
गेटव एकेडेमी र डिएभी स्कुल ‘ए’ले जयकुमारनाथ शाह मेमोरियल यू–१६ टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
आइतबार तल्लो मूलपानी क्रिकेट मैदानमा गेटवेले मोक्षदा स्कुललाई १३१ रनले हरायो। माथिल्लो मैदानमा डिएभीले साबिक विजेता सैनिक आवासीय महाविद्यालयलाई ६ विकेटले निराश बनाउँदै फाइनलमा स्थान बनाएको हो।
सोमबार उपाधि भिडन्त हुने आयोजक काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले जानकारी गराए। उनका अनुसार २१ स्कुलले भाग लिएको यो प्रतियोगिताको आधारमा नेपाल क्रिकेट संघ (क्यान)ले यू–१६ टोली छनोट गर्नेछ।
यसअघि गेटवेले अपी स्कुल र मोक्षदाले नेपाल पुलिस स्कुललाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए। डिएभीले एन्जल्स हार्ट नेसनल स्कुल तथा सैनिकले ग्यालेक्सी पब्लिक स्कुललाई पराजित गरेका हुन्।
टस जितेर ब्याटिङ गरेको गेटवेले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा मोक्षदाले १२.१ ओभरमा सबै विकेट गुमाउँदा मात्र ७४ रन बनायो।
मोक्षदाका लागि कप्तान इशान शाह सुवेदीले ३३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। गेटवेका लागि साइमन पन्त, लक्ष्मण भुर्तेल र पारस विष्टले समान दुई विकेट लिए।
यसअघि गेटवेका लागि सबिर अन्सारीले ६० बलमा सात छक्का र ६ चौकाको मद्दतले अविजित ११४ रनको शतकीय इनिङ्स खेलेका थिए। त्यस्तै, अमित पटेल ६० बलमा चार चौका र एक छक्कासहित ६० रनमा अविजित रहे। तेस्रो विकेटका लागि सबिर र अमितले अविजित २०२ रनको साझेदारी गरेका थिए। मोक्षदाका लागि दुवै विकेट इशान शाह सुवेदीले लिए।
आइतबारकै अर्को खेलमा टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९३ रनको योगफल तयार पारेको थियो। प्रत्युत्तरमा डिएभीले १५.५ ओभरमा चार विकेट गुमाउँदै जित हात पार्यो। डिएभीका लागि कप्तान प्रसिद्ध जैसीले ३८ बलमा ६ चौका र एक छक्काको मद्दतले अविजित ५३ रनको योगदान गरे। यसैगरी, कमल शाहीले अविजित १७ र सत्यम बस्नेतले ११ रन बनाए।
सैनिकका लागि सफल पौडेल, समीर केसी, उत्सव नेपाल र शुभ विष्टले समान एक विकेट लिए। यसअघि ब्याटिङ गरेको सैनिकको लागि गौरव कार्कीले ३०, रिशु साहले १४ तथा सुशान्त नेपाल र कप्तान राजदीप आचार्यले समान ११ रन बनाए। डिएभीका लागि कमाल शाहीले तीन तथा प्रसंग पौडेल, केशव अग्रवाल र प्रसिद्ध जैसीले समान एक विकेट लिए।