
दाङको तुलसीपुरमा एकमहिने नेपाली सांकेतिक भाषा तालिम सुरु भएको छ । राप्ती बहिरा संघ दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा शुक्रबारदेखि तालिम सुरु भएको हो । तुलसीपुर उपमहानगरपालिकाका विभिन्न शाखा, राप्ती प्रादेशिक अस्पताल, प्रहरी, प्रशासन, जिल्ला प्रशासन, पत्रकारलगायतका क्षेत्रबाट सांकेतिक भाषा तालिममा सहभागिता रहनेछ ।
सरकारी कार्यालयमा जाँदा होस् वा अन्य ठाउँमा जाँदा कसैले पनि सांकेतिक भाषा नबुझ्दा सेवा लिन पनि समस्या हुने गरेको भन्दै यो तालिम आयोजना गरिएको संघका अध्यक्ष अजयकुमार शर्माले बताए । ‘हामीले बोलेको कुरा न त सरकारी कार्यालयका कसैले बुझ्नुहुन्छ, न त समाजले बुझ्छ,’ उनले सांकेतिक भाषामा भने, ‘त्यसैले यो तालिम आयोजना गरिएको हो ।’ सांकेतिक भाषा नबुझ्दा न्यायमा पनि सुस्त श्रवण भएकाहरूलाई गाह्रो हुने गरेको बताए । बोल्नेहरूका कुरा नै विश्वास गर्ने र सुस्त श्रवण भएकाहरूको कुरा नबुझ्ने हुँदा पनि न्यायसमेत पाउन नसकेको उनको भनाइ छ । साथै उनले सुस्त श्रवण भएकाहरूलाई सवारीचालक अनुमति पत्र पनि दिनुपर्ने बताए । यसलाई कानुनी रूपमा व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले तुलसीपुर उपमहानगरपालिकासँग सांकेतिक भाषालाई साझेदारी भाषाका रूपमा विकास गर्ने बताए । सांकेतिक भाषा सिक्दा रोजगारको पनि अवसर हुने तथा सुस्त श्रवण भएकाहरूलाई पनि न्याय दिन सकिने बताए । तालिम हरेक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ ।
राप्ती बहिरा संघ दाङकी निर्देशक प्रतिमा शर्माले तालिमबारे जानकारी दिएकी थिइन् भने प्रमुख प्रशासकीय अधिकृत केशव पार्धेले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वसन्ती वलीले गरेकी थिइन् ।