
प्रमुख प्रतिपक्ष दल माओवादीको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानको स्वरूप परिवर्तन हुने भएको छ । समयको चापका कारण मध्यपहाडी अभियानको स्वरूपमा केही परिवर्तन गरिएको माओवादीले जनाएको छ ।
हुलाकी मार्गकेन्द्रित अभियान तीन महिनासम्म चले पनि मध्यपहाडी अभियान एक महिना मात्र चल्ने भएको छ । स्वरूप परिवर्तन गरिनुको मुख्य दुई कारण आगामी आर्थिक वर्षको संघीय संसद्मा प्रस्तुत हुने समय र दोस्रो वर्षा रहेको माओवादीले औँल्याएको छ । बजेट र वर्षाका कारण हुलाकी मार्गकेन्द्रित अभियानजस्तो विस्तृत हुन नसक्ने माओवादी नेताहरूले बताएका छन् ।
‘बजेट र वर्षाका कारण अभियानको स्वरूपमा केही परिवर्तन गरिएको छ,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘हामी जनतातिर फर्किसकेका छौँ । अभियानको क्रममा मात्रै नभई हामी जनताबिचमै रहनेछौँ ।’ १५ जेठमा संघीय संसद्मा बजेट प्रस्तुत हुनेछ । असार–साउनमा वर्षा हुने भएकाले अभियान छोट्याइएको माओवादीले जनाएको छ । आगामी २ जेठदेखि मध्यपहाडी अभियान बैतडीबाट सुरु हुनेछ ।