
हुम्लाको नाम्खा गाउँपालिका– ६, तिलगाउँमा गत बिहीबार राति आएको बाढी र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५, थामेमा ३२ साउन ०८१ मा आएको बाढीबिच उल्लेखनीय समानता देखिएको छ । हिमाली क्षेत्रमा ह्वात्तै तापक्रम वृद्धि हुँदा यी क्षेत्रमा बाढी आएको पाइएको हो ।
थामेमा तापक्रम एकै दिन ९.७ डिग्री सेल्सियसबाट ११.० डिग्रीसम्म पुगेको थियो । त्यही समयमा वर्षा पनि भएकाले हिमताल फुटेर दुधकोशीको सहायक थामे खोलामा आएको बाढीले बस्ती बगाएको थियो । यसैगरी, प्रि–मनसुनको मौसममा तापक्रम ह्वात्तै बढ्दा नाम्खाको तिलगाउँस्थित तिल्चुङ खोलामा पनि १ जेठमा लेदोसहितको बाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
तिलगाउँ क्षेत्रमा तापक्रममापन केन्द्र नभए पनि करिब ५० किलोमिटर टाढा रहेको सिमकोट विमानस्थलमा तापक्रम एकै दिन पाँच डिग्री सेल्सियसले बढेको थियो । सिमकोट विमानस्थल क्षेत्रमा ३० वैशाखमा अधिकतम तापक्रम १७.४ डिग्री सेल्सियस रहेकामा त्यसको भोलिपल्ट २१.४ र १ जेठमा २२. ४ डिग्र्री सेल्सियस पुगेको देखिन्छ ।
बाढी आएको क्षेत्रको तापक्रम उपलब्ध नरहे पनि नजिकको स्टेसन सिमकोटको तथ्यांकका आधारमा तिलगाउँ क्षेत्रमा पनि औसत पाँच डिग्री सेल्सियसका हाराहारीमा तापक्रम बढेको आकलन विभागले गरेको छ । बाढीको दिन तिलगाउँभन्दा १४ किलोमिटर तलको हिल्सायारी वर्षामापन केन्द्रमा २४ घण्टामा ६.१ मिलिमिटर वर्षा भएको छ, प्रि–मनसुनमा हिमाली क्षेत्रमा यो वर्षा ठुलो नै हो ।
‘हिमताल फुट्नु÷पग्लिनुअघिका कारण हेर्दा थामे र तिलगाउँमा मिल्दो देखिन्छ । आकस्मिक रूपमा तापक्रम बढ्दा घटना भएको हो,’ जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ जलस्रोतविद् विनोद पराजुलीले भने, ‘तिलगाउँकै तापक्रम नरहे पनि विस्तृत त अध्ययनपछि खुल्छ ।’
विभागले तिलगाउँमा बाढी आउनुअघि र बाढीपछिको वर्षा तथा तापक्रमको प्रारम्भिक तुलना गर्दा वर्षाभन्दा पनि ह्वात्तै तापक्रम बढेर हिउँभित्रको ताल पग्लिएर पानी खोल्सी हुँदै बगेको बताएको छ । पराजुलीका अनुसार नाम्खाको तिलगाउँभन्दा ३.२ किलोमिटरमाथि (उत्तरतिर) रहेका दुईवटा पोखरी (सबग्लेसिएर अर्थात् हिउँभित्रको ताल)को पानी १ जेठमा खोल्सी हुँदै बाढी बस्ती पुगेको देखिन्छ ।
‘गाउँमाथि दुई हजारदेखि २१ सय वर्गमिटरका दुईवटा पोखरी (५६ मिटर लम्बाइ र २०–२० मिटर चौडाइ) रहे पनि फुटेको देखिँदैन,’ पराजुलीले भने, ‘यस्ता पोखरी बाहिरबाट हेर्दा हिउँ जमेको देखिन्छ । तर, भित्र पानी पनि हुन्छ । लगातार तापक्रम बढ्दा हिउँ पग्लिएर भित्रभित्रैबाट पानी निस्केको देखिन्छ ।’ तर, पानी निस्किएपछि अहिले पोखरीको हिउँ धसिएको छ । पोखरीमा कति पानी, हिउँ थियो र कति बग्यो भनेर थप अध्ययनबाट मात्र थाहा हुने उनले बताए ।
नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङले पनि तालको पानी जमिनमुनिबाट खोल्सी हुँदै गाउँमा पसेको बताए । ‘त्यहाँ ताल छ भन्ने अहिलेसम्म जानकारी थिएन । बाढीपछि सुरक्षाकर्मीसँगै गएका स्थानीयले ताल फेला पारेका छन्,’ वडाध्यक्ष तामाङले भने, ‘सबै पानी बगेपछि ताल अहिले सुकेको छ । पहिरो जाने खतरा कम हुँदै गएको छ ।’
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) जलवायु तथा वातावरणीय जोखिम वरिष्ठ सल्लाहकार अरुणभक्त श्रेष्ठले पनि तिलगाउँभन्दा माथि ससाना दुईवटा ताल÷पोखरी देखिए पनि फुटेको भने नेदिखएको बताए । ‘यस्ता तालमा माथि हिउँ जमेको देखिए पनि भित्र पानी हुन्छ, भित्रभित्रबाट पानी निस्केको देखिन्छ,’ उनले भने, ‘हिउँ पग्लनुको कारण तापक्रम एक्कासि बढ्नु हो ।’
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले एक्कासि तापक्रम बढ्दा हिउँ पग्लिएर बाढी गएको देखिए पनि विस्तृत अध्ययन हुने बताए । ‘यसबारे हामी विस्तृत अध्ययन गर्छाैँ,’ उनले भने ।
१८ परिवारको त्रिपालमुनि बास
बिहीबार राति ११ बजेको बाढीपछि नाम्खा गाउँपालिका ६, तिलगाउँका १८ परिवारको बास त्रिपालमुनि छ । हिउँ पग्लेर पुनः बाढी जान सक्ने खतरालाई मध्यनजर गरी १८ परिवारका ३२ जनालाई नजिकैको विद्यालय र त्रिपालमा राखिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । ‘बाढीले दुई घर र गोठमा क्षति भएको छ । बाँकी घरमा पनि क्षति पुग्न सक्ने भएकाले सुरक्षित स्थानमा सारिएको छ,’ उनले भने ।
लेदोसहितको बाढीले तिल्चुङ खोलाका पाँचवटा काठेपुलसमेत बगाएको छ । भौगोलिक विकटताका कारण सुरक्षाकर्मी र पालिकाको टोली ढिलो पुगेको बताउँदै उनले विस्थापितहरू अहिले सुरक्षित रहेको बताए ।
‘विस्थापितलाई खान, बस्न र लगाउने समस्या नभएको खबर प्राप्त भएको छ । पालिकाको टोली पुगेर विस्थापितहरूको अवस्था बुझ्ने र आवश्यक बन्दोबस्त गर्ने काम भएको छ,’ प्रजिअ पाण्डेयले भने । तिलगाउँमा ५० घरधुरी रहेकोमा १८ घरधुरी बसोबास गर्दै आएको उनले बताए ।