१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
पवन बराइली काठमाडाैं
Invalid date format ११:२६:oo
Read Time : > 6 मिनेट
फिचर प्रिन्ट संस्करण

दरबारभित्रको सांगीतिक माहोल

राजा महेन्द्र विदेश जाँदा कलाकार पनि सँगै लैजान्थे

Read Time : > 6 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२६:oo
  • लोकगीत उठाउन राजा वीरेन्द्रको निकै योगदान छ । वीरेन्द्र रहँदासम्म राजदरबारमा लोकगीत नै बढी चल्यो । उनी कलाकारलाई इज्जत र सम्मान दिन्थे ।

०१२ सालतिरको कुरा हुनुपर्छ । त्यसवेला सिंहदरबारभित्र नाचघर थियो । म त्यहाँ भैरवबहादुर थापाहरूसँग नाच्थेँ । त्यसवेला राजा त्रिभुवन शाहलाई नेपाली नृत्य हेर्न मन लागेछ । राजालाई नृत्य देखाउन दरबारमा बोलाइयो । त्यसवेला म भर्खर १२ वर्षजतिको थिएँ । मलाई त्यसवेला स्टेज, पर्दा, माइक भनेको के हो ? थाहा थिएन । आर्मीले स्टेज बनाएको रहेछ । हामी नृत्य देखाउन तयार भयौँ । बेलुकाको ९–१० बजे राजा आइपुगे । उनी आफ्नो सोफामा बसे । हामीले आफ्नो नृत्य देखायौँ । नृत्यपछि त्रिभुवन (राजा)सँग सामूहिक फोटो खिच्यौँ । त्रिभुवन हाम्रो नाचगानमा रमाएका थिए । त्यसवेलाका राजा त्रिभुवन पनि कलामा रुचि राख्थे ।

मैले नृत्य मात्रै गर्दिनथेँ, गीत पनि गाउँथेँ । सानैदेखि गीत गाउन मन लाग्थ्यो । ०१७–१८ साल तिरको कुरा हो– ‘कुखुरा काटी भोग दिउँला कालिचोके माई...’ भन्ने गीत गाएँ । यो गीतलाई सबैले मन पराए । त्यसलगत्तै अर्काे तामाङ गीत ‘चौतारी छाङ्ला नानी कान्छा...’ पनि गाएँ । यी दुवै गीत निकै चर्चित भए । त्यसपछि गीत मात्रै होइन, म आफैँ चर्चित भएँ । सबैले कुमार बस्नेत भनेर चिन्न थाले । 

तत्कालीन राजा महेन्द्रले समेत मेरो चर्चा सुनेका रहेछन् । महेन्द्रसँग निकटहरूले कुमार बस्नेत भन्ने केटोले राम्रो गीत गाउँछ भनेर सुनाइदिएछन् । त्यसपछि मसँग भेट्न मन गरेछन् । त्यसवेला रेडियो नेपालमा नातिकाजी, तारादेवीहरू थिए । नातिकाजीले मलाई फोन गरेर ‘तिमीसँग जरुरी काम छ, भोलि कुपन्डोल आउनू भन्नुभयो । राजाले मसँग भेट्न खोजेको कुरा गर्नुभएन । राजा महेन्द्र कुपन्डोलमा रहेका एक नातेदारको घरमा गएका रहेछन् । म त्यतिवेला कमल पोखरीमा बस्थेँ । आफूसँग सवारीसाधन पनि थिएन । कुपन्डोलसम्म पैदल हिँडेरै पुगेँ । राजा भएको घर सोध्दै गएँ । कुपन्डोलको कानदेउता थानबाट भित्रपट्टि एउटा घरमा राजा महेन्द्र रात्रिभोजमा गएन रहेछन् । त्यहीँ भेट्न बोलाइएको रहेछ । 

त्यहाँ पुगेपछि ढोकामा उभिरहेको थिए । भित्र पार्टी चलिरहेको थियो । त्यतिवेला जानेबित्तिकै भित्र छिर्न कहाँ पाइन्थ्यो र ! केही समयपछि भित्र बोलाइयो । भित्र गएर राजा (महेन्द्र)को छेवैमा बसेँ । उनले मेरो अनुहार निकै चासोका साथ नियाले । अनुहार हेर्दै भने, ‘चौतारी घ्याङ्ला... र कुखुरा काटी ...’ भन्ने गीत गाउने होइन ? मैले हो सरकार भनेँ ।

