Skip This
एउटै ठेक्कामा ६ करोड ३१ लाख घुस
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
सुवास भट्ट काठमाडाैं
२o८२ जेठ ६ मंगलबार o९:२४:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एउटै ठेक्कामा ६ करोड ३१ लाख घुस

Read Time : > 3 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार o९:२४:oo
  • सिंगापुरमा बैंक खाता खोलेर ठेकेदारमार्फत रकम जम्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित पाँचजनाविरुद्ध मुद्दा दायर 

एउटै ठेक्कामा ६ करोड ३१ लाख रुपैयाँ घुसको लेनदेन भएको छ । त्यो पनि विदेशस्थित बैंक खातामार्फत । राष्ट्रिय सूचना प्रविधि केन्द्रको ठेक्कामा सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंककोे खातामा घुस लेनदेन भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । जसमा आयोगले सोमबार केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित पाँचजनाविरुद्ध मुद्दा दायर भएको छ । 

केन्द्रको आर्थिक वर्ष ०७५/७६ को सूचना प्रविधिसम्बन्धी ‘आरआइएससी एन्ड एचसिआई’को ठेक्कामा भ्रष्टाचार गरेको र त्यसको घुस विदेशमा लेनदेन गरेको आयोगले जनाएको छ । अख्तियारले युनाइटेड ओभरसिज बैंकको खातामार्फत घुसको लेनदेन भएको पत्ता लगाएको हो । 

आयोगले पौडेलसहित केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेसनल प्रालि र त्यसका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनलाई प्रतिवादी बनाइएको छ । सबैलाई पाँच करोड ७९ लाख बिगो कायम गरिएको छ । मुख्य प्रतिवादी पौडेलविरुद्धको यो छैटौँ मुद्दा हो । यसअघिकै मुद्दामा उनी कारागारमा छन् । 

यसरी भयो गडबडी 
केन्द्रले ‘सप्लाई, डेलिभरी एन्ड कमिसनिङ अफ आरआइएससी एन्ड एचसिआई’ अन्तर्गत आव ०७५/७६ मा ठेक्का निकालेको थियो । २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । यस ठेक्कामा म्याक्स इन्टरनेसनलसँगको मिलेमतोमा स्वार्थ बाझिने गरी लागत अनुमान तयार गरेको अख्तियारको दाबी छ । त्यस्तै, सम्झौताबमोजिमको वारेन्टी अनसाइट सपोर्टको कार्य नै नभएको अवस्थामा भएको भनेर रकम भुक्तानी दिएकोसमेत भेटिएको आरोपपत्रमा उल्लेख छ । दुई शीर्षकमा दुई करोड ६५ लाख र तीन करोड १४ लाख रुपैयाँ म्याक्सलाई केन्द्रले बढी भुक्तानी दिएको थियो । 

गैरकानुनी लाभ लिने बद्नियतले सरकारलाई हानी पुर्‍याउनेगरी पाँच करोड ७९ लाखबराबरको रकम बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । टेक्निकल स्पेसिफिकेसन उपलब्ध नगराउँदासमेत मिलेमतोमा तीनवटा कम्पनीले विस्तृत रूपमै टेक्निकल स्पेसिफिकेसनसहितकोे दरभाउ पेस गरेका अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ । यसक्रममा सार्वजनिक खरिद गुरुयोजना तयार नगरी खरिद कार्य भएको, प्राविधिक स्पेसिफिकेसन स्वीकृत नहुँदै दररेट माग गरी लागत अनुमान तयार गरेको, लागत अनुमानसँग स्वीकृत भएको प्राविधिक प्रस्ताव मिल्ने गरी विस्तृत रूपमै दरभाउपत्र पेस गरी मिलेमतो गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

सार्वजनिक खरिद ऐन, २०६८ को व्यवस्थाबमोजिम मालसामान खरिद गर्दा राष्ट्रियस्तरमा खुला बोलपत्र आह्वान गरी ‘आइटमवाइज’ खरिद हुने गरी लागत अनुमान, स्पेसिफिकेसन र बोलपत्र कागजात तयार गरिएकाले यस्तो खरिद एकमुस्ट दर विधिबाट गरिएको खरिद वा परामर्श सेवाको खरिद नभएको जिकिर अख्तियारको छ । सम्झौताअनुसार कम्पनीकै दायित्वभित्र रहने आइटम छुट्टै शीर्षक राखी बढी मूल्य र लागत देखाउने बदनीयतपूर्वक कार्य गरिएको पनि अख्तियारले जनाएको छ । दरभाउ माग, लागत अनुमान तयारी तथा स्वीकृतिमा स्वार्थ बाझिने गरी मिलेमतो भएको, बोलपत्र तथा सम्झौताको सर्तअनुसार खरिद कार्य नभएको र दुई शीर्षकको भुक्तानी नियमसँगत नभएको तथ्य अख्तियारले उल्लेख गरेको छ । 

