१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २ शुक्रबार o९:४७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नक्कली कागजात बनाउने गिरोह पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार o९:४७:oo
  • गोरखाकी अञ्जनी बयलकोटीले दुईजना सहयोगी राखेर आठ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात किर्ते गरी प्रचलनमा ल्याएको प्रहरीको भनाइ

सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात किर्ते गरी नक्कली बनाउने गिरोहका तीनजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका– ७ फुटुङबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले नक्कली कागजात बनाउने गोरखाको भीमसेन गाउँपालिका– १ मसेलकी ४६ वर्षीया अञ्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका– ७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका– २ छ्याङढुङका २३ वर्षीया अञ्जु खत्रीलाई किर्ते कागजातसहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार पक्राउ परेकी बयलकोटीले आठ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, जग्गाधनी पुर्जा, सवारीचालक अनुमतिपत्रलगायत कागजात किर्ते गरी प्रयोग तथा प्रचलनमा ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ । उनले फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात डिजाइन गर्न दुईजना सहयोगीलाई मासिक १० देखि १५ हजार रुपैयाँसम्म तलब दिई कार्यालय सञ्चालन गरेकी पाइएको प्रहरीले जनाएको छ ।

बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइदिने गरेको अनुसन्धानबाट खुल्न आएको प्रवक्ता आचार्यले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाले विद्यार्थी भिसामा जापान जानेका लागि सहकारी संस्थाका ‘स्टेटमेन्ट’समेत बनाएर कुरिअरमार्फत पठाउने गरेका पाइएको छ । उनीहरूले विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका ‘होलोग्राम’ आवश्यकताअनुसार उपलब्ध गराउने, जापानलगयत विभिन्न देशमा कामदार भिसामा जानका लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र तथा अनुभवपत्र बनाइदिने गरेको अनुसन्धानबाट खुलेको छ ।