
एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चा र गृहकार्यमा जुटेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार चीन भ्रमणमा जान थालेकी छिन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उनी एक साताका चीन जाँदै छिन् । उनी २४ देखि ३० जेठसम्म चीनमा रहने कार्यक्रम छ । राष्ट्रपतिबाट बिदा भएपछि उनको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हुनेछ ।
चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले पूर्वराष्ट्रपति भण्डारी शनिबार चीन जाने कार्यक्रम रहेको पुष्टि गरे । ‘उहाँ चीन जाने कार्यक्रम तय भएको हो,’ सगरमाथा संवादका लागि काठमाडौं आएका राजदूत ओलीले नयाँ पत्रिकासँग भने । राजदूत ओलीले पूर्वराष्ट्रपति भण्डारीको भेटवार्ता तथा कार्यक्रमबारे विस्तृत विवरण जानकारी भइनसकेको बताए ।
राजदूत ओलीले पूर्वराष्ट्रपति भण्डारीको भ्रमणकै तयारीका लागि मंगलबार बेइजिङ जाँदै छन् । ‘पूर्वराष्ट्रपतिको भ्रमण तयारीकै लागि राजदूत मंगलबार नै बेइजिङ फर्किन लाग्नुभएको छ । उहाँलाई भ्रमणको समन्वय गर्न भनिएको छ,’ परराष्ट्र स्रोतले नयाँ पत्रिकासँग भन्यो । पूर्वराष्ट्रपतिका सबै भेटवार्ता तथा सार्वजनिक कार्यक्रमहरूमा राजदूत ओली सहभागी हुनेछन् । पूर्वराष्ट्रपति भण्डारीलाई बेइजिङस्थित नेपाली राजदूतावासले स्वागत गर्ने कार्यक्रम भने राखिएको छैन ।
कूटनीतिक स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो । भण्डारीको भ्रमणदलमा उनीनिकट मानिने एमालेका नेताहरू पनि सहभागी हुने बताइएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले बेइजिङ र अन्य दुई प्रान्तमा आयोजित तीनवटा कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ । बेइजिङमा आइतबार र सोमबार चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गर्ने छिमेकी मुलुकहरूसँग सिपिसीको संवादसम्बन्धी कार्यक्रमलाई उनले सम्बोधन गर्ने स्रोतले जनाएको छ ।
कार्यक्रममा दक्षिण एसियाका अन्य मुलुकका प्रतिनिधि पनि सहभागी हुनेछन् । बेइजिङमा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेतासँग भेटवार्ता गर्ने तयारी रहेको कूटनीतिक स्रोतले जनाएको छ । ‘चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्ने पूर्वराष्ट्रपति भण्डारीको इच्छा चिनियाँ पक्षलाई पहिले नै जानकारी गराइएको छ । यद्यपि, यसबारेमा चीन पक्षबाट जवाफ आइसकेको छैन,’ कूटनीतिक स्रोतले भन्यो, ‘तर, भण्डारीको भ्रमणलाई चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले उच्च महत्व दिएको छ ।’
पूर्वराष्ट्रपति भण्डारीले छिमेकी चीन र भारतको भ्रमण गर्ने सार्वजनिक गर्दै आएकी थिइन् । उनी गत वर्ष चीन जाने तयारी रहे पनि हुन सकेको थिएन । ‘उहाँ चीनबाट फर्केर आएपछि सम्भवतः भारतको पनि भ्रमणमा जानुहुन्छ जस्तो लाग्छ,’ भण्डारीनिकट एमालेका एक नेताले भने ।
भण्डारीले राष्ट्रपतिको हैसियतमा ११–१९ वैशाख, ०७६ मा चीनको राजकीय भ्रमण गरेकी थिइन् । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन गएकी थिइन् । राष्ट्रपति रहँदा भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी २५ देखि २६ असोज, २०७६ मा नेपालको राजकीय भ्रमण गरेका थिए ।