६ करोड ३१ लाख ६६ हजार रुपैयाँ घुस निकालियो 
ठेक्काको खरिद कार्य केन्द्रले सन् २०१९ मा सम्पन्न गरेको थियो । खरिदमा म्याक्स इन्टरनेसनललाई सामान आपूर्ति गर्ने सिंगापुरको बाङ्कटेक प्रालिले सन् २०१९ मा केन्द्रका कार्यकारी निर्देशक पौडेलको युनाइटेड ओभरसिज बैंक, सिंगापुरको खातामा ७९ हजार ६४० अमेरिकी डलर जम्मा गरेसमेत देखिएको छ । अकवर हुसेन सेयरधनी रहेको कम्पनी आइटी ग्लोबलले लागत अनुमान बनाउने प्रयोजनका लागि दरभाउ पेस गर्दा ‘एप्लिकेसन सर्भर हाइपर कन्भर्ज्ड इन्फ्रास्ट्रक्चर’ शीर्षकको सामान नौ करोड ९६ लाख र कम्प्युटर नोड शीर्षकको सामान ७२ लाखमा ल्याउन सक्ने भनी दररेट पेस गरेको थियो । 

हुसेन नै प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेको म्याक्स इन्टरनेसनलले बोलपत्र पेस गर्दा ‘एप्लिकेसन सर्भर हाइपर कन्भर्ज्ड इन्फ्रास्ट्रक्चर’को नौ अर्ब ७१ लाख ८० हजार र कम्प्युटर नोडको ८४ लाखमा ल्याउन सक्ने गरी पेस गर्‍यो । तर, म्याक्सले ब्याङ्कोटेक सिंगापुरबाट ‘एप्लिकेसन सर्भर हाइपर कन्भर्ज्ड इन्फ्रास्ट्रक्चर’ १५ करोड १५ लाख ८९ हजार ६६४ रुपैयाँ र कम्प्युटर नोड एक करोड ७१ लाख ५६ हजार ८६८ रुपैयाँमा खरिद गरेको भनी भनी प्रज्ञापनपत्र र कमर्सियल इन्भ्वाइसमा उल्लेख गर्‍यो । उक्त रकम ब्याङ्कोटेक प्रालि सिंगापुरमा भुक्तानी गर्‍यो । 

‘प्रज्ञापनपत्र र कमर्सियल इन्भ्वाइसबमोजिमको रकम भनी ‘एप्लिकेसन सर्भर हाइपर कन्भर्ज्ड इन्फ्रास्ट्रक्चर’ शीर्षकअन्तर्गतको सम्झौतामा उल्लेखित रकमभन्दा बढी पाँच करोड ४४ लाख नौ हजार ६६४ र कम्प्युटर नोड शीर्षकअन्तर्गतको सम्झौतामा उल्लेखित रकमभन्दा बढी ८७ लाख ५६ हजार ८६८ गरी ६ करोड ३१ लाख ६६ हजार ५३२ रुपैयाँ गैरकानुनी तवरबाट ब्याङ्कोटे प्रालि सिंगापुरमा पुर्‍याएको तथ्य देखिन्छ,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ । यो घुस बुझाउने रकम भएको अख्तियारको दाबी छ । 

चार कर्मचारीको तालिममा दुई करोड ६५ लाख खर्च भएको देखाएर घुस रकम व्यवस्थापन
ठेक्काअन्तर्गत तालिम शीर्षकमा केन्द्र प्रमुख पौडेलले अस्वाभाविक रकम छुट्याएका थिए । चारजना कर्मचारीका लागि तालिमलगायतका विषयमा भ्याटबाहेक दुई करोड ६५ लाख खर्च भएको देखाएका थिए । तर, यो रकम कहाँ, कसरी खर्च भयो भन्ने विवरण भेटिएको छैन । रकम देश तथा विदेशमा घुस बुझाउन रकम व्यस्थापनका लागि उपयोग गरेको पुष्टि भएको अख्तियारको दाबी छ । त्यस्तै, खरिद कार्यको तीन वर्षको वारेन्टीबापत भ्याटबाहेक तीन करोड १४ लाख भुक्तानी दिने गरी सम्झौता गरिएको थियो । तर, यस शीर्षकमा भएको खर्च खुल्ने कागजात नभेटिएको अख्तियारले उल्लेख गरेको छ । 

सिंगापुरमा सुनीलले खोलेको खातामा ७९ हजार ६४० अमेरिकी डलर घुस जम्मा 
छानबिनका क्रममा ब्याङ्कोटेकले ११ चैत ०८१ मा अख्तियारलाई जवाफ दिँदै आव ०७५/७६ मा भएको ठेक्काको खरिद कार्य २०१९ मा सम्पन्न भएको जानकारी गराएको थियो । जवाफमै ब्याङ्कोटेकले केन्द्रका कार्यकारी निर्देशक पौडेलको सिंगापुरको खातामा ७९ हजार ६४० अमेरिकी डलर उपलब्ध गराएको विवरण पनि अख्तियारलाई दिएको छ । ‘केन्द्रको ठेक्काअन्तर्गत म्याक्स इन्टरनेसनललाई खरिदको सामान आपूर्ति गर्ने सिंगापुरको ब्याङ्कोटेक प्रालिले सन् २०१९ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनील पौडेलको युओबी सिंगापुर बैंकमा रहेको ३८०–९४८–३१०–८ खातामा ७९ हजार ६४० अमेरिकी डलर जम्मा गरेको विवरण उपलब्ध गराएको देखिन्छ,’ आरोपपत्रमा उल्लेख छ ।