
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले वर्तमान सरकारले बिचौलिया पैदा गरिरहेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले कुरा मात्रै गर्ने सरकारले आफ्नो आसेपासेको मात्रै काम गर्ने गरेको बताए।
‘सरकारले कहिले मदन भण्डारी राजमार्गको कुरा गर्छ, कहिले मध्यपहाडी राजमार्गको कुरा गर्छ। कुरा त गर्छ– काम के गर्छ ? काम त आफ्नो आसेपासेको गर्छ । सरकारले एउटा काम कार्यान्वयन गरेको छ भने कम्तीमा २० ओटा बिचौलिया पैदा गरेको छ,’ उनले भने, ‘सरकारको प्रोडक्टिभिटी छ बिचौलिया पैदा गर्नेमा, दलालतन्त्र पैदा गर्नेमा।’
सुशासनका लागि प्रधानमन्त्री बनाइने उल्लेख गर्दै सांसद सिंहले प्रधानमन्त्रीकै अध्यक्षतामा सुशासन आयोग गठनको समेत आलोचना गरे। राजाको पालामा दर्जनौँ पदवी थाप्ने प्रचलन रहेको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्री छँदै छ, फेरि सुशासन आयोगको अध्यक्ष किन थप्नुपर्याे ? प्रधानमन्त्रीको नियुक्ति नै देशको सुशासनको लागि हुन्छ । देश विकास, र समृद्धिको लागि हुन्छ।’