन शान्तिपूर्ण र सत्याग्रहमा आधारित हुने दाबी गरे । ‘हामी शान्तिपूर्ण कार्यक्रम गर्छौँ । आन्दोलन अहिंसात्मक र सत्याग्रहमा आधारित हुन्छ । जसरी हामीले गत २६ चैतमा बल्खुमा कार्यक्रम पूर्ण रूपले आयोजकको नियन्त्रणमा राखेका थियौँ । जत्रोसुकै विशाल र व्यापक भए पनि यो कार्यक्रम पूर्ण रूपमा हाम्रो नियन्त्रणमा हुन्छ,’ उनले भने । 

राप्रपा नेपालका अध्यक्ष थापाले आन्दोलनका लागि सर्वाधिक अनुकूल अवस्था बनेको दाबी गरे । ‘०६२/६३ को राजनीति परिवर्तनपछि राजावादी/हिन्दुवादी दल/समूह एक छौँ । हाम्रो विचारका लागि अहिले सर्वाधिक अनुकूल अवस्था बनेको छ,’ उनले भने, ‘एकातर्फ वैचारिक अस्तित्व नै समाप्त पार्न खोजिएको छ । वैचारिक अस्तित्वको रक्षाका लागि पनि आन्दोलनको विकल्प रहेन ।’ राष्ट्रिय शक्ति नेपालका अध्यक्ष विष्टले पनि भद्र अवज्ञा आन्दोलन शान्तिपूर्ण हुने दाबी गरे । ‘देश र जनताको हितमा आन्दोलन घोषणा गरेका हौँ । आन्दोलन शान्तिपूर्ण हुन्छ । यो नितान्त भद्र अवज्ञा आन्दोलन हो,’ उनले भने ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले रत्नपार्कमा आन्दोलन गर्ने घोषणा गरेपछि प्रधानमन्त्रीले त्यहीआसपास आफ्ना कार्यकर्तालाई जम्मा हुन र प्रतिवाद गर्न निर्देशन दिएर मुठभेड निम्त्याउन खोजेको आरोप सुवेदी, लिङ्देन, थापा र विष्टले लगाएका छन् । सुवेदीले सरकारको रबैया ठिक नभएको भन्दै शान्तिपूर्ण आन्दोलनको साक्षी बसिदिन पत्रकारहरूलाई आग्रह गरे । 

लिङ्देनले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको र सरकार मुठभेड निम्त्याउने तहको क्रियाकलापबाट अगाडि बढेको आरोप लगाए । ‘हामीले रत्नपार्कमा आन्दोलनको कार्यक्रम घोषण ग¥यौँ । त्यसपछि प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई पनि त्यहीनजिकै जम्मा हुन र प्रतिवाद गर्न भनेर जुन मुठभेड निम्त्याउने तहको क्रियाकलाप सरकारको तर्फबाट अगाडि बढेको छ,’ उनले भने, ‘प्रतिपक्ष सशक्त हुने र विधिले काम गर्ने अवस्था भएको भए कि प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने वा राजीनामा दिनुपर्ने हुन्थ्यो ।’

भृकुटीमण्डपदेखि रत्नपार्कसम्म एमालेले झाँकी प्रदर्शन गर्ने
एमालेले गणतन्त्र स्थापना दिवसलाई सडक सांस्कृतिक कार्यक्रम आयोजना गरेर मनाउने भएको छ । १५ जेठको गणतन्त्र दिवसमा हिमाल, पहाड, तराई र उपत्यकामा बसोबास गर्ने विभिन्न जातिको सांस्कृतिक झाँकी र नाचगानसहित रत्नपार्कमा उत्सवका रूपमा विशेष सांस्कृतिक कार्यक्रम गर्ने एमालेले जनाएको हो ।

गणतन्त्र उत्सव आयोजना गरिएको विषयमा जानकारी दिन उसले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको छ । आइतबार केन्द्रीय सचिवालय बैठकबाट गणतन्त्र उत्सव मनाउने निर्णय गर्दै एमालेले सहभागिताका लागि जनसमुदायलाई आह्वान गरेको थियो । त्यसअघि दिउँसो आयोजित एक कार्यक्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गणतन्त्र स्थापना दिवसका दिन आयोजना हुने महोत्वसमा काठमाडौं एमालेको नियन्त्रणमा हुने गरी तयारी थाल्न निर्देशन दिएका थिए । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार भृकुटीमण्डपबाट भद्रकाली, सहिदगेट, एनएसी हुँदै रत्नपार्कस्थित शान्ति वाटिकामा राष्ट्रिय झन्डा, सांस्कृतिक झाँकी र नाचगानसहित पुग्ने जुलुस गणतन्त्र उत्सवमा परिणत हुनेछ ।

शान्ति वाटिकामा एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघले चर्चित कलाकारसहितको सहभागितामा सांस्कृतिक कार्यक्रम गर्ने गरी तयारी गरिरहेको छ । अधिकारीले उत्सवका रूपमा आयोजना गरिएका कारण संख्या गणना नगरी स्वतःस्फूर्त सहभागिताका लागि आह्वान गरेर पार्टीले कार्यक्रम आयोजना गरिरहेको जानकारी दिए । ‘गणतन्त्र सबै नागरिकका लागि उत्सव भएकाले नारा–जुलुस हुँदैन, को–को नेताले नेतृत्व गर्ने भनेर तोकिएको पनि छैन, स्वतःस्फूर्त सांस्कृतिक झाँकी र नाचगान हुनेछन्,’ उनले भने । झाँकी र उत्सवलाई व्यवस्थित गर्ने कामको नेतृत्व स्वयंसेवक टोली प्रमुखका रूपमा एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठ र नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डेले गर्नेछन् । 

कार्यक्रम तयारीका लागि एमाले काठमाडौं उपत्यका र बागमतीको पार्टी पंक्ति र जनसंगठनहरूलाई परिचालन गरेको छ । महासचिव शंकर पोखरेलका अनुसार काठमाडौं जिल्लाबाट व्यापक जनमानस परिचलान गर्नका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । जनसंगठनहरूको संयोजन गर्न सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वयको संयोजनको जिम्मेवारीका लागि भूगोलअनुसार नेताहरूलाई खटाइएको छ ।