
प्रमुख प्रतिपक्ष दल माओवादीको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान शुक्रबारबाट सुरु हुँदै छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैतडीको पाटनबाट अभियानको सुरुवात गर्दै छन् ।
प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू अभियानमा खटिनेछन् । मध्यपहाडी अभियान दुई चरणमा सम्पन्न गर्ने माओवादीको योजना छ । दुवै चरणको अभियान जेठभित्रै सक्ने तयारी छ ।
संघीय संसद्मा १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण अभियान दुई चरणमा गर्नुपरेको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए । ‘मध्यपहाडी अभियान शुक्रबारबाट सुरु हुँदै छ । दुई चरणमा अभियान सक्नेछौँ । बिचमा १५ जेठमा बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्थाका कारण केही दिन अभियान स्थगित हुन्छ । त्यसपछि फेरि सुरु हुन्छ । दोस्रो चरणको कार्यक्रम पछि तय गरिनेछ । जेठभित्रै मध्यपहाडी अभियान सक्छौँ,’ उनले भने ।
मध्यपहाडी लोकमार्गमा पर्ने प्रत्येक स्थानमा पार्टीको प्रत्येक प्रदेश समितिले एक–एक स्थानमा जनसभा आयोजना गर्नेछन् । प्रत्येक जिल्ला समन्वय समितिले एक–एक स्थानमा जनसभा आयोजना गर्नेछन् । पहिलो चरणमा अभियान १० जेठमा पोखरा पुगेर समापन हुनेछ ।
दोस्रो चरणको अभियान बजेट प्रस्तुत भइसकेपछि सुरु हुनेछ र सोलुमा पुगेर समापन हुनेछ । दोस्रो चरणको कार्यक्रम पछि तय गरिने सापकोटाले बताए । यसअघि १२ फागुनदेखि १७ वैशाखसम्म माओवादीले हुलाकी राजमार्गकेन्द्रित अभियान सञ्चालन गरेको थियो । उक्त अभियान सोचेभन्दा बढी उपलब्धिमूलक भएको माओवादी निष्कर्ष छ ।