१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३ शनिबार
  • Saturday, 17 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ३ शनिबार २२:३२:oo
Read Time : < 1 मिनेट
समाचार

पछिल्लो २४ घण्टाको विपद्ः चारको मृत्यु, २८ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ३ शनिबार २२:३२:oo

विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा देशभर चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । प्रिमनसुनका समयमा भएको मौसम बदलीपछि आएको हावाहुरी, बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट ५० जिल्ला प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार हावाहुरीका कारण मात्रै चार जनाको मृत्यु र २१ जना घाइते भएका छन् । चट्याङबाट दुई, जनावरको आक्रमणबाट चार र लेक लागेर एकजना घाइते भएका छन् । उनका अनुसार शुक्रबारयता २४ घण्टामा ५० जिल्लामा ९४ वटा विपद्का घटना भएको छन् । 

ती घटनाहरूबाट एक करोड आठ लाखको अनुमानित आर्थिक क्षति भएको प्राधिकरणले जानकारी गराएको छ । ती घटनाबाट दुईवटा पशुचौपायसमेत मरेका छन् । प्राधिकरणबाट प्राप्त विवरणमा सबैभन्दा बढी हावाहुरीका ५९ र आगलागीका १६ वटा घटना भएका छन् । अन्यमा चट्याङ, पहिरो, बाढी, अविरल वर्षाका घटना भएका छन् । 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही स्थानहरूमा गर्मीका कारण तथा केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिजोको तुलनामा आज भने केही मौसम खुले पनि बदली भने कायम रहेको छ । 

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेका जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी २४ घण्टा केही स्थानहरूमा गर्मीका कारण तथा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । -रासस