१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २३ मंगलबार o८:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विद्याको राजीनामालाई लिएर ओली र शाक्यबिच सवालजवाफ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार o८:५o:oo
  • ‘विद्या भट्टराईलाई मैले नै मन्त्री बनाएको हुँ । उहाँ आफैँ नसकेर बाहिरिनुभएको हो । मन्त्री हुने क्षमता उहाँमा रहेनछ, सांसद हुन मात्रै योग्य हुनुहुँदोरहेछ '

एमाले नेतृ विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएको दुई साता बितिसकेको छ । गत ८ वैशाखमा शिक्षक आन्दोलन चर्किएका वेला उनले पदबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामा स्वीकृत भएर रघुजी पन्त शिक्षामन्त्री बनिसक्दा पनि एमालेमा विद्याको बहिर्गमनको तरंग सेलाएको छैन । आइतबारको एमाले सचिवालय बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले भट्टराईको राजीनामाको विषय विनाएजेन्डा र प्रसंग उठाए । उनले भट्टराईले शिक्षामन्त्रीको रूपमा काम गर्न नसकेको मात्रै बताएनन्, उनको पक्षमा उभिएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यप्रति कटाक्षसमेत गरे । 

स्वास्थ्यको कारण देखाएर भट्टराईले आफैँ राजीनामा दिए पनि पार्टीकै जिम्मेवार नेताले प्रधानमन्त्रीले असहयोग गरेको रूपमा अभिव्यक्ति दिएको भन्दै ओलीले बैठकमा आपत्ति जनाए । ‘विद्या भट्टराईलाई मैले नै मन्त्री बनाएको हुँ । उहाँ आफैँ नसकेर बाहिरिनुभएको हो । मन्त्री हुने क्षमता उहाँमा रहेनछ, सांसद हुन मात्रै योग्य हुनुहुँदोरहेछ । आन्दोलनरत शिक्षकसँग वार्ता गर्नुभएकै थियो । किन राजीनामा दिनुभयाे, थाहा भएन । तर, पार्टीकै जिम्मेवार नेताले प्रधानमन्त्रीले सहयोग गरेन भनेर प्रचार गर्नुभयो,’ ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ‘त्यसरी सार्वजनिक रूपमा बोल्दा ख्याल गर्नुपर्ने हो । आन्तरिक एकता कायम गर्ने गरी अघि बढ्न आग्रह गर्छु ।’ ओलीले आफूप्रति टिप्पणी गरेपछि उपाध्यक्ष शाक्यले तत्कालै जवाफ फर्काइन्– ‘तपाईंले पनि पब्लिक फोरममा बोल्नुभएन । म पनि नबोलौँला ।’

च्यासलस्थित पार्टी कार्यालयमा आइतबार १ बजेका लागि बोलाइएको बैठक ओली दुई घण्टा ढिलो पुगेकाले ३ बजेपछि मात्रै सुरु भएको थियो । बैठकमा धारणा राख्दै जानेक्रममा अन्तिमतिर ओलीले निवर्तमान शिक्षामन्त्री भट्टराई र उपाध्यक्ष शाक्यको विषय उठाएका थिए । ‘विद्या भट्टराईको विषयलाई लिएर किन लेख्नुभयो भन्नुभयो । सार्वजनिक रूपमा बोल्नुभएन, टीकाटिप्पणी गर्नुभएन भन्ने कुरा गर्नुभयो । उहाँ विज्ञ नै हो, उहाँलाई मन्त्री बनाउनुभयो, राम्रो भयो । सातबुँदे प्रस्ताव पनि उहाँले नै तयार पार्नुभएको हो । उहाँले किन काम गर्न पाउनुभएन भन्ने मेरो कुरा हो । त्यसैको जगमा रघुजी पन्त शिक्षामन्त्री भएपछि शिक्षकसँग सहमति भयो । बैठकमा छलफल किन भएन, परामर्श किन हुँदैन ? भन्ने कुरा मेरो हो,’ शाक्यले भनिन्, ‘सचिवालय एउटा टिम हो । एकताबद्ध बनाउने हो भने हार्दिकता, आत्मीयता हुनुपर्छ । आलोचना र आत्मालोचना हुनुपर्छ । तर, अहिले पार्टीमा त्यस्तो अवस्था रहेन ।’ 

शाक्यले अध्यक्ष ओलीको अभिव्यक्तिलाई आफूले सकारात्मक रूपमा लिएको बताइन् । ‘तपाईले मन्त्री बनाउनुभयो, किन सहयोग गर्नुभएन ? हाम्रो भेट पनि भएको थिएन, एउटा नेता हतोत्साहित नहोस् भनेर लेखेकी हुँ । किन यस्तो भयो भन्ने मेरो जिज्ञासा हो । यसरी प्रस्ट छलफल भएको भए सार्वजनिक रूपमा लेख्नु पर्दैनथ्यो,’ शाक्यको भनाइ थियो । 

भट्टराईले राजीनामा दिएको भोलिपल्ट शाक्यले उनको फोटोसहित सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘शिक्षक आन्दोलन चलिराखेको वेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्‍यो ? विद्या भट्टराई सक्षम, इमानदार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ? कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन, अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैका लागि सधैँ प्रेरणा बनोस् ।’ शाक्यपछि धारणा राखेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पार्टीलाई बलियो बनाउन खुलस्त छलफल गर्नुपर्नेमा जोड दिएका थिए । समय अभाव देखाउँदै पाण्डेले बोल्दै गर्दा ओलीले बैठक स्थगित गरेका थिए । अरू नेताले आइतबार बोल्न पाएनन् ।