१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २३ मंगलबार १७:३o:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

रेशम चौधरी गिरफ्तारी प्रकरण : मन्त्रीलाई सोधेर सभामुखको रुलिङ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार १७:३o:oo

सभामुख देवराज घिमिरेले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारी प्रकरणमा सरकारको अनुकूलतामा रुलिङ गरेका छन्। नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदले चौधरीलाई कानुनी प्रक्रियाविना गिरफ्तार गरेको विषयमा सरकारले जवाफ दिनुपर्ने भनेर रुलिङ मागेका थिए। सभामुख घिमिरेले समग्रमा उठेका विषयमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराए पनि विशेष रुलिङ गरेनन्। उल्टै घिमिरेले सरकारले उचित समयमा जवाफ दिने भनेर टारे। नागरिक उन्मुक्ति र जनमतका सांसद नमानेपछि कर्मचारीमार्फत गृहमन्त्रीलाई सोध्न लगाए। मन्त्री रमेश लेखकले २५ गते विहीबारको बैठकमा जवाफ दिने आश्वासन दिएपछि त्यही सूचना सभामुख घिमिरेले सभामा सुनाए।

संसदीय अभ्यासमा सभामुखले रुलिङ गरेपछि मन्त्री जवाफ दिन आउनुपर्ने प्रचलन भए पनि यसपटक मन्त्रीलाई सोधेर सभामुखले समय तय गरेका हुन्। जसको विरोध भइरहेको छ। ‘संसदले सरकार र मन्त्रीलाई जवाफदेही बनाउने हो वा सरकारको अनुकूलतामा हुने हो ?’ संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्ष नारायण काफ्लेले फेसबुकमा प्रश्न गरेका छन्, ‘सभामुखले मन्त्रीसँग सोधेर जवाफको मिति तय गर्ने हो वा सभाको रुलिङअनुसार जवाफ दिनुपर्ने हो ? अरुबेला सदनको रुलिङमा मन्त्रीको जवाफ हुन्थ्यो। अब मन्त्रीसँग सोधेर मिति तय हुन लाग्यो।

नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदले रुलिङ माग्दा सभामुख घिमिरेले झण्डै १३ मिनेट सवाल जवाफ गरेका थिए। समग्रतामा सरकारको ध्यानाकर्षण गराए पनि रेशम चौधरी गिरफ्तारी प्रकरणमा जवाफ दिने निर्देशन दिन मानेनन्।

यस्तो छ सभामुख–सांसद सवाल जवाफ :
सभामुख :
 सरकारको उपस्थितिमा मात्रै सदन चलाउने गरेका छौं। र अहिले पनि सरकारको उपस्थिति यहाँ रहेको छ। यो कुराहरुप्रति ध्यानाकर्षण गराउँदै म माननीय सदस्यहरुले आकस्मिक र शून्य समयमा उठाउनुभएका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउँछु। सदस्यहरु आसन ग्रहण गर्नुस्।

जनमत उपाध्यक्ष अब्दुल खानः रुलिङ चाहियो।

सभामुख : रुलिङ यही हो। माननीय सदस्यहरुले आकस्मिक तथा शून्य समयमा उठाउनुभएका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउँछु। मैले रुलिङ गरिसकें। रुलिङ भनेको यही हो माननीयज्यू। अझ मैले के भने नेपाल सरकारको प्रतिनिधि यो संसदमा रहेर मात्रै हामीले संसद चलाउनुपर्छ। सरकारको प्रतिनिधि हुनुहुन्छ। उहाँहरुले सुनिरहनुभएको छ। त्यसैले माननीय सदस्यहरुले त्यहाँबाट बोलेको कुराको कदर गर्दै फेरि मैले यो रुलिङ गरेको कुराहरु राख्न चाहन्छु। त्यसैले आसनग्रहण गर्नुस्। निर्धारित कार्यसूचीमा अगाडि बढौं। सरकारले सुन्नुपर्छ। समयमा ध्यान दिनुपर्छ। धन्यवाद।

(खान रुलिङ माग गरिरहन्छन्।)

सभामुखः आसन ग्रहण गर्नुस्। मैले ध्यानाकर्षण भएको जानकारी गराएँ। मैले सरकारको ध्यानाकर्षण गराइसकेको छु। 

