
भारत र पाकिस्तानबिचको तनावले रोकिएको इन्डियन प्रिमियर लिग (आइपिएल) शनिबारदेखि सुरु हुँदै छ । आइपिएलको अंकतालिकाअनुसार सात टोलीले प्ले अफमा स्थान बनाउने सम्भावना अझै बाँकी छ । गुजरात टाइटन्स, रोयल्स च्यालेन्जर्स बेंग्लोर, पन्जाब किंग्स, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, दिल्ली क्यापिटल्स र लखनउ जायन्ट शीर्ष चारमा पुग्न सक्छन् । पाँचपटकको विजेता चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स भने प्ले अफ दौडबाट बाहिरिएका छन् ।
गुजरात : ११ खेल, १६ अंक, रनरेट ०.७९
प्ले अफमा पुग्न गुजरात एक जित टाढा छ । गुजरातले ११ खेलबाट १६ अंक बटुलेको छ । एक खेल जित्दा उसले १८ अंक बटुल्नेछ । यो अंकका साथ गुजरात प्ले अफमा पुग्न सक्छ । यस टोलीले दिल्ली, लखनउ तथा चेन्नईसँग खेल गुमाउँदा शीर्ष चारमा पुग्ने सबै बाटो बन्द हुनेछ । घरेलु मैदान अहमेदाबादमा गुजरातले लखनउ र चेन्नईसँग प्रतिस्पर्धा गर्नेछ । घरेलु मैदानमा गुजरात निकै बलियो छ । रनरेटसमेत राम्रो बनाएको गुजरातले मुम्बईलाई समेत पछि पार्न सक्छ ।
बेंग्लोर : ११ खेल, १६ अंक, ०.४२ रनरेट
यस सिजनमा बेंग्लोरले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको छ । यसै प्रदर्शनका आधारमा बेंग्लोरलाई पनि शीर्ष चारमा रही प्ले अफ स्थान सुरक्षित गर्न एक जित आवश्यक छ । तर, बेंग्लोरलाई गुजरात र पन्जाबले समस्यामा पार्न सक्छ । यी दुवै टोलीले आआफ्नो खेल जित्दा बेंग्लोरले राम्रो रनरेटमा विपक्षीलाई पाखा लगाउनुपर्छ । लगातार जितले बेंग्लोरको शीर्ष चार स्थान पक्का छ । बेंग्लोरले कोलकाता, हैदराबाद र लखनउसँग खेल खेल्न बाँकी छ । जसमध्ये दुईवटा खेल घरेलु मैदानमा छन् ।
पन्जाब : ११ खेल, १५ जित, ०.३७
प्ले अफ स्थान पक्का गर्न पन्जाबलाई दुई जित खाँचो छ । पन्जाब १७ अंकले प्ले अफमा पुग्न सक्दैन । उसलाई कम्तीमा तीन खेलबाट चार अंक जोड्नुपर्नेछ । गुजरात, मुम्बई, दिल्ली र बेंग्लोरले खेल गुमाउँदा पन्जाबले यसको फाइदा लिन सक्छ । पन्जाबले बाँकी रहेका खेलमा हार सामना गरे शीर्ष चारमा पुग्न दिल्लीले दुई खेल गुमाउनुपर्छ । पन्जाबले राजस्थान, दिल्ली र मुम्बईविरुद्ध खेल्न बाँकी छ । मुम्बई उत्कृष्ट फर्ममा छ । मुम्बईलाई अहिले हराउन कठिन देखिन्छ ।
मुम्बई : १२ खेल, १४ अंक, १.१५ रनरेट
पछिल्लो खेलमा गुजरातसँगको हारले पनि मुम्बईले अंकतालिकाको शीर्ष चारभित्रको समीकरण आशा जीवितै राखेको छ । मुम्बईले लगातार दुई जित निकाल्दा प्ले अफ स्थान पक्का गर्न सक्छ । यदि दुई खेल गुमाउँदा मुम्बई प्ले अफ दौडबाट बाहिरिनेछ । मुम्बईको सवैभन्दा बलियो पक्ष रनरेट हो । मुम्बईले १.१५ रनरेट बनाएको छ । मुम्बईसँग दुई खेल मात्र बाँकी छन् । दिल्ली र पन्जाबविरुद्ध मुम्बईले जित निकाल्नुपर्छ । एक हारले पनि मुम्बई समस्यामा पर्न सक्छ । दिल्लीसँग मात्र मुम्बईले घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
दिल्ली : ११ खेल, १३ अंक, ०.३६ रनरेट
सनराइजर्स हैदराबाद र राजस्थानसँगको खेल वर्षाले रद्द भयो । यसको फाइदा दिल्लीले लियो । हैदराबाद र राजस्थानले समान एक अंक बटुल्दा दिल्लीलाई त्यसको फाइदा भएको हो । अहिले दिल्लीले ११ खेलबाट १३ अंक जोडेको छ । दिल्लीले गुजरात, मुम्बई र पन्जाबसँग खेल्न बाँकी छ । दिल्लीले दुई खेल जित्दा पनि प्ले अफमा पुग्ने बाटो तयार पार्न सक्छ । तीनवटै खेल जित्दा दिल्लीको शीर्ष चार यात्रा पक्का हुनेछ । एक हारले दिल्ली समस्यामा पर्न सक्छ । पछिल्ला पाँचमध्ये एक खेलमा मात्र दिल्लीले जित निकालेको थियो ।
कोलकाता : १२ खेल, ११ अंक, ०.१९
साबिक विजेता कोलकाताले प्ले अफको आशा जीवितै बनाउन बाँकी रहेका दुई खेल जित्नुपर्छ । एक हारले पनि कोलकाता प्रतियोगिताबाट बाहिरिनेछ । कोलकाताले दुई खेल जित्दा १५ अंक जोड्नेछ । तर, कोलकाताले अहिले बटुलेको अंक पन्जाब, गुजरात र बेंग्लोरको भन्दा कम छ । कोलकाता छनोट हुन दिल्ली र मुम्बईले खेल गुमाउनुपर्नेछ । दिल्ली र मुम्बईले आफूअनुकूल नतिजा निकाल्दा कोलकाता प्ले अफ दौडबाट बाहिरिनेछ । कोलकाताले अब बेंग्लोर र हैदराबादसँग मात्र खेल्न बाँकी छ ।
लखनउ : ११ खेल, १० अंक, –०.४६
शीर्ष चारभित्र प्रवेश गर्ने टोलीमध्ये लखनउको सम्भावना कम देखिन्छ । तर, लगातार तीन जितले लखनउको सम्भावना नभएको होइन । अहिले लखनउले ११ खेलबाट १० अंक जोडेको छ । तीन जितले उसको १६ अंक हुनेछ । यसका साथै अन्य खेलको नतिजाले पनि लखनउको भाग्य निर्धारण हुनेछ । लखनउको कमजोर पक्ष नै रनरेट हो । लखनउको मात्र नकारात्मक रनरेट रहेको छ । फेरि लगातार तीन खेल गुमाउँदा पनि उसलाई समस्यामा राखेको हो ।