उनले तिमीले गाएको गीत खुब मन पर्‍यो, गाएर सुनाऊ भने । त्यसवेला रेडियो नेपालमा इन्द्रलाल श्रेष्ठ तबला बजाउँथे । इन्द्रलाललगायत अरू कलाकार पनि त्यहीँ गएका रहेछन् । इन्द्रलाल श्रेष्ठले तबला बजाए, मैले गीत गएँ । गीत गाइसकेपछि राजा महेन्द्रले स्याबासी दिँदै भने, ‘राम्रो गायौ कुमार, राम्रो गर्दै जानू ।’ त्यतिवेला राजाले मलाई १० रुपैयाँ दिएको भए खुट्टा ढोगेर हिँड्थेँ होला । तर, स्याबासी मात्रै दिए । हुन त राजाले गीत–संगीतमा चासो राख्नु नै त्यतिवेला ठुलो कुरा थियो । मेरो गायनलाई मन पराएर राम्रो भन्नु नै ठुलो कुरा थियो । 

भारतमा मेरो र सुभद्रा अधिकारीको नृत्यको चर्चा भयो
०१९ सालतिरको कुरा हुनुपर्छ । राजा महेन्द्रको भारतको दिल्ली भ्रमण थियो । भ्रमणमा मैले पनि जाने अवसर पाएको थिएँ । नातिकाजीलगायत अरू कलाकार पनि थिए । पुष्प नेपाली र नातिकाजीले गीत गाए । म र अभिनेत्री सुभद्रा अधिकारी नाच्यौँ । नाच्न मात्रै होइन, गाउन पनि पाएँ । मैले बख्खु लगाएर ‘च्याङ्बा त मेरो नाम छ, मन पर्छ कि पर्दैन...’ भन्ने गीत गाउँदै नाचेँ । रेडियो नेपालका तत्कालीन कलाकार विपुल गुरुङले पनि साथ दिए । यो गीत गाएपछि भारतीय सञ्चारमाध्यममा समेत समाचार आए । धेरैजसो पत्रपत्रिकामा मेरो र सुभद्रा अधिकारीको फोटो राखेर समाचार छापिएछ । भारतमा निकै चर्चा भएको थियो । महेन्द्र कलाप्रेमी थिए । कलाकारलाई निकै चासो दिन्थे । कुन गीत कुन जिल्लाबाट ल्याएको हो भनेर समेत सोध्थे । उनी देशको संस्कृतिप्रति चासो राख्थे ।

त्यसवेलाका सबै राजा कलाप्रेमी थिए । दरबारमा आधुनिक गीत गाउनेहरू नियमितजस्तो जान्थे । म लोकदोहोरी गाउने भएकाले दरबारमा अलि कम जान्थेँ । लोकदोहोरीमा ठट्टा बढी चल्थ्यो । त्यसैले दरबारमा धेरै ठट्टा गर्नु राम्रो लाग्दैनथ्यो । तर, बाहिरको कार्यक्रममा दरबारका सदस्य भेटिन्थे । त्यतिवेला भने उनीहरूले खुब चासो दिएर हेर्थे । 

लोकगीत गाउन गाह्रो पनि हुन्थ्यो । आधुनिक गीतभन्दा अलि फरक हुन्छ । तर, मेरो गायनको प्रशंसा नै गर्थे । म सञ्चय कोषको जागिरे भए पनि वर्षमा चार–पाँचवटा गीत निकाल्थेँ । 

वीरेन्द्र र ऐश्वर्यको अगाडि एउटै गीत आठ–नौपटक गाएँ
०२६ सालमा युवराज वीरेन्द्र र ऐश्वर्यको भर्खर–भर्खरै विवाह भएको थियो । जर्नेल मोहनविक्रम शाहले ज्ञानेश्वरस्थित निवासमा नवदम्पतीका लागि रात्रिभोज आयोजना गरेका थिए । मलाई मोहनविक्रमका छोराले राम्रोसँग चिन्थे । त्यसैले, मलाई रात्रिभोजमा डाकिएको थियो । बोलाएपछि नजाने कुरा पनि भएन । रात्रिभोजमा गइयो । त्यसवेला मेरो ‘लप्सीको गेडो चुसेर...’ बोलको गीत निकै चर्चित थियो । त्यो गीत नसुन्ने कमै थिए । त्यहाँ अधिकांश भिआइपीको जमघट थियो । पार्टीमा सबैजना रमाइलोमा झुम्दै गए । उपस्थित भिआइपी पाहुनाले मलाई गीत गाउन लगाए । मैले कुन गीत भनेर सोधेँ, त्यही ‘लप्सीको गेडो चुसेर...’ । बाध्यतावश गाउनु परिहल्यो । 