(सांसदहरु रुलिङ मागिरहन्छन्।)

सभामुखः मैले सरकारको ध्यानाकर्षण गराएको कुराहरु फेरि तेस्रोपल्ट राख्न चाहान्छु। यहाँहरुले उठाएको प्रश्नको जवाफ दिनको लागि मैले सरकारको ध्यानाकर्षण गराएको छु।

सांसदहरु : विशेषरुपमा रुलिङ चाहिन्छ।
सभामुखः यहाँले विशेष केलाई भन्नुहुन्छ, केभन्दा विशेष हुन्छ, कसले भनेकोलाई गर्नुपर्छ? यी कुराहरु होइन। मैले ध्यानाकर्षण गराइसकेको छु। फेरि जानकारी गराउन चाहन्छु। आसन ग्रहण गरौं।

(सांसदहरु मान्दैनन्।)

सभामुखः ध्यानाकर्षणमा यो विषय परेन भनेर ठान्नुहुँदैन। यो विषयलगायतमा ध्यानाकर्षण गराइसकेको छु। त्यसैले आसनग्रहण गरेर सहयोग गर्नुस्।

(सांसदहरु रुलिङ माग गरिरहन्छन्।)

सभामुखः आजको बैठकमा उठेका विषयमा सरकारको ध्यानाकर्षण हुनेगरी रुलिङ गरिसकेको कुरा यहाँहरुले बुझ्नुभएकै छ। सरकारले उपयुक्त समयमा यसको जवाफ दिएर संसदलाई उचित ढंगबाट सञ्चालन गर्न ध्यान दिनुपर्छ भन्ने कुराहरु सरकारको प्रतिनिधिले बुझिरहनुभएको कुराहरु मैले महसुस गरेको छु। फेरि पनि सरकारले उपयुक्त समयमा यसको जवाफ दिनुपर्छ। यसको निम्ति सभा सञ्चालनमा आसन ग्रहण गरेर सहयोग गर्नुस्।

(सांसदहरु मान्दैनन्।)

सभामुखः नीति कार्यक्रम छलफल निर्धारित समयमा सक्नेगरी बैठक सञ्चालन गरिरहेका छौं। माननीयको कुरा सरकारले सुनेको छ, जवाफदेही हुनुपर्छ भन्ने ठान्दछु। फेरि सरकारलाई रुलिङ गरिसकेको छु। अब सरकारको जवाफ सभामुखले दिने होइन र दिनुहुँदैन। दिन सम्भव पनि छैन। त्यसकारण सरकारले उचित समय भन्ने कुराको स्पष्टीकरण सभामुखले उचित समय कुन दिन हो, कहिले हो, त्यो सभामुखको जवाफदेहिताको कुरा होइन। त्यसैले निर्धारित कार्यक्रम अगाडि बढाउनु हाम्रो दायित्व भएकाले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आसनग्रहण गरौं, कार्यक्रमलाई अगाडि बढाऔँ। सरकारसँग यो कुरा पुगेर सरकारले यसको बारेमा के भन्ने भन्ने कुरा सरकारको भएकाले फेरि पनि माननीय सदस्यलाई आसनग्रहण गरेर सभा सञ्चालनका लागि सहयोग गर्नुस्।

(सांसदहरु मान्दैनन्। विशेष रुलिङ माग गरिरहन्छन्।)

सभामुख : (कर्मचारीलाई सोध्छन्–आधिकारिक हो ?) माननीय सदस्यहरु पर्सी २५ गतेका दिन गृहमन्त्रीले उपस्थित भएर जवाफ दिन्छु भनेर मौखिक खबर आएको छ। त्यसैले माननीय सदस्यहरु आसन ग्रहण गर्नुस्। त्यो सरकारको आश्वासनलाई हामीले विश्वास गरेर कार्यक्रमलाई अगाडि बढाउन आसन ग्रहण गर्न अनुरोध गर्दछु।

गृहमन्त्रीले जवाफ दिने खबर आएपछि सांसदहरु बस्छन्। संसद नियमित कारवाहीमा अघि बढ्छ।