
सांसदहरूले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष ०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले त्यसका सकारात्मक तथा नकारात्मक पक्षमाथि टिप्पणी गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् ।
सांसद नारायणदत्त भट्टले नीति तथा कार्यक्रले सबै पक्षलाई समेटेकाले आशावादी रहेको प्रतिक्रिया दिए । सांसद राजेन्द्रलक्ष्मी गैरेले नीति तथा कार्यक्रमले स्वच्छ र गुणस्तरीय खानेपानी सुनिश्चित गर्न लिएको नीति राम्रो रहेको भन्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।
सांसद रुक्मिणी कोइरालाले महिलाविरुद्ध हुने हिंसालगायतका नीति र जलवायु परिवर्तनबारे जनताले भोग्नुपरेका समस्याबारे अन्तर्राष्ट्रियस्तरको ध्यानाकर्षण गर्ने नीति राम्रो रहेको बताइन्। सांसद झक्कुप्रसाद सुवेदीले नीति तथा कार्यक्रमले नेपाली जनताको सपना पूरा गर्न नसक्ने र समाजवादउन्मुख आर्थिक सामाजिक रूपान्तरणको कुरा समावेश नभएको बताए।
सांसद नारायणदत्त मिश्रले आर्थिक गतिशीलता, भ्रष्टाचार नियन्त्रण गर्न नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए। सरकारले तोकेको न्यूनतम मूल्य किसानले पाउन नसकेको भन्दै उनले किसानले उचित मूल्य पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
सांसद राधेश्याम पासवानले नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, पर्यटन, खानेपानी, युवासम्बन्धी राम्रा नीति आए पनि कार्यान्वयनमा प्रभावकारिता आवश्यकता रहेको बताए। सांसद विष्णुदेवी पुडासैनीले उद्यमशीला, रोजगारी, कृषि उत्पादन वृद्धि, शिक्षाको गुणस्तर सुधारजस्ता नीति राम्रा रहेका र नीतिले तिनै तहका साझा कार्यक्रमका बारेमा उल्लेख गर्नु राम्रो पक्ष भएको बताइन्।
यस्तै, सांसदहरू रेणु चन्द, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र तुलसाकुमारी दाहालले छलफलमा भाग लिएका थिए।
नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेकाले अर्को बैठक मंगलबार दिउँसो १२ः १५ बजे बस्ने सभाध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए। रासस