  • ‘लप्सीको गेडो चुसेर, ज्यामिर निबुवा साँधेर’ गीत गाएँ । युवराज वीरेन्द्र र ऐश्वर्य (दुलहा–दुलही) लाई चाँडै बच्चा पाऊ भन्ने आशयले भिआइपी पाहुनाले जिस्क्याउँदै मलाई त्यो गीत गाउन लगाएका रहेछन् । मलाई उनीहरूले बारम्बार त्यही गीत गाउन लगाए । टेप रेकर्डरजस्तै घोटिएकोघोटियै आठ–नौपटकसम्म गाएछु । सामुन्नेमा युवराज वीरेन्द्र र ऐश्वर्य गीत सुनेर लजाइसकेका थिए । दुवैको टाउको घोप्टो थियो ।

लप्सीको गेडो चुसेर..., ज्यामिर निबुवा साँदेर..., गीत गाएँ । युवराज वीरेन्द्र र ऐश्वर्य (दुलहा–दुलही) लाई चाँडै बच्चा पाऊ भन्ने आशयले भिआइपी पाहुनाले जिस्काउँदै मलाई त्यो गीत गाउन लगाएका रहेछन् । गीत पनि त्यस्तै थियो । दोहोरी गीतमा अलि ठट्टा चल्थ्यो । सीधै जिस्काउने अवस्था थिएन । तर, मलाई उनीहरूले बारम्बार त्यही गीत गाउन लगाए । टेप रेकर्डरजस्तै घोटिएकोघोटियै एउटै गीत गाइरहेँ । मैले आठ÷नौपटकसम्म गाएछु । सामुन्नेमा युवराज वीरेन्द्र र ऐश्वर्य गीत सुनेर लजाइसकेका थिए । दुवैको टाउको घोप्टो थियो । सबै पाहुनाले नाच्दै रमाइलो गरे । मचाहिँ आठ–नौपटक गाएपछि थकित भएर एउटा कुनामा पसेँ । 

०२९ सालतिर खेलकुद परिषद्मा काम गर्थेँ । त्यसवेला मसहित गणेश रसिक, हिरण्य भोजपुरे, भैरवबहादुर थापा, भीमबहादुर गुरुङलगायतले लोकगीतमा काम गर्‍यौँ । सबैभन्दा बढी दोहोरीमा मैले काम गर्नुपर्‍यो । म पहिलेदेखि गाउँगाउँ गीत खोजेर हिड्थेँ । त्यसवेलाको गण्डकी र धौलागिरि अञ्चल सबै घुमिसकेको थिएँ । मैले एउटा गीत गाएको थिएँ–

यो मायालाई बाटैमा भेटियो
पानी खाने प्यासै मेटियो 
सरर यो मन दरर...

मेरो यो गीत निकै चर्चित बन्यो । रेडियो नेपालबाट टेप भरेर गाउँगाउँमा पठाइन्थ्यो । प्रतियोगिता हुँदा पनि कलाकारले यही गीत छान्थे । यो भाकाले नै नेपालमा दोहोरीको सुरुवात भएको हो । त्यसवेला दोहोरी गाउने केटी मान्छे कमै हुन्थे । अहिलेजस्तो दोहोरी गाउने केटी मान्छे हुँदैनथे ।

