
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार गाजामा इजरायली आक्रमणपछि हृदय रोग र क्यान्सरको उपचार सेवा बन्द भएको घोषणा गरेको छ।
सामाजिक सञ्जाल एक्समार्फत डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एधानोम गेब्रेयसले मंगलबारको आक्रमणले खान युनुसको युरोपेली अस्पताललाई गम्भीर क्षति पुर्याएको पुष्टि गर्दै हाल सेवाहरू बन्द गरेको जानकारी दिए।
टेड्रोसले खान युनुसस्थित अस्पताल बन्द हुँदा न्युरोसर्जरी, मुटु र क्यान्सर उपचार गाजाको कुनै पनि ठाउँमा उपलब्ध नभएको उल्लेख गरेका छन्। यसले अत्यावश्यक स्वास्थ्य सेवाको पनि अभाव भई स्वास्थ्य प्रणालीलाई कमजोर बनाउने भएकाले अस्पतालहरूको सुरक्षा गर्नुपर्ने कुरामा पनि जोड दिए।
‘डक्टर्स विदाउट बोर्डर्स’ले पनि यसको परिणामबारे चेतावनी दिँदै सामाजिक सञ्जाल एक्समा उक्त अस्पताल अर्बुद रोगको उपचारसमेत भएको गाजाको स्वास्थ्य प्रणालीको अन्तिम सेवा केन्द्र भएको जनाएको छ।
गाजामा बाँकी रहेका अधिकांश अस्पताल आंशिक रूपमा मात्र सञ्चालनमा रहेको तथा निरन्तर क्षमताभन्दा बढी काम गरिरहेको संगठनले जनाएको छ। उनले स्वास्थ्य सुविधाहरूमा बारम्बार भएको आक्रमणले इजरायलले गाजालाई कसरी विनाश गरिरहेको छ भन्ने कुराको अर्को प्रमाण भएको उल्लेख गरेका छन्।