
विपन्न दलित परिवारका गर्भवती तथा सुत्केरीलाई सिराहाको लहान नगरपालिकाले खाद्य सामग्री वितरण गरेको छ। पोषणयुक्त खानेकुराले गर्भवती महिलाको स्वास्थ्य र गर्भमा रहेका शिशुलाई कुपोषण हुनबाट जोगाउने उद्देश्यले मजदुरी गरेर हातमुख जोड्ने विपन्न दलित परिवारका महिलाले दुई छाक राम्रो खानसमेत नपाइरहेको अवस्थामा त्यस्ता परिवारका गर्भवती तथा सुत्केरीलाई नगरपालिकाले खाद्य सामग्री वितरण गरेको हो।
हरेक महिनाको २२ गते नगर क्षेत्रका विभिन्न वडामा ‘सुत्केरी तथा गर्भवती महिलाका लागि पोषण प्याकेज’अन्तर्गत स्थानीय वडा कार्यालय र स्वास्थ्य चौकीको रेकर्डको आधारमा नगरपालिकाले सुत्केरी तथा गर्भवतीहरूलाई चामल, दाल, नुन, चना, तेल, मटरलगायतका खाद्य सामग्री वितरण गरेको हो । लहान– २२ सिसवनीस्थित स्वास्थ्य चौकीमा नगर प्रमुख महेशप्रसाद चौधरीले सोमबार स्वास्थ्य जाँच गराउन आएका ४७ जना गर्भवतीसहित तीनजना सुत्केरी परिवारका तीन गरी ५० जना महिलालाई खाद्य सामग्री वितरण गरे।
‘गर्भावस्थामा पोषणयुक्त खानेकुरा खानुपर्ने भए पनि मजदुरीमा आश्रित गरिब, विपन्न परिवारका लागि दुई छाक खान पनि पाउँदैनन्,’ खाद्य सामग्री बाँड्दै उनले भने, ‘कम्तीमा नगरले दिएको खाद्य सामग्रीले केही दिन चल्यो भने पनि घरमा काम गर्न सक्नेले कमाएर थप जोहो गर्न सक्छन् नि ।’ स्वास्थ्य चौकीसँग रहेको रेकर्डको आधारमा गरिब विपन्न परिवारका गर्भवती तथा सुत्केरीहरूलाई खाद्य सामग्री बाँड्दा नियमित स्वास्थ्य जाँच गराउनुपर्ने रहेछ भन्ने सन्देश पनि प्रवाह हुने भएकाले स्वास्थ्य चौकी र वडाको समन्वयमा पोषण प्याकेजअन्तर्गत खाद्य सामग्री बाँड्दै आएको उनले बताए।
लहान– २२ का वडाध्यक्ष श्यामकुमार अधिकारी, स्वास्थ्य चौकी प्रमुख विजयकुमार महतो, शाखा प्रमुख विन्देश्वर यादव, पत्रकार तथा स्थानीयको उपस्थितिमा नगर प्रमुख चौधरीले ५० जना गर्भवती तथा सुत्केरीलाई १० किलो चामल, एक–एक किलो दाल, चना, मटर, नुन र एक लिटरका दरले खानेतेल वितरण गरे।
खाद्य सामग्री पाएपछि खुसी सिसवनी गाउँकी गर्भवती करिब २७ वर्षीय अनिता सदायले भनिन्, ‘नगरले दिएको खाद्य सामग्रीले एक हप्ताजति त समस्या हुँदैन, त्यतिन्जेल श्रीमानले पनि कमाउँछन् ।’ खाद्य सामग्री पाएकी अर्की गर्भवती करिब २५ वर्षीया सञ्जला रामले भनिन्, ‘गरिब विपन्नका लागि विशेष समयमा स्थानीय सरकारले गरेको सहयोगले कम्तीमा दुई छाक खान त पाउने भयौँ ।’