सुर्खेतमा ऐश्वर्यसँग दोहोरी खेल्दा...
०३१–३२ सालतिरको कुरा हो । त्यतिवेला वीरेन्द्रको राज्याभिषेक भइसकेको थियो । सुर्खेतमा नगर खेलकुदको उद्घाटन अवसरमा म पनि पुगेको थिएँ । मसहित सुर्खेतको क्याम्पमा गणेश रसिक, नवीनकिशोर राई र झलकमानको भाइ पर्ने लालबहादुर गन्धर्व पनि थिए । त्यतिवेलाको एउटा घटना निकै यादगार छ । वीरेन्द्र–ऐश्वर्य (राजा–रानी) पनि सुर्खेत पुगेका रहेछन् । शुक्रबारको दिन थियो जस्तो लाग्छ । सुर्खेतको आर्मी क्याम्पमा आउनू भन्ने खबर आयो । हामी गयौँ । सोही क्रममा राजाले भने– ल कुमार, गीत गाऊ । अनि मैले गाएँ– ‘काठमाडौंकी नेवारनी, रुम्जाटेरी गुरुङनी...।’ गीतमा राजारानी दुवै नाच्न थाले । माहोल निकै रमाइलो भयो । दिनभर गीत गाएकाले घाँटी सुकेको थियो । त्यसपछि रानी ऐश्वर्यलाई पनि गाउन मन लागेछ । रानीले फ्याट्ट एउटा गीत गाइन् । यो मायालाई बाटैमा भेटियो, पानी खाने प्यासै मेटियो... भन्ने भाकामध्येको एउटा गीत गाइन् जस्तो लाग्छ । रानीले नै गीत गाएपछि कसरी जवाफ फर्काउने ? हामी त अक्क न बक्क भयौँ । रानीलाई सीधै गीतमा फर्काउन पनि मिलेन । कसरी जवाफ फर्काउने ? हामीले लालबहादुर गन्धर्वलाई अघि सार्‍यौँ । उसलाई राजारानीलाई मान गर्नुपर्छ भन्ने थाहा थिएन । 
नाचगानको सिलसिला चल्दै जाँदा रानी ऐश्वर्यसँग लालबहादुरले दोहोरी गाए –

रेलमुनिको घुमाउने साँचो 
हजुर भनी खोजेर म आको... 

माहोल नै अर्काै भयो । राजा वीरेन्द्र पनि हाँस्न थाले । हामीचाहिँ पछि हट्यौँ । रानीसँग गीत गाएर बस्ने कुरा आएन । १०–१५ मिनेट रानीले गीत गाएकी थिइन् । उनी गाउन खोज्थिन् । कलाप्रेमी थिइन् । 

  • अमेरिका, जापान अस्ट्रेलियालगायत धेरै देशमा लोकदोहोरी पुर्‍यायौँ । कलाकारलाई बाँच्ने आधार बन्यो । राजपरिवारका सदस्य पनि कलासंस्कृतिलाई प्रवद्र्धन गर्थे । उनीहरू आफैँ पनि गाउन तम्सिन्थे, नाच्न खोज्थे ।

मैले गीत गाउँदा राजारानी त्यसरी नाच्नु आफैँमा गौरवको कुरा थियो । लोकगीत उठाउन वीरेन्द्रको निकै योगदान छ । वीरेन्द्र रहँदासम्म राजदरबारमा लोकगीत नै बढी चल्यो । उनले कलाकारलाई इज्जत र सम्मान दिन्थे । त्यसपछि दोहोरी गीत चर्चामा आयो । दोहोरी गीत संस्कृतिको पहिचान भयो । विभिन्न भाकामा दोहोरी गीत आयो । सुरुवात हामीले गरेका थियौँ । त्यसरी नेपालमा दोहोरी देश–विदेशमा चर्चित भयो । लोकदोहोरी, अमेरिका, जापान अस्ट्रेलियालगायत धेरै देश पुर्‍यायौँ । कलाकारलाई बाँच्ने आधार बन्यो । राजपरिवारका सदस्य पनि कलासंस्कृतिलाई प्रवद्र्धन गर्थे । उनीहरू आफैँ पनि गाउन तम्सिन्थे । गाउन खोज्थे, नाच्न खोज्थे । 

महेन्द्रको परिवारलाई सिस्नो र ढिँडो खुवाएँ
तत्कालीन राजपरिवारले कलाकारको धेरै सम्मान गर्थे । कलाकारलाई बोलाएर दरबारमा विभिन्न कार्यक्रम भइरहन्थे । ती कार्यक्रममा राजपरिवारका सदस्य सहभागी मात्रै हुँदैनथे, कलाकारसँगै प्रस्तुति (नाच गान) पनि गर्थे । 

अहिले पूर्वराजपरिवारको मान्छेले फिल्म खेल्न र गीत गाउन नहुने भन्दै टिप्पणी गरेको सुन्छु । यो त अबुझहरूको कुरा हो । देश त सबैको हो नि । कलासंस्कृति कसैको पेवा हो र ? पारस शाहको छोराले (हृदयेन्द्र शाह) फिल्म खेल्न हुँदैन भन्ने टिप्पणी सामाजिक सञ्जालमा गरेको देखिन्छ । उसले फिल्म खेल्न किन नहुने ? कलाकारिता सबैले गर्न पाउनुपर्छ । उनीहरू आए भने झन् नेपाली कला–संस्कृति फस्टाउँछ । 

०२२ सालतिरको एउटा प्रसंग यहाँ उपयुक्त होला जस्तो लाग्यो । त्यतिवेला म सिन्धुपाल्चोकको कोदारी पुगेको थिएँ । तत्कालीन राजा महेन्द्रको परिवार पनि तातोपानीमा नुहाउन गएको रहेछ । बाटोमा शेर्पेनी दिदीहरूले सिस्नुको मुन्टा टिपेको उनीहरूले देखेका रहेछन् । पछि तातोपानीमा उनीहरूसँग मेरो भेट भयो । यही क्रममा उनीहरूले सोधेका थिए– सिस्नुको टुप्पो किन चुँडेको ।

मैले भनेँ– तरकारी खानलाई होला, सरकार ।

त्यसपछि उनीहरूले कसरी खाने तरकारी, पोल्दैन ? भनेर चासो देखाए ।

मैले मिठो हुन्छ पोल्दैन भनेर जवाफ दिएपछि ‘हामी पनि चाख्छौँ’ भने । 

त्यसपछि महेन्द्रको परिवारलाई जसोतसो सिस्नु, ढिँडो र दही खुवाइयो । महेन्द्रचाहिँ हेलिकोप्टरमा फर्किसकेका थिए । बाँकी सदस्यले निकै मिठो मानेर खाए । 

जन्मँदै जानेर को आएको हुन्छ ? पारसको छोराले गीत गाउनु र फिल्म खेल्नु नराम्रो हो र ? त्यसो भए हामीचाहिँ गलत हौँ ? हिजो राजाका छोराले जन्मिएदेखि राज्य चलाएको हो र ? हेर्दै गर्दै जानेका हुन् । कलाकारिता पनि एकैचोटि कसले जानेको हुन्छ ? उनले चाहे भने कलाकारितामा आउन सक्छन् । उनले सिनेमा खेलून्, त्यो त संस्कृतिको उत्थान हुन्छन् नि । भारतीय कलाकार शाहरूख खान र सलमान खानलाई यहाँ राष्ट्रिय कलाकार बनाइसक्यौँ । त्यतातिरचाहिँ चासो छैन । पारसको छोराले फिल्म खेल्दा राम्रो हुन्छ भन्दा उफ्रिएर बसेका छौँ । 

हिजो चाँदनी शाह (ऐश्वर्य)ले पनि गीत लेखेकै थिइन् । दीपेन्द्रले पनि गीत लेख्थे । पारसको छोराले पनि फिल्म खेले खेलून् न, के हुन्छ त ? उनीहरू पनि त मान्छे नै हुन् । उनीहरूलाई पनि मुड आउँछ नि । दरबारमा हिजो हामीले गीत गाउँदा पूर्वराजा ज्ञानेन्द्र शाहसमेत मादल बजाउँथे । इन्द्रलाल श्रेष्ठले उनलाई मादल बजाउन सिकाएका थिए । उनीहरूलाई नाच्न गाउन आइहाल्छ नि ! ज्ञानेन्द्रले मादल बजाउँदा उनी सानो भए त ? मादल राष्ट्रिय बाजा होइन ? उनले मादल बजाउँदा के बिग्रियो ? तत्कालीन अधिराजकुमार धीरेन्द्रले पनि मादल बजाउँथे । राजपरिवारका धेरै सदस्य कलाप्रेमी थिए । राजपरिवारका सदस्यले नेपाली गीत गाउँदा र फिल्म खेल्नु भन्दा होच्याएको हुन्छ र ? उनीहरूले पनि गीत गाऊन्, नाचून् भन्दा त स्याबास पो भन्नुपर्छ । 

महेन्द्र र वीरेन्द्रको पालामा नेपाली कलासंस्कृतिलाई देशबाहिर पुर्‍याउन नेपाली कलाकारले धेरै काम गरेका थिए । उनीहरूले गीत–संगीतलाई महत्वका साथ हेर्थे । नेपाली कलासंस्कृति उत्थान गर्न लागिपर्थे । जसले हाम्रो कलायात्रामा सहयोग पुग्यो । मेरो समकालीन कलाकारले तत्कालीन राजाको स्याबासी मात्रै पाएको हो । राजाहरूबाट हामीले एक पैसा पाएको होइन । हामीले राजाहरूसँग एक पैसा मागेनौ पनि । राजाहरूले भेट्दा के छ हालखबर भनेर सोध्थे । हामी ठिकै छ भनेर उत्तर दिन्थ्यौँ ।